सरकारले बर्सेनी गाउँहरूको लागि ठूलो बजेट खर्च गर्ने गर्छ! आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४ सय ६० गाउँपालिकाका लागि सरकाले १ खर्ब ५२ अर्ब ७१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। यो रकम गाउँको विकास, सेवा प्रवाह र समृद्धिका लागि गरिएको ठूलो सार्वजनिक लगानी हो। संघीयता कार्यान्वयनपछि गाउँपालिकाहरूले विकास निर्माणका वर्सेनी ठूलो रकम छुट्टिने गरेको छ ! जुन रकमले गाउँ संरचनाहरू निर्माण धमाधम भइरहेका छन्। गाउँ–गाउँमा सडक पुगेका छन्, स्वास्थ्य संस्थाका भवन बनेका छन्, विद्यालयहरू विस्तार भएका छन्, प्रशासनिक भवन, सभाहल, पार्क, खेलमैदान र अन्य संरचनाहरू निर्माण भएका छन्।
हेर्दा लाग्छ, गाउँहरू विकासको नयाँ चरणमा प्रवेश गरिरहेका छन्। तर यथार्थ भने अर्कै छ। गाउँमा संरचना बढिरहेका छन्, तर मानिस घटिरहेका छन्। भवन थपिँदै गएका छन्, तर प्रयोगकर्ता कम हुँदै गएका छन्। राज्यको लगानी बढिरहेको छ, तर गाउँको अर्थतन्त्र खुम्चिँदै गएको छ।त्यसैले आज सबैभन्दा महत्वपूर्ण प्रश्न बजेट कति आयो भन्ने होइन, त्यो बजेटले गाउँको जीवन र अर्थतन्त्रलाई कति बदल्यो भन्ने हो।

विकासको केन्द्रमा संरचना
अधिकांश गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम अध्ययन गर्दा भौतिक पूर्वाधार निर्माण नै प्रमुख प्राथमिकतामा परेको देखिन्छ। सडक, पुल, भवन, गेट, तटबन्ध, पार्क, मन्दिर, सभाहल र अन्य संरचनामा ठूलो रकम खर्च भइरहेको छ।
निश्चित रूपमा यी संरचना आवश्यक छन्। तर विकासको लक्ष्य संरचना निर्माण मात्रै होइन। संरचनाले अर्थतन्त्र निर्माण गर्न सकेन भने त्यो लगानीको दीर्घकालीन प्रतिफल सीमित हुन्छ। आज धेरै गाउँपालिकामा करोडौँ रुपैयाँ खर्चेर निर्माण गरिएका प्रशासनिक भवन छन्। सुविधा सम्पन्न स्वास्थ्य संस्थाका भवन छन्। आकर्षक विद्यालय भवनहरू छन्। तर ती भवनहरू वरिपरि आर्थिक गतिविधि कमजोर छ। युवाहरू गाउँमा छैनन्। उत्पादन घटिरहेको छ। व्यापार व्यवसाय खुम्चिँदै गएको छ।


मान्छेजति शहरमा
२०७८ सालको राष्ट्रिय जनगणनाअनुसार नेपालको कुल जनसंख्यामध्ये करिब ६६ प्रतिशत नागरिक नगर क्षेत्रमा बसोबास गर्छन्, भने केवल ३४ प्रतिशत हाराहारी जनसंख्या गाउँपालिकामा बस्छ। एक दशकअघि ग्रामीण क्षेत्रमा बस्ने जनसंख्या धेरै थियो। तर अहिले गाउँबाट सहर र विदेशतर्फको पलायन तीव्र भएको छ। शिक्षा, स्वास्थ्य, रोजगारी, व्यवसाय र अवसरको खोजीमा गाउँका युवाहरू बाहिर गइरहेका छन्। फलस्वरूप गाउँमा वृद्धवृद्धा, महिला र बालबालिकाको अनुपात बढ्दै गएको छ।

कतिपय बस्तीमा घरहरू वर्षौँदेखि बन्द छन्। कतिपय गाउँमा नयाँ घर बन्न छाडेका छन्। सामुदायिक गतिविधिहरू कमजोर बन्दै गएका छन्। गाउँमा सरकार पुगेको छ, तर मानिस हराउँदै गएका छन्।
भव्य स्वास्थ्य चौकी छन्, सेवाग्राही छैनन्
पछिल्ला वर्षहरूमा स्थानीय तहहरूले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेका छन्। धेरै गाउँपालिकामा आधुनिक डिजाइनका स्वास्थ्य चौकी भवन निर्माण भएका छन्। कतिपय स्थानमा आधारभूत अस्पतालसमेत बनेका छन्।
तर धेरै ठाउँमा समस्या भवनको होइन, सेवाग्राही र जनशक्तिको छ। कतिपय स्वास्थ्य संस्थामा बिरामीको संख्या न्यून छ। चिकित्सक टिकाउन कठिन भइरहेको छ। विशेषज्ञ सेवा उपलब्ध छैन। भवनहरू चम्किला छन् तर सेवा सीमित छ।
गाउँमा बस्ने जनसंख्या नै घट्दै गएपछि स्वास्थ्य संस्थाको उपयोग पनि घटिरहेको छ। प्रश्न उठ्छ-यदि सेवा लिन आउने मानिस नै छैनन् भने करोडौँ खर्चेर बनाइएका भवनको दीर्घकालीन औचित्य के हुन्छ ?

विद्यार्थी नभएका विद्यालय भवन
शिक्षा क्षेत्रमा पनि उस्तै अवस्था देखिन्छ। गाउँका धेरै विद्यालयहरूमा नयाँ भवन निर्माण भएका छन्। कम्पाउन्ड वाल, पुस्तकालय, कम्प्युटर कक्ष र अन्य संरचना थपिएका छन्। तर विद्यार्थी संख्या निरन्तर घटिरहेको छ।
बसाइँसराइ, निजी विद्यालयप्रतिको आकर्षण र घट्दो जन्मदरका कारण धेरै सामुदायिक विद्यालयहरू विद्यार्थी अभावसँग जुधिरहेका छन्। कतिपय विद्यालयमा कक्षाकोठा खाली छन्। कतिपय विद्यालयमा शिक्षकको संख्या विद्यार्थीभन्दा धेरै हुने अवस्था समेत देखिएको छ।
भवन विस्तार भइरहेको छ, तर विद्यालयको जीवन्तता घटिरहेको छ। यदि विद्यार्थी नै छैनन् भने भवनले मात्रै शिक्षा क्षेत्रको सफलता प्रमाणित गर्न सक्दैन।
बाँझिँदै खेतीयोग्य जमिन
गाउँको अर्थतन्त्रको मेरुदण्ड कृषि हो। तर अहिले सबैभन्दा ठूलो संकट यही क्षेत्रमा देखिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा करिब ४१ लाख २१ हजार हेक्टर खेतीयोग्य जमिन रहेको छ। तर त्यसमध्ये १० लाख ३० हजार हेक्टरभन्दा बढी जमिन बाँझो रहेको छ।
यो सामान्य तथ्यांक होइन। यो ग्रामीण अर्थतन्त्रको कमजोर अवस्थाको प्रत्यक्ष प्रमाण हो। गाउँमा खेती गर्ने युवा छैनन्। श्रमशक्ति विदेशमा छ। जंगली जनावरको आतंक छ। उत्पादन लागत बढेको छ। बजारको सुनिश्चितता छैन। फलस्वरूप हजारौँ रोपनी खेतबारी प्रयोगविहीन बनेका छन्।
एकातिर उर्बर जमिन बाँझिँदै गएको छ भने अर्कोतर्फ नेपालमा खाद्यान्न तथा कृषिजन्य वस्तुको आयात निरन्तर बढिरहेको छ। यसले स्पष्ट देखाउँछ कि ग्रामीण अर्थतन्त्र उत्पादनबाट उपभोगतर्फ मात्र सीमित बन्दै गएको छ।


चाहिएको भवन कि आम्दानी ?
गाउँका युवाहरू गाउँ छोड्नुको कारण प्रशासनिक भवनको अभाव होइन। स्वास्थ्य चौकी नभएको कारण पनि होइन। विद्यालय भवन नभएको कारण पनि होइन। मुख्य समस्या आम्दानीको अभाव हो।
गाउँमा सम्मानजनक रोजगारी छैन। कृषि आकर्षक बन्न सकेको छैन। स्थानीय उद्योगहरू न्यून छन्। उद्यमशीलताको वातावरण कमजोर छ। जब गाउँमा आम्दानीको स्रोत हुँदैन, मानिसहरू विकल्प खोज्छन्। उनीहरू सहर जान्छन्, विदेश जान्छन्। र जब मानिसहरू नै गाउँबाट बाहिरिन्छन्, गाउँको अर्थतन्त्र स्वतः कमजोर बन्छ।


अब विशेष प्याकेज आवश्यक
आजको अवस्थामा गाउँपालिकाहरूले केवल संरचना निर्माणलाई विकासको मापन मानिरहनु पर्याप्त छैन। गाउँको अस्तित्व जोगाउने हो भने अब विशेष "गाउँ अर्थतन्त्र पुनर्जीवन प्याकेज" आवश्यक छ।
स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले संयुक्त रूपमा उत्पादन र रोजगारी केन्द्रित विशेष कार्यक्रम ल्याउनुपर्ने देखिन्छ। कृषि आधुनिकीकरण, कृषि प्रशोधन उद्योग, कोल्ड स्टोर, दुग्ध उत्पादन, फलफूल प्रशोधन, जडीबुटी उद्योग, ग्रामीण पर्यटन, साना तथा मझौला उद्योग, सीप विकास र युवा उद्यमशीलतालाई केन्द्रमा राखेर लगानी गर्नुपर्छ। गाउँपालिकाहरूलाई केवल संरचना बनाउने निकाय होइन, स्थानीय अर्थतन्त्र निर्माण गर्ने संस्थाका रूपमा रूपान्तरण गर्न आवश्यक छ।

मान्छे नभएका भवनको के काम ?
आगामी आर्थिक वर्षमा गाउँपालिकाहरूले प्राप्त गर्ने १ खर्ब ५२ अर्ब ७१ करोड रुपैयाँ गाउँको भविष्य बदल्ने अवसर हो। तर यदि यो बजेटको अधिकांश हिस्सा फेरि भवन, गेट, पार्क, सडक र अन्य संरचनामै सीमित रह्यो भने गाउँको वास्तविक समस्या समाधान हुने छैन। किनकि आज गाउँको संकट संरचनाको अभाव होइन, मानिसको अभाव हो। उत्पादनको अभाव हो। रोजगारीको अभाव हो। भव्य स्वास्थ्य चौकी भएर मात्र पुग्दैन, त्यहाँ सेवा लिन मानिस पनि चाहिन्छ। आधुनिक विद्यालय भवन भएर मात्र पुग्दैन, त्यहाँ विद्यार्थी पनि चाहिन्छ। आकर्षक गाउँपालिका भवन भएर मात्र पुग्दैन, त्यो गाउँमा जीवित अर्थतन्त्र पनि चाहिन्छ।
यदि गाउँको अर्थतन्त्र पुनर्जीवित गर्न विशेष प्याकेज ल्याइएन, कृषि र उद्यमशीलतालाई प्राथमिकता दिइएन, युवालाई गाउँमै अवसर सिर्जना गरिएन भने आज निर्माण भइरहेका धेरै संरचनाहरू भोलि उपयोगविहीन स्मारकमा परिणत हुन सक्छन्। भवनले राज्यको उपस्थिति देखाउँछ, तर अर्थतन्त्रले मात्र गाउँको भविष्य सुनिश्चित गर्छ। त्यसैले अब विकासको केन्द्र संरचना होइन, गाउँको अर्थतन्त्र हुनुपर्छ।


