Logo

शुक्रबार, मंसिर ११ २०८३

शुक्रबार, मंसिर ११ २०८३

'नेपालीहरू माग्ने अवस्थामा पुगेका छैनन्...'

'नेपालीहरू माग्ने अवस्थामा पुगेका छैनन्...'

बुधबार, वैशाख १६ २०८३
बुधबार, वैशाख १६ २०८३
  • काठमाडौं। सिन्धुलीमा जन्मिएर हाल काठमाडौंमा भ्रमण गर्दै आएका नारायण बराल नेपालको बदलिँदो सामाजिक र आर्थिक अवस्थालाई नजिकबाट नियाल्ने एक अध्ययनशील व्यक्तित्व हुन्। उनले 'बिएल' कानुनमा स्नातक सम्मको उच्च शिक्षा हासिल गरेका छन्, तर उनको परिचय कुनै सरकारी ओहदा वा कानुनी व्यवसायसँग होइन, बरु माटो र खेतीपातीसँग जोडिएको छ।

    images

    धेरै पढेका युवाहरू डिग्रीको प्रमाणपत्र सिरानीमा राखेर वैदेशिक रोजगारीको बाटो रोज्छन् तर बराल भने स्वदेशमै कृषि पेशामा आबद्ध छन्। उनी भन्छन्, ‘खेतीपातीमा जस्तो आनन्द अन्त पाइँदैन। खेतीपातीमा आफूलाई जतिबेला मन लाग्छ त्यतिबेला काम गरिन्छ। तर अरुको काम गर्दा उनीहरूको अन्डरमा चल्नुपर्छ, त्यसैले त्यस्तो काम भन्दा आफ्नै खेतीपाती नै मलाई प्यारो लाग्छ।’

    बरालसँग नेपालको गौरवशाली विगत र वर्तमानको विडम्बनापूर्ण अवस्थाको गहिरो विश्लेषण छ। नेपालले कुनै बेला विदेशीलाई अन्न दिएर पालेको इतिहास सुनाउँदै उनी भन्छन्, ‘अहिले हामीले विदेशबाट सामान आयात गरेर जीवन चलाइरहेका छौ तर कुनैबेला यस्तो पनि थियो जहाँ हामीले विदेशीलाई पालेका थियौ। विदेशी देशहरू हामीभन्दा निकै गरिब थिए। उनीहरूलाई हामीले अन्न दिएर पालेका थियौँ। तर अहिलेको माहोलमा उनीहरूले हामीलाई पालिरहेका छन्, यो कुरा निकै विडम्बनापूर्ण छ।’

    अहिलेको पुस्तामा देखिएको विदेश मोहप्रति उनी चिन्तित छन्। ‘युवाहरू खाडीमा सड्न तयार छन्, तर आफ्नो स्वदेशमा मेहनत गर्न तयार छैनन्। यदि मेहनत गर्ने हो भने हामीले आफ्नै देशमा राम्रो आम्दानी गरेर जीवन चलाउन सक्छौ,’ उनले थपे, ‘मेरा सन्तान ब्याचलर सकिसकेर पनि कृषि पेशामै लागेका छन्।’

    कृषिमा आधुनिकीकारण गर्न चाहने किसानका लागि राज्य र वित्तीय संस्थाको व्यवहार बाधक रहेको उनको अनुभव छ। बैङ्कहरूले सामान्य किसानलाई विश्वास नगरेको गुनासो गर्दै उनी भन्छन्, ‘किसानहरूले लोन लिन पनि अलिक बढी झन्झट गर्नुपर्छ। बैङ्कले सामान्य किसान परिवारलाई लोन दिनै मान्दैन। जसकारण किसानहरूले खेतीपातीमा केही नयाँ प्रविधि प्रयोग गर्छु भने पनि सक्दैनन्। सामान्य किसान परिवारलाई पनि बैंकबाट लोन लिने सहज नीति नियम ल्याउनुपर्छ।’

    युवा पलायनको मुख्य कारण सरकारले कृषि क्षेत्रमा ठोस योजना र ‘मेरुदण्ड’ ल्याउन नसक्नु हो भन्छान बराल यद्यपि, सरकारका पछिल्ला कतिपय कदमले परिवर्तन ल्याउनेमा उनी आशावादी पनि छन्। उनी भन्छन्, ‘विदेशमा बस्नुभएका युवाहरू पनि नेपालमै आउनुहोस् र सामान्य केही व्यवसाय गर्नुहोस्। जसबाट आफ्नो देश पनि सफल बाटोतर्फ लाग्छ।’

    काठमाडौंको फुटपाथमा देखिने माग्नेहरूको भिडबारे उनी भन्छन्, ‘नेपालमा जति पनि फुटपाथहरू छन् ती सबै नेपालीहरू होइनन्। नेपालीहरू माग्ने अवस्थामा पुगेका छैनन्। ती मगन्ते सबै बाहिरबाट आएका हुन्।’


    उच्च शिक्षा हासिल गरेर पनि गाउँको माटोमा सुन फलाउन सक्रिय नारायण बराल, विदेशिने युवाहरूका लागि मात्र होइन, कृषिमा भविष्य खोज्ने सबैका लागि प्रेरणाका स्रोत बनेका छन्।

     

    images
    images
    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij