काठमाडौं । भोलि बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मत दिन मानिसहरू गाउँ फर्किएपछि संघीय राजधानी काठमाडौं यतिखेर सुनसान बनेको छ। बुधबारसम्म ८ लाख मतदाता आफ्नो मताधिकार प्रयोग गर्न गृहजिल्ला फर्किएका छन्। रोजगारी, अध्ययन तथा अन्य कामका सिलसिलामा उपत्यकामा बसोबास गर्दै आएका मतदाता आफ्नो मताधिकार प्रयोग गर्न गाउँ फर्किएका हुन्।
जेनजी बिद्रोहपछिको नयाँ राजनीतिक मोडमा हुँदै गरेको यो निर्वाचनप्रति नागरिकमा उत्साह देखिएको छ।
सामान्य दिनमा सवारी साधनको भीडले भरिने मुख्य सडक र चोकहरूमा अहिले सवारी चाप उल्लेख्य रूपमा घटेको छ। बजार क्षेत्रमा पनि घुइँचो कम देखिन्छ। न्युरोड, असन, नयाँ बानेश्वर, कोटेश्वरजस्ता व्यस्त क्षेत्रहरूमा समेत मानिसको आवागमन पातलो देखिएको छ। सहरका कतिपय स्थानहरू असामान्य रूपमा शान्त देखिन्छन्।
सहरका सडक सुनसान बन्दै जाँदा बसपार्कहरू भने भीडले भरिएका छन्। कोटेश्वर, गौशाला र कलंकी क्षेत्रका बसपार्कमा बिहानैदेखि यात्रुको बाक्लो उपस्थिति देखिन्छ। टिकट काउन्टर अगाडि लाम, हातमा झोला–झाम्टा बोकेर गन्तव्यतर्फ लाग्न आतुर नागरिक, र सवारी साधनको प्रतीक्षामा उभिएका यात्रुले बसपार्क क्षेत्रलाई व्यस्त बनाएका छन्।
निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै सरकारले बुधबार राति १२ बजेपछि अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। मतदातालाई सो समयअगावै गन्तव्यमा पुग्न आग्रह गरिएको छ।
राजधानीको सडकमा घट्दो चहलपहल र बसपार्कमा बढ्दो भीडले एउटै कुरा भन्छ— लोकतन्त्रको उत्सव मानिने निर्वाचनप्रति नागरिकको सहभागिता कम छैन।
हेर्नुहोस् तस्विरमा सुनसान काठमाडौं उपत्यकाः








