काठमाडौं । देशका मुख्य शहरहरूमा गत भदौ २३ र २४ गते ठूलो आन्दोलन चल्यो । कारागारबाट १५ हजार कैदी भागे । यसको प्रभाव कस्तो रह्यो त ? यही बुझ्न हामी कागेश्वरी मनोहरातिर पस्यौं । २५ गते मध्यान्ह काठमाडौंको जोरपाटीस्थित नारायणटारमा एक वयोवृद्ध भेटिए । आन्दोलन चर्किएको तेस्रो दिन, करिब ६० वर्ष हाराहारीका एक पुरुष चौबाटोमा एउटा गह्रौँ झोला भिरेर मुख्य सडकतर्फ लम्किँदै थिए । हातमा स्याउका पोका बोकेका ती वयोवृद्धसँग हामीले कुराकानी गर्न चाह्यौँ ।
हल्का लजाउँदै उनले बाल्ने अनुमति दिदैँ टाउको हल्लाए । छेवैको पसल पेटीमा बसेर गत वर्षको दसैँको मुखमा मात्रै काठमाडौँ छिरेका खम्मा विश्वकर्माले हाँस्दै आफ्नो जीवनको पन्तुरो खोले । जुम्लाको निम्नवर्गीय परिवारमा जन्मिएका खम्मालाई काठमाडौंसँग खासै सद्भाव र सहानुभूति नभएको अनुभव छ । कामकै कुरा गर्दा त गाउँघरमा धेरै दुःख छ नि । तर त्यही दुःखले त्यहाँ खुशी दिन्छ । एकअर्कासँग दुःख साट्दा खुशी मिल्छ । आफ्नो हत्केला हेर्दै उनी भन्छन् ‘गाउँमा त हातको चक्र मेटिन्छ काम गर्दा । तर जब बाली पाक्ने बेला हुन्थ्यो, मन त्यसै खुसी हुन्थ्यो । यता त दिनभरि २-४ पोका स्याउ बेचे मात्र बेलुका खान पाइन्छ ।
औसत मान्छेझैँ बितेको उनको जीवन प्रेमले नै चलायो । जीवनका झन्डै ६ दशक बितिसक्दा उनले धेरै उतारचढाव भोगेका छन् तर कुनै कुरासँग उनी गुनासो गर्दैनन् अहिले पनि छोराछोरीका छोराछोरी अर्थात् नातिनातिनासँग खेल्दा असाध्यै सुखको अनुभूति हुने उनी बताउँछन् । यसपालिको दसैँ कसरी मनाउने त बा ? भन्ने हाम्रो प्रश्न भुइँमा नझर्दै उनी भन्छन् जे हुन्छ त्यही खाने, टीका लगाउने नि ।
स्याउका पोका हेर्दै उनी थप्छन्, ‘यी स्याउ बेचिएला र अलिकति भए पनि मासु किनुँला भनेको’, आन्दोलनले सबै सपना चकनाचुर भयो । अब जस्तो हुन्छ त्यस्तै गर्ने । ‘पहिलापहिला पनि आन्दोलन हुन्थ्यो नि होइन?’ बरु यो प्रश्नले उनी आफ्नो विगततर्फ फर्किए । देशमा माओवादीले आन्दोलनको घोषणा गरेको २०५२ सालमा खम्माले विवाह गरेका रहेछन् । उनी स्मरण गर्छन् ‘त्यो बेला कहाँ यसरी २ दिनमा देशमा उथलपुथल भयो र बरु माओवादीले प्रहरी चौकीमा हान्यो, यति जना पुलिस मरे, यति माओवादी भन्ने सुनेको हो, त्यो पनि रेडियो नेपालबाट ।
खम्माले देशमा परिवर्तन भन्ने कुरा धेरै सुनेका छन् तर, खासै ठूलो परिवर्तन भएको भने उनलाई लागेको छैन । उनी भन्छन् ‘हाम्रो जीवन उहिलेदेखि यस्तै हो । फरक यति हो बाटा बनेका छन् फोन आएका छन् । त्यसले हामी जस्ताको जीवनमा यसले केही परिवर्तन ल्याएको छैन ।’


