काठमाडौं। राजधानीको मध्यभाग नयाँ बानेश्वर चोक जेन-जी आन्दोलनको पहिलो दिन भदौ २३ गते खचाखच थियो। तत्कालीन सरकारविरुद्धका नाराहरू गुन्जिरहेका थिए। तीनकुनेदेखि माइतीघर मण्डलासम्मको सिंगो सडक स्कुलको पोशाकमा रहेका विद्यार्थी र उनीहरूका अभिभावकले भरिएको थियो। मध्यदिनको १२ बजेतिर आन्दोलनकारीले संसद् भवन घेराउ गरिसकेका थिए । आन्दोलनको अग्रभाग तनावग्रस्त थियो ।
देशको बेथिति र विसङ्गतिविरुद्ध उर्लिएको त्यो माहोलमा जुम्लाका बृद्ध दिलजित भेटिए । भिडभाड ठेलमठेलमा मिसिएका दिलजितलाई त्यहाँ के भएको भेऊ नै थिएन । उनलाई आफ्नो अल्लोको टोपी बेच्ने धुन मात्रै थियो। सकसपूर्ण रुपमा ठेलिएर भित्र छिर्दै उनी 'टोपी किन्ने नानी' भन्दै त्यहाँ भेटिएका अनुहारहरूमा हेर्दै खिसिक्क हाँसिरहेका थिए।
........................................................................................................................................................
७० वर्षीय दिलजित राउत, विगत १० वर्षदेखि काठमाडौँमा यसरी नै अल्लोको टोपी बेच्दै आएका छन् । आफ्नो सामान लिएर उनी जहाँ धेरै मानिस हुन्छन्, त्यहीँ पुग्छन् । त्यस दिन पनि आफ्नो राम्रो व्यापार हुने आशले कोटेश्वरदेखिको भीडभाड छिचोल्दै बानेश्वर पुगे । दिलजित शुरुमा यत्रो मान्छेको भीडमा आफ्नो सामान राम्रो बिक्ने भन्दै खुसी हुँदै छिरे । त्यहाँ पुगेर नारा लगाएको देख्दा 'आन्दोलन हो कि' भन्ने शंका मात्रै गरे तर पत्तो लाउन सकेनन् । हामीले 'यो भिड के रहेछ बा ?' भनेर सोध्दा 'खोइ कोहीले आन्दोलन हो भन्छन्, मलाई त केही थाहा छैन' भन्ने जवाफ दिए। जेन जीको आन्दोलनबारे हामीले कुरा गरेपछि दिलजितले आफ्नो मनका कुरा राख्न थाले।
.......................................................................................................................................................
दिलजितले आफ्नो जीवनकालमा विकासले ठूलो फड्को देखेका छन्। जुम्लादेखि काठमाडौँसम्म बाटो बन्नु, गाउँ गाउँमा मोबाइल पुग्नु र मानिसहरूले टिकटक बनाउनु उनका लागि ठूलो चमत्कार हो। तर, उनी आफैँले भने ती अवसरहरू उपयोग गर्न पाएका छैनन् । उनलाई यही कुराले एकदमै मन दुख्नेने गर्छ । उनको भनाइमा, उनी न त पुरानो पुस्तामा पूर्ण रूपमा रमाउन पाए, न त नयाँ पुस्ताको सबै अवसरहरूलाई उपयोग गर्न सके। उनी दुई पुस्ताको बीचमा उभिएका छन्। यही कारणले गर्दा, उनलाई आफ्नो जीवन 'न यताको, न उताको' भएको महसुस हुन्छ। आफ्नो पालाभन्दा जे भए पनि आफ्ना सन्ततिले पढ्न पाएकोमा भने दिलजित खुशी छन्। आधा दाँत झरिसकेका उनी हाँस्दै भन्छन्, 'आफूले एक अक्षर पढ्न नपाए पनि छोराछोरी पढे, नाति नातिनी पढ्दै छन्। मा खुशी छु।'
दिलजितलाई जुम्लाका गाउँसम्म सडकमा पुगेकोमा पनि साह्रै खुशी लाग्छ। उनी आफ्नो गाउँको विगत सम्झँदै भन्छन्, 'जुम्लाका स्याउ पहिला गाईगोरुलाई खुवाउने गर्थ्यौं, अहिले काठमाडौँसम्म ल्याएर बेच्न पाउँदा साह्रै खुशी लाग्छ।' गाउँमा बस्दा विकासका कुरा धेरै सुने पनि जुम्लाबाट बाहिर निस्कने बाटो नभएर लामो समयसम्म त्यहीँ थन्किनुपरेको उनी बताउँछन्। केही वर्षअघि मात्रै जुम्लाका विभिन्न गाउँमा पुगेको बाटोले गर्दा अहिले जुम्लीहरूले काठमाडौँसम्म त्यहाँको उत्पादन स्याउ ल्याउन थालेका छन्। त्यही बाटो दिलजित र जुम्लीहरूका लागि ठूलो विकासको मानक बनेको छ ।
दिलजितलाई अहिले जेन जीले उठाएका मागबारे केही थाहा छैन । तर आफ्ना छोरा नातिका पालामा देशले नयाँ विकास गर्नुपर्ने उनको बुझाइ छ। उनी आफ्नो विगत सम्झँदै भन्छन्, हामीलाई त केही थाहा छैन। हामी भेडाको गोठालो हौँ । हाम्रा छोरा नातिले देशलाई फेर्नुपर्छ सुख पाउनुपर्छ।
...........................................................................................................................................................
चार छोरा र तीन छोरीका बुबा दिलजितसँग आत्मनिर्भताको अठोट छ । आफ्नो ज्यान पाल्न छोराछोरीको भर नपर्ने अठोट उनले लिएका छन्। आफ्नो जीवनभर भेडा पालेर दिलजितले सात छोराछोरी हुर्काए । अहिले छोराछोरी आ–आफ्नो पेशामा छन् । छोराछोरीले उनलाई काम नगर्नू भन्दै रोक्न पनि खोजेकै छन्। तर दिलजित भन्छन्, 'अहिले सक्ने हुँदा किन छोराछोरीलाई दुःख दिनु ?' आफैँ गरिखान्छु नि।


