काठमाडौं । जेनजी युवाहरूको रक्तमुच्छेल विद्रोहले देशको शासनसत्ता कायापलट भएको छ। विद्रोहमा हजारौं जेनजी युवाहरू जुरुक्क उठे, ती मध्ये एक थिए- विमलबाबु भट्ट, वर्ष २२ । देशमा चुलिएको बेथिति, भ्रष्टाचार र त्यसले लादेको बेरोजगारीबाट आम युवाजस्तै उनी पनि आजित थिए । देशको जर्जर अवस्थाबाट दिक्क भएका विमल प्रदर्शनको पहिलो बिहान कोटेश्वरबाट प्रदर्शनमा सहभागी भएका थिए ।
भाद्र २३ गते जेनजी युवाहरूले सामाजिक सञ्जालमाथिको सरकारी प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध प्रदर्शन आयोजना गरेका थिए । काठमाडौंमा प्रदर्शनको केन्द्र थियो- माइतीघर मण्डल । हजारौं जेनजी युवाहरू राष्ट्रिय झण्डा र भ्रष्टाचार विरोधी प्लाकार्ड बोकेर प्रदर्शनमा भेला हुँदै थिए । त्यही भीडमा मिसिन आए, जेनजी विमलबाबु भट्ट ।
गोरखाबाट पढ्न काठमाडौं आएका विमल मामासँग बस्थे । मामा हरिराम भट्टले प्रदर्शन हिंसात्मक हुनसक्ने आँकलन गरिसकेका थिए । हरिरामले चैत्र १५ गतेको राजावादी आन्दोलनमा भुक्तमान खेपेका थिए । हरिरामले भान्जालाई धेरै सम्झाउन खोजे, आन्दोलनमा नजान भने । विमल भने आफूहरू नगए जेनजी आन्दोलन सफल नहुने र यो देश फेरि कसैले नबनाउने तर्क गर्दै आन्दोलनमा होमिए ।
दिउँसो हरिराम आफ्नै काममा व्यस्त थिए । जेनजी प्रदर्शनमा गोली चलेको र थुप्रै युवाहरूको हताहती भएको खबर सामाजिक सञ्जाल र समाचारमा व्यापक छाउन थाल्यो । उनको मनमा चिसो पस्यो । भान्जालाई फोन गरे । फोन अरु कसैले उठायो र भन्यो- 'तपाईंको मान्छे सिभिल अस्पतालमा छ ।' उनले अरु सोध्न नपाउँदै 'यो फोन आशिका तामाङ दिदीसँग हुन्छ, उहाँसँग लिनू' भनेर फोन काटियो ।
हरिराम आत्तिए ! के भयो, कसो भयो उनले केही सोच्नै सकेनन् । कर्फ्यु लागिसकेको थियो, उनी बाहिर निस्कन पाएनन् । साँझ हस्पिटल पुग्दा थाहा पाए- बिहान आन्दोलनमा हिँडेका भान्जा देशका लागि शहीद भैसकेका रहेछन् ।
बानेश्वरको संसद् भवन अगाडि जेनजी प्रदर्शनले उग्ररूप लिँदा प्रहरीको गोली लागेर ढल्ने पहिलो व्यक्ति उनै विमलबाबु भट्ट रहेछन् । त्यही दिन उनीसँगै गोली लागेर अरू १८ जनाले ज्यान गुमाएका थिए ।
गोरखाको बारपाक सुलिकोट गाउँपालिका- ५, ताकुमाझ लाकुरीबोटको नारेश्वरमा जन्मेका थिए, विमल । उनका बा-आमा गाउँमै बस्छन् । खेती किसानी गर्छन् । आर्थिक र स्वास्थ्य अवस्था कमजोर छ ।
आफ्नो छोराले जेनजी आन्दोलनमा शहादत प्राप्त गरेको कुरा उनका बा रामकृष्ण भट्टले थाहा पाएका छ्न्, एकान्तमा टोलाइरहेका छन् । मानसिक रोगको औषधि खाइरहेकी बिरामी आमालाई छोराको निधनबारे थाहा दिइएको छैन । 'छोरासंग कुरा गर्छु, फोन लाइदिनू' भनिरहन्छिन् । फोन गरेर यो सब कसरी भन्ने, मामा हरिराम बिलखबन्दमा छन् ।
गाउँकै जलकन्या देवी माध्यामिक विद्यालयबाट माध्यामिक तह अध्ययन गरेका विमल पढाइमा मध्यम भएपनि निकै फूर्तिला युवा थिए । 'नेतृत्व गर्ने क्षमताको र अनुशासित थियो' उनलाई पढाएका प्रधानाध्यापक उमाकान्त ढकाल सम्झन्छन् ।
संगै स्कुल पढेका साथीहरूमाझ विमल निकै इमानदार र मिलनसार थिए । उनका नजिकका दाइ अंकित भट्ट भन्छ्न्- 'हामीले कर्मशील युवा गुमायौं, ऊ आशावादी थियो । देश सधैं यस्तै त नहोला नि ! केही वर्ष बिदेश गएर कमाउनेअनि स्वदेशमै फर्केर केही गर्ने हो भन्थ्यो । उनका सपनाहरू ढलेका छन् ।'
मामा हरिरामका अनुसार पशुपति क्याम्पसमा प्लस-टु पढ्दै गरेका विमलले केही महिनाअघि मात्रै विदेश जाने सोच बनाएका थिए । एजेन्टको सल्लाह अनुसार थाइल्यान्डमा केही समय काम गरेर पोर्चुगल जाने सहमति भएको थियो । त्यसका लागि विमलले एजेन्टलाई तीन लाख रुपैयाँ रकम समेत बुझाइसकेका थिए ।
‘अब एक महिनामा भिजा आउँछ, अनि उड्ने हो भन्थे, खोइ भान्जा त कता उँडे...’ मामा हरिराम भावुक हुँदै सुनिए ।
विमलको घरको अवस्था निकै नाजुक छ । परिवारको कान्छा छोरा उनी रोजगारीको लागि निकै भौंतारिए । पैसा कमाएर बा-आमाको मुहारमा खुसी त्याउँछु भन्ने चाहना थियो ।
विमलको शव अहिले महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमको लागि राखिएको छ । प्रक्रिया पुर्याएर शव परिवारलाई बुझाइने अस्पतालले जनाएको छ ।
विमलसंगै आन्दोलनमा ज्यान गुमाउनेको संख्या कम्तिमा ७२ पुगेको छ । जेनजी आन्दोलनले ल्याएको राजनीतिक उथलपुथल र जनआक्रोशले सत्ता परिवर्तन भएको छ । यहि आन्दोलनको बलमा संसद् विघटन भएर सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । विमलको परिवारलाई विश्वास छ- उनको बलिदानले इतिहासमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ, जहाँ उनी नेपालको उज्ज्वल भविष्यको लागि लड्ने एक साहसी युवाको रूपमा सधैँ स्मरणीय रहनेछन् ।
देशमा परिवर्तनको ज्यानको आहुति दिएका आफ्ना भानिज शहीद भएर चिनिनेमा मामा हरिरामलाई गर्व छ । यसमा राज्यले कुनै कन्जुस्याइँ नगर्ला भन्ने उनलाई लागेको छ ।
विमलसंगै शहादत प्राप्त गरेका युवाका परिवारले रगतको उपलब्धि खेर नजानेगरी काम गर्न सुझाएका छ्न् । अब कसैले पनि फेरि फेरि देशको लागि रगत बगाउन नपरोस् भन्ने शहीद परिवारको चाहना छ ।


