Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

चटपटेमा स्वाद, संघर्षमा आत्मनिर्भरता

चटपटेमा स्वाद, संघर्षमा आत्मनिर्भरता

शनिबार, भदौ २१ २०८२
शनिबार, भदौ २१ २०८२
  • काठमाडौँ । सुदूरपश्चिमको हरियो डाँडा, आछामको हावासँगै हुर्किएकी प्रतिभा रावल को तराईको लम्कीमा अर्को घर छ। यद्यपि उनको जीवन भने अहिले राजधानी काठमाडौँको मैतिदेवीमा अडिएको छ, जहाँ उनले पसिना र संघर्षले उभ्याएको सानो पसललाई जीवनको आधार बनाएकी छिन्।
     
    १४ वर्षको कलिलो उमेरमा राजधानी आउँदा उनको आँखाभरी सपना, मुटुमा डर, अनि काँधमा घर–परिवारको जिम्मेवारी थियो। अहिले उनी २९ वर्षकी भइन्। यी १५ वर्षको अन्तरालले उनलाई के–के मात्र सिकाएन? पढाइप्रेमी प्रतिभाले नेपाली र भूगोल विषय लिएर अध्ययन गरिन्। स्नातकसम्मको उनको यात्रा सहज थिएन । काम र पढाइ एकसाथ सम्हाल्दा उनलाई निकै कठिन भयो । तर उनलाई पछि हट्न मन थिएन। अन्ततः उनले स्नातकसम्मको अध्ययन पूरा गरेरै छाडिन्।
     
    उनी घरकी जेठी छोरी हुन् त्यसैले पनि बुवा र हजुरबुवाको निधनपछि आमा, हजुरआमा, दिदी–बहिनी र भाइको आधार बनेकी छिन् । उनी भन्छिन् , ‘मैले अहिले विवाह नगर्नुको कारण श्रीमानमा निर्भर हुन नपरोस् भनेर हो । मेरो परिवार नै मेरो पहिलो जिम्मेवारी हो।’ काठमाडौँका होटलहरूमा पनि उनले वर्षौँ परिश्रम गरिन्।विहानदेखि रातिसम्म काम गरेर पन्ध्र हजार तलब पाउँथिन्। जसले सिमित खर्च गर्न मात्रै पुग्थ्यो । तर उनको मनले भनिरह्यो, ‘कसैको भरमा होइन, आफ्नै बलमा केही गर्नुपर्छ।’ अन्ततः दुई लाखको लगानी गरेर उनले सुरु गरिन् चटपटे पसल।
     
    आज त्यो पसल उनका लागि केवल आम्दानीको स्रोत मात्र होइन, जीवनको परिचय पनि बनेको छ। दिनमा पाँच–छ हजार कमाएर महिनामा चालीस हजार बचत गर्छिन्। तर उनकोलागि त्यो भन्दा ठूलो सम्पत्ति भने ग्राहकका अनुहारमा देखिने सन्तुष्टिको चमक हो। पानीपूरी, चटपटे, लाफिङ्, आलु–निम्की, दहीपूरी , यी सबै परिकार उनको श्रम र आत्मनिर्भरताको स्वाद बोकेर निस्किन्छन्। रातको दश बजेसम्म पसलमा रमाइरहने उनी भन्छिन्, ‘कामको इज्जत जहाँ हुन्छ, त्यहीँ मेरो मन अडिन्छ।’ तर प्रतिभाको सपना यहीं रोकिने छैन।
     
    केही वर्षपछि फेरि होटल व्यवसायमै फर्कने उनको योजना छ। अविवाहित भए पनि अब विवाह गर्ने सोचमा पनि उनी बिस्तारै अघि बढिरहेकी छन्। उनको जीवन दर्शन स्पष्ट छ, ‘मानव जीवनमा एउटै काममा मात्र बाँधिनु हुँदैन। मैले मात्र गरें भन्ने अहंकार होइन, मैले यो गरें भन्ने आत्मविश्वास चाहिन्छ।’ विदेशतर्फ पलायन भइरहेका युवालाई उनी सम्झाउँछिन्—‘परिवार नछोड्नुस् देश नछोड्नुस्, आफ्नै माटोमा पसिना बगाउँदा जीवनको स्वाद अर्कै हुन्छ।’ उनलाई लाग्छ—अनुशासनबिनाको स्वतन्त्रता केवल अस्तव्यस्तता हो। त्यसैले उनी भन्छिन् ‘अनुशासनमा बाँधिएको स्वतन्त्रतामै जीवनको असली आनन्द छ।’ आज प्रतिभा रावल केवल चटपटे बेच्ने पसले मात्र होइनन्, संघर्ष बेचेर आत्मनिर्भरता बाँड्ने पात्र पनि हुन्।
     
     
     
     
     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij