काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका अवस्थित हेपाली हाइटको एउटा सानो कोठामा ६८ वर्षे ज्ञानबहादुर रम्तेलको दिन बित्छ । त्यहीँबाट उनको जीवनयात्रा, संघर्ष र सीपको कथाले दशकमै फड्को मारेको छ । पन्ध्र वर्षकै उमेरमा उनले पहिलोपटक सियो र धागो समाते । स्कूलको ढोकासम्म पुग्ने अवसर नपाए पनि प्रौढ शिक्षा पढेपछि उनले अक्षरहरू अलि–अलि चिन्न थाले । तर अक्षरभन्दा बढी जीवनका अक्षरहरू भने उनले आफ्नो सीप र पसिनाबाट पढे ।
उनका पूर्खाहरू यही पेशामा थिए । बुवा आर्मीको जागिरे भए पनि जुत्ता बनाउने काम गर्थे । तर आठ वर्षकै उमेरमा बुबा गुमाएपछि दाइ नै उनको गुरु बने, दाइको हात समातेर उनले पनि यही सीप सिके । त्यसपछि ‘जुत्ता बनाउने हात’ उनको परिचय, बाँच्ने आधार र जीवनको सहारा बन्यो ।
एक समय थियो जब १५ वर्षको उमेरमा बनाएको एउटा जोडी जुत्ताले उनले २०–३० रुपैयाँ कमाउँथे । अहिले भने उनले आफ्नै पसलको महिनामा ७ हजार भाडा तिर्नुपर्छ । पहिले उनले जुत्ता बनाउँथे भने अहिले प्रायः मर्मत गर्छन् । कहिले बेच्नका लागि तयार सोल ल्याउँछन्, कहिले अरूको जुत्ता सिलाउँछन् । कहिले दिनमा ५० रुपैयाँ मात्र हात पर्छ, कहिले १५ हजारसम्म मासिक नाफा हुन्छ । तर, खालि हात कहिल्यै फर्किनु परेन भन्नेमा उनी सन्तुष्ट छन् ।
उनका पाँच सन्तान छन् । छोराछोरीलाई पढाउने खर्च यही पेशाबाट धानिरहेका छन् । तर, उनका छोराहरुले यो सीपलाई निरन्तरता दिन सकेनन् । एउटा छोरा नम्बर प्लेट पेन्ट गर्छन् भने अर्को छोरा दुबईमा वर्षौँ परिश्रम गरेर फर्केका छन् । जुत्ता बनाउने पेशामा उनीहरूको चासो छैन । ‘२०४० सालदेखि २०५५ सालसम्म त यो पेशाले मेरो जीवन राम्रो भइसकेको थियो, अहिले सम्पन्न भएका व्यक्तिहरुले विदेशबाटै जुत्ता मगाउँछन्,’ उनी भन्छन्, ‘अब यो पेशा टिकाउन मार्केट र लगानी दुबै चाहिन्छ ।’
ज्ञानबहादुरलाई गर्व लाग्छ आफैं बनाएको जुत्ता आफैंले लगाउँदा । तर, पीड पनि छ, शिक्षा नभएकै कारण उनले सीपलाई व्यवसायिक विस्तार गर्न सकेनन् । ‘कति लगानी भयो, कति नाफा भयो भन्ने हिसाब गर्नै शिक्षा चाहिने रहेछ ।’ उनी भक्कानिन्छन्। आजभोलि उनी रोगसँग लडिरहेका छन् । मुटु, सुगर, नसा सम्बन्धी समस्या दैनिक १० वटा औषधि खानुपर्छ । महिनाको तीन हजारभन्दा बढी औषधि खर्च हुन्छ । २०५६ साल साउन २५ गते, पसलमै काम गरिरहँदा अचानक मुटु दुखेर ढलेका उनी आजसम्म निरन्तर औषधिमा भर परिरहेका छन् ।
तैपनि उनले हार मानेका छैनन् । दिनहुँ बिहान बेलुका पसल खोल्छन्, हातमा सियो र धागो थाम्छन्, अनि भन्छन्
‘खालि हात त कहिल्यै फर्किनु परेको छैन ।’


