काठमाडौँ । सिन्धुपाल्चोकका सोम बहादुर थापा अहिले ९० वर्षका भइसकेका छन् । उमेरले जीवनको उत्तरार्धमा पुगे पनि उनको चिन्ता भने देशकै वरिपरि घुमिरहन्छ । गणतन्त्र आएको धेरै वर्ष भइसक्यो, तर उनी भन्छन्, ‘यो नामको मात्र गणतन्त्र हो, व्यवहारमा लागु भएको छैन ।’
सोम बहादुरलाई अझै पनि राजतन्त्रको समय सम्झना आउँछ । उनी भन्छन्, ‘त्यो बेला घरदेखि देशसम्म सबै कुरा व्यवस्थित थियो । मानिसबीचको सम्बन्ध दृढ थियो। आज न समाज व्यवस्थित छ, न घर नै । एकै रथका दुई पाग्रां मानिने श्रीमान–श्रीमतीबीचको सम्बन्ध पनि धमिलिँदै गएको छ ।’
२०७२ सालको भूकम्पले उनको गाउँ मात्र होइन, जीवनको आधार पनि हल्लाइदियो । घर भत्किएपछि उनी राजधानी सरे । तर शहरको महँगो जीवनशैली उनलाई झन् पीडादायी लाग्यो । ‘मेरो पालामा सय रुपैयाँमै भैंसी किन्न सकिन्थ्यो, आज त्यो डेढ लाखको हाराहारीमा छ ।’ उनी उदाहरण दिन्छन्।
राजतन्त्रको समयमा समाजमा सहकार्य थियो । जातजातीले आफ्नो धर्म–संस्कार गर्वसाथ पालन गर्थे, आपसी मेलमिलाप मजबुत थियो । ‘आज मानिसले धर्म र कर्तव्य दुवै बिर्सिरहेका छन् । हिन्दू धर्म त विस्तारै लोप हुने अवस्थामा पुगेको छ ।’ उनी चिन्ता व्यक्त गर्छन् ।
सोमबहादुरलाई अहिलेको लोकतन्त्रभन्दा पञ्चायत व्यवस्था नै सहज लाग्छ । उनी सम्झन्छन्, “त्यो बेला वनमै पाठशाला चल्थ्यो । पढाउनेलाई वर्षको २१ रुपैयाँ तलब दिइन्थ्यो । तर महिलाको शिक्षा भने दुर्लभ थियो ।” आजको शिक्षा प्रणालीप्रति पनि उनी सन्तुष्ट छैनन् । उनका अनुसार आजभोलि शिक्षा छ तर ज्ञान छैन। ‘विद्यार्थीले कौमुदी पढे मात्र वास्तविक ज्ञान आर्जन गर्छन् । अहिलेको पढाइ सीमित छ, अंग्रेजी विषय धेरै भए तर आफ्नै इतिहास, धर्म र संस्कृतिबारे कमै ध्यान दिइन्छ ।’ उनी भन्छन्।
उनको मान्यता छ—अभिभावक सिपालु भए मात्र सन्तानको ज्ञान विस्तार हुन्छ । त्यसैले अहिलेको पुस्ताले अनिवार्य रूपमा नेपालको इतिहास पढ्नुपर्छ, संस्कार सिक्नुपर्छ ।
अन्त्यमा, उनी गहिरो दुःख पोख्छन्
‘हामी यस जीवनमा उद्योग गर्न आएका हौँ । तर आजभोलि नेताहरुले सबै कारखाना र उद्योग धन्दा त्यतिकै सकाए ।’


