काठमाडौं । गोरखाको जराङमा जन्मिए, उदय प्रसाद देवकोटा। युवावय हुँदै पारिवारिक अंशबण्डाले उनलाई ताकु- पाल्खुमा पुर्यायो। अनि त्यहीँबाट शुरु भयो, संस्कृत भाषा अध्यापन कर्म।
देवकोटाले सूर्य ज्योति मा.वि.मा ४० वर्षसम्म अध्यापन गरे। त्यतिबेला जागिर पाउनु अहिलेको जस्तो प्रतिस्पर्धात्मक थिएन, त्यसैले उनी सहजै स्थायी शिक्षकमा नियुक्त भए। उनी समाजसेवी पनि थिए। सूर्य ज्योति मा.वि.मा प्रारम्भिक तहदेखि नै पढाउन थालेका देवकोटाले विद्यालयको व्यवस्थापनसमेत सम्हाल्नुपर्यो। विद्यालयको उचित व्यवस्थापनको जिम्मेवारी उनको काँधमा थियो। त्यसैले आफ्नै दरबन्दी अरूलाई दिएर उनी व्यवस्थापनमा जुटिरहे। यस क्रममा उनले बहुमुखी प्रतिभा भएका शिक्षकहरू ल्याई विद्यालयलाई सबल बनाउन ठूलो योगदान गरे।
उनी जवानीमा भलिबल खेल्ने गर्थे र खेलकुद शिक्षक पनि बने। विद्यार्थीहरूले उनलाई ‘जोशिला शिक्षक’ भनेर चिन्थे। यद्यपि उनले संस्कृत र नेपाली विषय पढाए पनि करिब २५–३० वर्षसम्म उनी खेलकुद शिक्षककै रूपमा सक्रिय रहे। संस्कृत पढाउने देवकोटा भन्छन् 'संस्कृत जान्ने मान्छेले सबै विषयको आधार पाउँछ।' तर पछिल्लो पुस्तामा संस्कृत गहिरिएर पढ्ने मानिसहरू हराउँदै गएका छन्।
उनी भन्छन्, 'बाहिरबाट हेर्दा संस्कृत कठिन देखिए पनि वास्तविकता फरक छ। तर समयसँगै संस्कृतमा विकृति आयो। केही पण्डितहरूले कपोकल्पित कुरा ल्याएर वास्तविकतालाई बङ्ग्याए। वेदमा नभएका कुरा भनी भनी जनतालाई भ्रमित गरियो।' उनका अनुसार, वेदले समानताको कुरा गर्छ, जातिवादलाई होइन। तर जजमानी गर्ने बाहुनहरूले संस्कृतलाई व्यापारिक धन्दाको रूपमा प्रयोग गर्दा संस्कृतको महत्त्व धमिलिँदै गयो।
वेदमा भनिएको छ 'हामी जति बाँच्छौँ, बाँचुन्जेल मेरा कानहरूले सुन्न सकून्, मेरा आँखाले देख्न सकून्, अंगहरू स्थिर भएर ध्यान गर्न सकून्, शरीर थिर रहोस्, मेरो आयु सय वर्ष पूरा होस्।' तर आज जातिगत विवादलाई वेदकै आडमा ल्याइएको छ।
त्यतिबेला आठ कक्षासम्म संस्कृत अनिवार्य पढाइ हुन्थ्यो। देवकोटाले विद्यार्थीलाई संस्कृत पढाउँथे। पछि यो घट्दै जाँदा पाँच कक्षासम्म मात्र सीमित भयो र अन्ततः हरायो। उनी भन्छन् 'मन्दिर पूजा गरेर ईश्वर भेटिन्न, ईश्वरलाई आफ्नै शरीरभित्र खोज्नुपर्छ।'
संस्कृतलाई अनिवार्य बनाएको जस्तै अहिले अंग्रेजी विषयलाई विद्यालयमा अनिवार्य गरिएको छ। तर देवकोटाको भनाइमा अंग्रेजीभन्दा संस्कृत धेरै गहिरो र व्यापक छ। उनले जर्मनीमा आधा जनसंख्याले संस्कृत पढिरहेको र त्यहाँ संस्कृत विद्यालयसमेत सञ्चालनमा आएको अनुभव सुनाए। 'हामीले अंग्रेजीलाई ठूलो मान्न थाल्यौं, तर वास्तवमा संस्कृत अझ माथि छ,' उनी भन्छन्।
शिक्षण जीवनमा उनले आफ्ना विद्यार्थीका नातिलाई समेत पढाइसकेका छन्। ७५ वर्ष उमेर पुगेको आज पनि उनी योग र संस्कृतप्रति सक्रिय छन्। आफ्नै एक विद्यार्थीको पहलमा संस्कृत विद्यालय खोल्ने योजना बने पनि गाउँमै गएर सोध्दा कसैले चासो नदेखाएपछि त्यो योजना अधुरो रह्यो।
विद्यालय सञ्चालनका लागि उनले आफ्नो ६ महिनाको तलबसमेत छोडेका थिए। पहिलो नियुक्तिमा उनी मासिक ५५ रुपैयाँमा शिक्षक बने। बिहानदेखि बेलुकीसम्म विद्यार्थीलाई राम्रो शिक्षा दिन उनी समय बिर्सेर मिहिनेत गर्थे। तर आजका शिक्षक भने चार बज्नासाथ घर फर्किन हतारिन्छन् भन्ने उनको गुनासो छ। सरकारले पनि शिक्षकलाई अनावश्यक दबाब दिएको उनको अनुभव छ।
देवकोटा भन्छन् 'शिक्षक भनेको आदरणीय व्यक्तित्व हो। समाज निर्माण गर्ने काम शिक्षककै हातमा हुन्छ। तर आज नेपालमा शिक्षकलाई हात उठाउन पनि पछि पर्दैनन्, जुन दुःखद हो।' उनले शिक्षकहरूले पनि आफ्नो आचरण र मर्यादा कायम राख्न नसकेको बताउँछन्।
जीवनभर उनले मदिरा, धूम्रपान, मासु खाएनन्। शुद्ध जीवनशैलीमा रहेर उनी शिक्षण पेशामा लागिरहे। विद्यार्थीलाई उनले सन्देश दिन्छन् 'समयको सही उपयोग गर्नुपर्छ, यही जीवनको वास्तविक पाठ हो।'


