Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

सुदूरपश्चिमका उत्पादन काठमाडौंमा चिनाउँदै सुभद्रा

सुदूरपश्चिमका उत्पादन काठमाडौंमा चिनाउँदै सुभद्रा

काठमाडौंमा जन्म, सुदूरपश्चिममा विवाह !

बुधबार, साउन २८ २०८२
बुधबार, साउन २८ २०८२
  • काठमाडौं । सुभद्रा संगतको जीवनको एउटा संयोगले अर्काे संयोग जन्मायो । रैथाने उत्पादन प्रतिको आफ्नो प्रेमलाई नै उद्यममा परिणत गर्न उनी सफल भइन् । उनले आफ्नै रहरको काम थालेकी छिन् । सुदूरपश्चिमका उत्पादनलाई देशको राजधानी पू¥याउने यो कामको सुरुवात  घरमा आफूले खान ल्याएको कोदो बेचेर गरेको उनले बताइन् । सुभद्राले यस्तै काम सुदूरपश्चिमका महिलालाई पनि सिकाउँछिन् ।

    images

    महिला सिर्जनशील केन्द्रको आयोजनामा बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा भएको महिला उद्यमीको मेलामा भेटिएकी सुभद्रा प्याकेजिङ् गरिएका सामान मिलाउँदै थिइन् । ती स्थानीय उत्पादन सुदूरपश्चिमका मात्र हुन् भन्ने थाहा पाएपछि हामी उनीसंग भलाकुसारी गर्न अघि बढ्यौं ।  सुभद्राले यो काम थालेको एक वर्ष मात्र भयो । काम सुरु गरेको बर्षदिनमै ग्राहकले उनलाई चिन्न थालिसके । 
    उनीसँग प्रायः सुदूरपश्चिमकै उत्पादन छन् । मार्सी चामल, कोदो, फाँपर, घ्यू, मह, भटमास, सिलाम, टिंमुर, मसला, सिमी, बोडी लगायतका अन्नबाली, गेडागुडी लगायतका उत्पादन उनी बेच्छिन् । जसमध्ये मह,  घ्यू, कोदो, फापर तथा सिमी लगायत गेडागुडीको माग अत्यधिक बढेको छ ।
     
    अनि सुरू भयो रहरको काम 

    उनी बरम्बार सुदूरपश्चिम गइराख्थिन् । त्यहाँका रैथाने चिजले उनलाई सधैँ तानिरहन्थ्यो । उनले यस्ता उत्पादन खोजीखोजी ल्याउने अनि आफन्तलाई बाँड्ने गर्थिन् । यस्तै, उनले त्यहाँका किसानमा खाद्य चेत कम भएको पाइन् । त्यहाँका स्थानीय उत्पादन त्यसै कुहिएर जान्थ्यो । धेरैले निर्वाहमुखी उत्पादन गरे पनि यसको व्यवस्थापन भने कसैले गर्न नसकेर नष्ट भएको देखिन्  । यसरी, सुदूरपश्चिमका उत्पादनले बजारमा स्थान नपाएको देखेर उनको मन खिन्न भयो । स्नातकसम्म अध्ययन गरेकी उनलाई गाउँसँगै जोडिन मन लाग्यो र उनको मनले भन्यो ‘गाउँका उत्पादन शहरले खोजिराखेको छ ।’ 

    गाउँका उत्पादनको नाम समेत नचिन्ने काठमाडौँबासीलाई रैथाने उत्पादन चिनाउनुपर्छ भन्ने उनलाई लाग्यो । शहरमा माग धेरै भएको अनि स्थानीय उत्पादन त्यसै बिग्रिएर, कुहिएर गएको देखेपछि उनले त्यहाँका उत्पादन काठमाडौं ल्याएर बजार पुर्याउने सोचिन् । यहि सोचलाई ‘सुयोग मार्केटिङ् एन्ड फुड’ नाम दिएर एक वर्षदेखी काठमाण्डौँ स्थित आफ्नै निवासबाट काम गर्दैछिन् । उनलाई काठमाडौँमा गाउँबाट ल्याइएको सामान मान्छेलाई चखाउन पाएकोमा गर्व महसुस हुन्छ । उनी खुशी व्यक्त गर्छिन् ‘मेरो कमाई नै यहि हो ।’ यो काममा उनका श्रीमानको पूर्ण साथ र सर्मथन छ । ‘श्रीमानको साथ नभएको भए यो काम सम्भव नै थिएन’ उनी अगाडी थप्छिन्  ‘सुदुरपश्चिमका पहाडी जिल्लाबाट उहाँले सामान संकलन गर्नुहुन्छ । मैले चाहिँ यसको प्रशोधन, प्याकेजिङ्देखी बजार पठाउने काम गर्छु ।’ 

    श्रीमानको मात्र नभएर परिवार अनि आफन्तको उत्प्रेरणा पनि उनले पाएकी छिन् । जसले गर्दा उनको काममा खुशी थपिएको छ । जस्तोसुकै काम पनि सुरुवातमा सहज हुँदैन । तर उनको हकमा भने यो लागु भएन । उनलाई त्यति कठिनाई भएन, गाउँ जाँदा हरेक पटक केहि न केहि रैथाने चिज ल्याइराख्थेँ । पछिपछि आफन्तले पनि माग गर्न थाले । मैले घरमै खान ल्याएको सामानबाट यो कामको थालनी गरेकी हुँ । यसमा खासै ठुलो लगानी लागेन । उनले आफ्नै घरभित्रैबाट यो सञ्चालन गर्छिन् । कसैलाई सामान चाहिएमा घरमै पुर्याउँछिन् । कतिपय त घरमै सामान किन्न आउँछन् ।  उनले यसलाई आधुनिक प्रविधिसँग पनि जोडेकी छिन् । अनलाइनबाट पनि सामान अर्डर गर्ने व्यवस्था छ ‌। ‘यस्तै मेला महोत्सवमा स्टल राखेर पनि बजारीकरणको काम गरिराखेकी छु ।’ उनी भन्छिन् । 
     
    गाउँका महिलालाई सशक्त बनाउने प्रयास 

    काठमाण्डौँमा रैथाने उत्पादनको माग उच्च छ । गाउँका उत्पादनहरु प्रयोग गर्ने राम्रो संस्कृतिको विकास हुँदैछ । तर गाउँमा खेती किसानी गर्ने क्रम भने घटिराखेको छ । खेती गर्नेले पनि निर्वाहको लागि मात्र गरिरहेका छन् । सुभद्रालाई यहि कुराको महसुस भएपछि सुदुरपश्चिमका दुरदराजका किसानकहाँ गईन् । विशेषगरी महिला किसानलाई भेटिन । सानैदेखी आफूले सिकेको सीप त्यहाँका महिलालाई पनि सिकाइन् । ‘म तालिम पनि दिन्छु । उत्पादित वस्तुलाई भण्डारण, प्रशोधन तथा प्रयोग अनि बजारिकरणबारे तालिममा सिकाउँछु । खेर जाने वस्तुको व्यवस्थापन गर्ने कुरा सिकाउँछु ।’
     उनले त्यहाँ धेरै उत्पादन हुने साग त्यसै खेर गएको देखेपछि त्यसको व्यवस्थापन गर्न सिकाइन् । गुन्द्रुक लगायत परिकार बनाउने उपाय बताइन् ‌‌। यस्तै मुलाको सिन्की बनाउन पनि उनले तालिममा सिकाउँछिन् ।

    तालिम पाएका महिलाले उनलाई धन्यवाद दिन्छन् । ‘खेर जाने उत्पादनलाई व्यवस्थापन गर्न सिकेपछि उहाँहरु खुशी हुनुहुन्छ’ उनले तालिम पाएका महिलाको प्रतिक्रिया सुनाइन् । उनको जन्म राजधानी काठमाडौमै भएको हो । बुबाआमाले गरेको कामबाट उनले सिकिन् । रैथाने उत्पादन प्रशोधन गर्ने जातीय कर्म भएको जानकारी गराउँदै उनी भन्छिन् ‘मेरो जातले दिएको र मनले खाएको काम गर्न पाउँदा म निकै खुशी छु ।’ 
      

    सुदुरपश्चिमप्रतिको अगाध माया 

    सुभद्रा आफ्नो कर्मथलो सुदूरपश्चिमलाई असाध्यै माया गर्छिन् । काठमाडौँमा जन्मिएकी उनलाई त्यहाँको जीवनशैली मनपर्छ । सुदूरपश्चिममा विहे गरेर गएपछि उनले त्यहाँ राम्रा कुरा मात्र पाइनन्, धेरै मन विझाउने कुराहरु पनि फेला पारिन् । सुदूरपश्चिम पछाडि परेकोमा उनलाई चिन्ता छ, ‘सुदूुरपश्चिमलाई देशको भागै नमान्ने परिपाटी छ । त्यसैले पनि त्यो क्षेत्र विकासमा पछाडी परेको हो ।’ महिलाहरु अरू समूदायभन्दा पिछडिएको देखेर झन् दया लाग्छ उनलाई । उनीहरूलाई सशक्त बनाउन तालिम दिन थालेको उनको भनाई छ । उनी भन्छिन्, ‘यस्तो कुरा सरकारले नै गर्नुपर्ने हो तर गरेको छैन । ’
     
    काठमाडौँसम्मको ढुवानीमा मुख्य चुनौती  

    सुदूरपश्चिमको उत्पादन काठमाण्डौँसम्म ल्याउन मेहनत र ढुवानी महंगो छ । सुरूमा त गाउँका किसानसम्म पुग्नुप¥यो । अनि ती सामान जिल्ला सदरमुकाम ल्याइन्छ । उनी भन्छिन् ‘सदरमुकामबाट बसपार्कसम्म ल्याउने अनि त्यहाँबाट काठमाडौं ल्याउन निकै महंगो ढुवानी खर्च लाग्छ ।’उनलाई अर्को समस्या भनेको यस्ता सामान प्रशोधनको काम छाँट्ने, केलाउन हो । एक्लै भएकाले पनि यो काम कठिन हुने गरेको उनको अनुभव छ । गाउँबाट ल्याउँदाखेरी नै सामान नकेलाएर आउँछन् । उनी भन्छिन् , ‘यति हुँदाहुँदै पनि यहाँकै मूल्य अनुसार सामान बिक्री गर्छु । सुरुवाती चरण भएकाले उनी अहिले न आम्दानी न घाटा को स्थितिमा छिन् । ‘तर मुख्य कुरा, मलाई सुदूरपश्चिमका रैथाने उत्पादन काठमाडौँलाई चिनाउनु छ ।’ उनी भन्छिन् । गाउँका उत्पादन अझै बजार ल्याउन नसकिएको उनलाई महसुस हुन्छ । यसैमा भविष्य देखेकी उनी ढिलोचाँडो आफ्नो सपना पुरा हुनेमा विश्वस्त छिन् ।

    उद्यम गर्न पढाई नै सबथोक हो जस्तो उनलाई कहिल्यै लागेन । मूल कुरा आफ्नो रहर वा रुचि हो । ‘नयाँ आइडियाको लागि भने पढाई जरुरी छ’ उनी भन्छिन् ‘थोरै भए पनि पढ्न जरुरी छ । केहि गर्ने चाहना छ भने अवसर पनि छ । दुख आयो भनेर हरेश खानु भएन । आजको आजै र भोलिको भोलि नै सम्भव हुँदैन । हामीले धैर्य गरेर काममा लागिराखेमा अवश्य सफल भइन्छ ।’ उद्यम गर्न चाहनेलाई उनको सन्देश छ । काठमाडौंको जयबागेश्वरी जन्मथलो भएकी सुभद्राले रैथाने खानेकारा मार्फत सुदुरपश्चिम र काठमाडौलाई जोडिरहेकी छिन् । रहरबाट थालेको उनको यो कामले पूर्णता पाओस् । 

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij