काठमाडौं । बानेश्वरस्थित ट्याटु हाउस एण्ड सप्लायर्स, युवाहरुलाई शरीरका छालामा ट्याटु खोप्ने स्थल । त्यहाँ भेटिए, भर्खरका युवा त्यो पनि ट्याटु आर्टिस्ट आशिष राई । उनी भर्खर २८ वर्ष पुगे । उनको घर धरान भएपनि यहाँ भने कागेश्वरी न.पा. ४ गोठाटारमा बस्छन् ।
मात्रै २० वर्षको हुँदा उनी धरानबाट काठमाडौं पढन आएका थिए तर सानै उमेरमा साथी संगतमा लागेर ट्याटु खोप्ने काममा उनको झुकाव बढी रह्यो । कलामा बढी रुचि राख्ने आशिष सुरुदेखि नै पेन्टिङ गर्थे । पेन्टिङ गर्दा उनका हातले फोटोमा देखाएजस्तो ठ्याक्कै चित्र उतार्ने भएपछि उनलाई यो ट्याटु खोप्ने क्षेत्रमा आउन खासै समय लागेन । त्यतिबेला उनले स्नातक गर्दै थिए । उनी भन्छन्, 'पढाइका कारण काठमाडौं त आएँ, तर यहाँ आएपछि ट्याटुमै राम्रो कला प्रस्तुत गर्न सकिने भएपछि मेरो पढाई बिचमै छुट्यो । अरुका लागि पढिरहेको महशुस भएपछि मैले पढाई त्यागेँ र व्यवसायमा लागेँ ।'
आशिषका बुवा आमा विदेशमा छन । उनी परिवारको एक्लो छोरा हुन् । उनी भन्छन्, 'बुबा आमाको चाहना मैले अर्कै काम गरोस् भन्ने थियो । तर दुई जना साथीहरुको सहयोगमा म भने ट्याटुका विभिन्न डिजाईनहरु सिक्नेतिर लागेँ ।'
उनले २० वर्षको उमेरदेखि नै ट्याटु कसरी बनाउने भन्ने सिक्दै गए । सिक्दै गएपछि मेसिन समातेर अरुको शरीरमा खोप्ने कामका लागि भने उनले केही समय लिए । हातैले अभ्यास गर्दै गएपछि उनी पोख्त मात्रै भएनन्, आफ्नो आत्मविश्वास बढेपछि उनले व्यवसाय थाले ।
यो काम थाल्दा सानै लगानीबाट सुरु गरे, 'सुरुको लगानी धेरै चाहिँन्न । मेसिनमा लगानी हो । सानो सटरमा ५ देखि ६ लाख लगानीमा यो पेशा गर्न सकिन्छ । मैले पनि सानै लगानीबाट व्यवसाय थालेँ र ट्याटु हाउसको जन्म भयो ।'
उनले यो व्यवसाय गर्न थालेको ७ बर्ष भयो । उनलाई २८ वर्षको उमेरमै राम्रो व्यवसाय गरिरहेकोमा सपना जस्तै लाग्छ, 'विदेश गएर पनि काम नै गर्नुपर्छ, त्यसकारण म नेपालमै बसेर काम गर्न पाउँदा गर्व लाग्छ ।'
उनको यो पेशामा उपयोग हुने ट्याटु खोप्ने मेसिनदेखि यसमा प्रयोग हुने मसीहरु पनि विदेशबाटै आउँछन् । 'मेसिनले खोप्ने देखि लिएर हातले खोप्ने मान्छेहरु मेरैमा आइरहेका छन्' आशिष बताउँछन्, १८ बर्ष माथिका युवाहरु र त्यसमा पनि महिला ग्राहक धेरै छन् । महिलाहरु ट्याटु खोप्दाको पिडा बढी सहन्छन् ।'
उनले टयाटु खोपेर तीन हजार देखि १ लाख सम्म लिने गरेको सुनाउँछन् । यसको मूल्य ट्याटु डिजाइनमा भर पर्छ । उनले ग्राहक संख्याका आधारमा दैनिक बीस देखि तीस हजारसम्म आम्दानी हुन्छ । अविवाहित आशिष, सानै उमेरमा राम्रो व्यवसायमा लागेकाले अरुलाई पनि मेहेनत गरे यहीँ कमाउन सकिने सुझाव दिन्छन् ।


