काठमाडौं । अर्थशास्त्र र अंग्रेजीमा स्नातक गर्दागर्दै संगीत पेशामा घुलेका कमल सुवेदी । संगीतमा साधना र सांगितिक सामानको पसलमा उनी यतिधेरै ध्यानमग्न भए, उनले आफ्नो पढाईमा मन लगाउनै सकेनन् । पोखराबाट २० वर्षका युवक एस एल सी दिएर काठमाण्डौं आएदेखि नै उनले संगीत सम्बन्धि सामानहरुको बिक्रि थाले ।
३८ बर्षीय कमल १६ बर्षको हुँदादेखि संगीत बजाउने गर्दथे । उनको बच्चै देखिको सपना भनेको मंक अर्थात 'भिक्षु' बन्ने योजना थियो । उनको वरपरका व्यक्ति लगायत आफ्नै बुबा पनि योग अनि तपस्यामा लागेकाले त्यसैतर्फ उनको लगाव पनि बढ्यो । उनी भिक्षु बन्दै देशविदेश घुम्न चाहन्थे । तर यसमा पुरै जीवन व्यतित नहुने भएकाले उनको मन संगीतमै फर्कियो ।
अनि समय परिस्थितीले उनलाई नेपाल म्युजिक ग्यालेरीको व्यवसायी बनायो । काठमडाौंको म्हैपीमा बस्ने कमलले संगीत निकाल्ने, आफै बजाउने र बज्ने सामानहरुको बिक्रि गर्न थाले । उनको काम भनेको बिहानीमा कलेज र दिउँसोको समयमा व्यापार नै थियो । उनको दिन यसरी नै वित्न थाल्यो । केही समयमा अर्थशास्त्र विषयमा गरेको स्नातक परीक्षाको नतिजा प्रकाशित भयो । 'तर आर्थिक अवस्थाले मलाई थप पढ्ने वातावरण नै दिएन्', उनी भन्छन्, 'कलेज पढदै गर्दा सानै थिए त्यसकारण पनि राम्रोसंग पढनु पर्छ भन्ने लागेन तर राम्रोसंग पढेको भए व्यापारमा अझ सहयोग हुनेथ्यो भन्ने अनुभूती अहिले गर्दैछु ।'
बुबाको योग र साधना देख्दै हुर्केका कमललाई जीवन जिउनुको प्रेरणा नै दुःख हो जस्तो लाग्छ । २०६२ सालतिरको कुरा हो, उनी साथीसंग विहान १० हजार सापटी लिन्थे अनि साँझसम्म, त्यसबाट फाइदा निकालेर १५ हजार पुग्थ्यो । व्यापारमा कहिले तल कहिले माथि भईहाल्छ । तर सुरुवातमा ऋण नै लिएर व्यापार गरेको कुरा उनी भुल्न सक्दैनन् ।
केही वर्षपछि फेरि उनको व्यापारमा लगानी विस्तार गर्ने सोच आयो । थरि थरिका सामान बिक्रि गर्ने रहर जाग्यो । त्यसका लागि चाहिने पूँजी कमले फेरि पनि सुरुकै दिनजस्तो सापटी लिए । अनि सन २०१० मा औपचारिक रुपमा नेपाल म्युजिक ग्यालरीको जन्म भयो । उनको पसलमा अहिले दैनिक ५० हजारको व्यापार हुन्छ । अहिले उनको नेपाल म्युजिक ग्यालेरीमा उनी लगायत २ जना कामदारहरु छन । पहिला पहिला विदेशीले उनको म्युजिक ग्यालेरीबाट धेरै सामान किन्ने गरेको सुनाउँछन् कमल । तर नेपालमै पर्यटकको कमी भएकाले उनको व्यापारमा सुस्तता छाउनु स्वभाविकै हो । उनको पसलमा परम्परागत सामानहरु छन्, मादल , तबला, गितार , स्टुडियो सामान लगायत संगीतका सबै सामानहरु पाईन्छ । अहिले आधुनिक संगीत र क्लासिक म्युजिकलाई चाहिने सामान पनि उनले राखेका छन् । उनी भन्छन, 'थोरै लगानीबाट शुरु गरेको व्यपार अहिले बिस्तार भएको छ अहिले यही पसल बौद्धमा पनि विस्तार भएको छ ।'
व्यापारीक ग्यालरीसंगैं उनी काठमाडौंमा एकल परिवारलाई चलाउँछन् । उनको परिवारमा उनी लगायत उनकी श्रीमती र एक छोरा अनि एक छोरी छिन् । २० वर्षदेखि एउटै पेशा अंगालेका कमल सुवेदी धेरै सन्तुष्ट छन् । उनी विदेश जान र विदेशमा काम गर्न मन पराउँदैनन् ।
'नेपालमै पनि राम्रो कमाई गर्न सकिन्छ । यदि यहाँको वातावरण र बजारअनुसार व्यवसाय गर्ने हो भने', उनलाई यसो भन्दा निकै आत्मविश्वासी देखिन्छ ।


