काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा महंगीको दर घटेको प्रतिवेदन निकालेको छ । राष्ट्र बैंकले गत मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ महिनाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २ दशमलब ७२ प्रतिशत रहेको देखाएको छ । यो अंक अघिल्लो आर्थिक बर्षको सोही अवधिको तुलनामा झन्डै आधाले कम देखिन्छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मुद्रास्फीती ४ दशमलब १७ प्रतिशत थियो । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति शुन्य दशमलब ५४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलब ९४ प्रतिशतमा कायम रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी दुई समूहको मुद्रास्फीति क्रमशः ५ दशमलब ८५ प्रतिशत र ३ मुद्रास्फीति ०९७ प्रतिशतमा कायम थियो ।
तथ्यांकले नेपाली बजारमा मूल्यको दर घटेको देखाएपछी सरकारले पनि बजार सन्तुलित भएको दाबी गरेको छ ! तर वास्तविक बजारमा भने हिनहूँ मूल्य बढेर उपभोक्ता उच्चा मारमा छन् ! दैनीक उपभोग्य बस्तु उपभोक्ताको हातमा पुग्दा निकै महँगो भएर पुगिरहेको छ !
राष्ट्र बैंकले देखाएको तथ्यांकले मूल्य घटेको देखाइरहँदा, व्यवहारतः आमनागरिकले भने वस्तु र सेवाको मूल्यमा वृद्धि भई महंगी महशुस गरिरहेको बताएका छन् । हामीले सरकारले प्रतिवेदन देखाइरहँदा तपाईँले महंगी घटेको महशुस गर्नुभएको छ भनेर सोधेका छौं । हेरौं उनीहरुको प्रतिक्रिया जस्ताको त्यस्तै :
आम उपभोक्ताले उपभोग गर्नुपर्ने सेवा तथा वस्तु उपभोगमा ‘ढाड सेकिने’ गरी चर्किएको मूल्यवृद्धिको सूचक चाहिँ किन कम देखिन्छ त ? अर्थशास्त्री भन्छन्, 'राष्ट्र बैंकको बजार मूल्याकंन गर्ने विधिमै हेरफेर गर्नुपर्छ ।'
नेपाल राष्ट्र बैंकले हरेक महिना आर्थिक सर्वेक्षणमा मुद्रास्फीति निकाल्ने गर्छ । सो मुद्रास्फीतिले बजारको मूल्य बृद्धि दरको मापन गर्छ । अर्थशास्त्रीय भाषामा सर्वसाधारणले उपभोग गर्ने वस्तु र सेवाहरूको औसत मुद्रास्फीतिको अर्थशास्त्रीय परिभाषाले मुद्रास्फीतिले बजारको मूल्यको मापन गर्नुपर्ने हो । तर, नेपाल राष्ट्र बैंकले हरेक महिना निकाल्ने मुद्रास्फीतिको मापनले बजारको वास्तविकता मापन गर्न नसकेको अर्थशास्त्रीहरू बताउँछन् ।
मुद्रास्फीतिले बजारमूल्य मापन गर्ने हुँदा कम गतिमा भएको मूल्य वृद्धिलाई उपभोक्ताले महसुस गर्नुपर्ने हो । तर, सरकारी तथ्यांकले वास्तविकता महशुस गर्न नसकेको नेपाल राष्ट्र बैंककै अधिकारीहरु बताउँछन् ।
मुद्रास्फीति र मूल्यबृद्धि
अर्थशास्त्रीय परिभाषाअनुसार मुद्रास्फीति नै मूल्यवृद्धि भने होइन । मुद्रास्फीतिले आममानिसले दैनिक तथा आवधिक रूपमा उपभोग गर्ने वस्तु तथा सेवाहरूको औसत मूल्यस्तरमा भएको निरन्तर मूल्यवृद्धिको अवस्था हो । मुद्रास्फीतिले समग्र मूल्यवृद्धिको गतिलाई चित्रण गर्ने गर्छ । बजारमा केही वस्तुको मूल्य घटे पनि वा बढे पनि बजारमा धेरैजसो वस्तु र सेवाको लगातार मूल्यवृद्धि भएको अवस्थालाई मुद्रास्फीति भनिन्छ ।
जस्तै उपभोक्तासँग पैसा बढी भएको बेला मागअनुसारको आपुर्ति नहुँदा पनि मुद्रास्फीति हुन्छ । यस्तो बेलामा पैसाको अवमूल्यन हुन्छ । मुद्रा नै कमजोर हुँदा थोरै वस्तुका लागि धेरै पैसा तिर्नुपर्ने हुन्छ । यसको अर्थ मुद्रा बढेर बजार महँगो हुने नभइ मागअनुसार उत्पादन र आपुर्ति हुन नसकेर पैसा कमजोर बन्न जाने हो । अर्थशास्त्रको सामान्य सिद्दान्तकाअनुसार माग र उत्पादनका आधारमा आपुर्ति हुने गर्छ । अर्थात् माग जति बढ्यो आपुर्ति बढाउनुका लागि उत्पादन पनि बढाउनुपर्छ । तर, यही आपुर्ति उत्पादन कम भएका कारण कम भयो भने मूल्य बृद्धि हुने हो ।
उदाहरणका लागि बजारमा काउलीको आपुर्ति धेरै भएको बेला जताततै काउली हुन्छ । अनि त्यसको मूल्य कम र स्थिर हुन्छ । त्यही काउलीको आपुर्ति घट्न थाल्यो भने माग बढ्न थाल्छ र मूल्य बढ्न जान्छ । यस्तो बेला मूल्य बढ्न जान्छ । मुद्रास्फीतिले निश्चित अवधिमा यही मूल्य बृद्धिको अवस्था जनाउँछ ।
मुद्रास्फीती निकाल्ने विधि
नेपाल राष्ट्र बैंकले आवधिक रूपमा बजारमा नमुना स्थानीय तह छानी पारिवारिक बजेट सर्वेक्षण गर्छ । सो सर्वेक्षणमा बजारमा बढी कारोबार हुने वस्तु र सेवाको छनौट गरिन्छ । त्यसपछि उपभोक्ता मूल्य सूचकांक गणनाका लागि प्रतिनिधिमूलक बजार केन्द्र तोकिन्छन् । पारिवारिक सर्वोक्षणबाट छानिएका बस्तु र सेवाहरूलाई निर्धारित बजार केन्द्रबाट मूल्य संकलन गरी फर्मुलाका आधारमा मुद्रास्फीति निकालिन्छ । फर्मुअनुसार कुनै एक समुहको तोकिएको अवधिको शुरुवाती मूल्यलाई अन्तिम मुल्यबाट घटाइन्छ । उक्त नतिजालाई शुरूवाती मितिले भाग गरी १०० ले गुणा गरी मुद्रास्फीति निकालिन्छ ।
अहिले नेपाल राष्ट्र बैंकले पाँचौं बजेट सर्वेक्षणका आधारमा राष्ट्र बैंकले ४ सय ९६ वटा वस्तु तथा सेवालाई मूल्यांकन गर्छ । उक्त सर्वेक्षणले छनोट गरेका वस्तुमा १ सय ६२ वटा खाद्यवस्तु, १४ वटा पेय पदार्थ र ३ सय २० वटा गैरखाद्यवस्तु राखिएका छन् । यस्तै अहिले २९ वटा ग्रामीण तथा ३१ वटा शहरी गरी ६० बजार केन्द्र तोकिएको छ । छनौटमा परेका बजार केन्द्रहरूबाट साप्ताहिक, मासिक तथा त्रैमासिक रूपमा वस्तु तथा सेवाहरुको मूल्य संकलन गर्ने गरिन्छ ।


