काठमाडौं । म्यानपावरको बदमासीका खाडीमा नेपाली कामदारको दयनीय अवस्था छ । राम्रो र सजिलो काम, राम्रो आम्दानी अनि ओभरटाइमको प्रलोभनमा परी खाडी जाने नेपाली कामदार, विदेश पुगेपछि सम्झौताविपरीत हुने गुनासा धेरै आएका छन् । २८ वर्षका जोन थारु कपिलवस्तु पिप्राका हुन् । उनी आफ्ना दुई दाजुभाइलाई साउदी अरबबाट नेपाल फर्काउने प्रयासमा छन् । ३२ वर्षका दाजु र २४ वर्षका भाइ दुवैजना यतिबेला साउदी अरबको गेट टुगेदर भन्ने सप्लाई कम्पनीमा कार्यरत छन् । उनीहरु दुवै जनालाई बालकुमारीस्थित युनाइटेड इन्टरनेशनल म्यानपावरले साउदीमा रहेको ल्याण्डमार्क सुपरमार्केटमा पठाउने भन्दै कुरा अघि बढ्यो । तर श्रम स्विकृति निकाल्ने बेला अर्कै कम्पनीको नाममा निकालेपछि दुइ दाजुभाइ मे २ तारिखमा साउदी त पुगे तर उनीहरुको बैदेशिक रोजगारीको यात्रा तनावग्रस्त बन्यो ।
जोन थारुका अनुसार दाजुभाइको राहत र उद्धारका लागि वैदेशिक रोजगार विभाग धाएको पनि २० दिन नाघ्यो । ४ लाख ४० हजार लगानी गरी त्यहाँ पुगेका दुई नेपाली कामदार कामको प्रकृति, तलब सुविधा र आराम सवालमा कम्पनीले कडाइ गरेपनि यतिबेला समस्यामा छन् अनि तत्काल नेपाल फर्किन चाहन्छन् । तर उनीहरुको उद्धार तथा राहततर्फ भन्दा पनि रोजगार विभाग म्यानपावरसंग मेलमिलाप गराउन चाहन्छ । किनभने सबै कागजातहरु पूरा गर्दा पनि जोन थारुलाई कागजात नपुगेकाले मेलमिलाप गर्नुस, विभागबाट केही हुन सक्दैन भन्दै कर्मचारी पन्छिन्छन् ।
विदेशमा रहेका नेपालीको हितमा तत्काल गर्नुपर्ने काम कारबाहीकै लागि राहत तथा उद्धार शाखा खोलिए । तर यहाँ यथासक्य छिटो गर्नुपर्ने नेपाली कामदारको उद्धारको काममा ढिलासुस्ती हुन्छ अनि मेलमिलाप गराई म्यानपावर विरुद्धको उजुरी फिर्ता लिन लगाइन्छ ।
जोन थारु, आफ्ना दाजुभाइको उद्धार छिटो होस भन्ने चाहन्छन्, अनि पैसा फसेपनि उनीहरु नेपाल सकुशल आऊन भन्ने चाहना राख्छन् । तर उनको आपतकालिन अवस्थालाई न त म्यानपावरले बुझ्यो न सरकारले ।
जोन थारु जस्तै आफ्नो एकमात्र छोराको उद्धारका लागि काभ्रेबाट राधिका कामी पनि यही शाखा अगाडि निवेदन पेश गर्न आएकी छिन् । उनको एकमात्र छोरा दुबई गएको भर्खर ४ महिना भयो । सप्लाई कम्पनी भनेर त्यहाँ कहिले प्याकेजिंग त कहिले मार्बल कम्पनीको कामदार भएर उनलाई काम गर्न बाध्य बनाइयो । आमा राधिका भन्छिन्, म्यानपावरले ८ घण्टा काम गरेवापत १२ सय दिराम दिने भन्दै भिसा दिलायो, तर ९ सय दिराम पनि पूरा आउँदैन । कम्पनी परिवर्तन भइरहँदा उनको छोराको श्रमको ज्ञारेन्टी नहुने, ज्यान जोखिममा पर्ने र तोकिएको तलब सुविधा नपाउने भन्दै छोराको उद्धारका लागि उनी यहाँका म्यानपावर नधाएको दिन छैन । तर हरेक पटक उनले एउटै भनाइ सुन्नुपर्छ, 'जति खर्च त्यहाँ जान लाग्यो, त्यति नै म्यानपावरलाई बुझाउनुस् अनि कामदार फिर्ता बोलाउँला ।'
८ घण्टा काम, अतिरिक्त समयको ओभरटाइम आम्दानी र खाना खर्च कम्पनीले बेहोर्ने भन्दै थुप्रै नेपाली कामदार खाडी जान्छन् तर त्यहाँ पुगेपछि कम्पनीसंग भएको सम्झौतापत्र कागजका खोस्टा बन्छन् । उनीहरुले दिएकै तलब र नियममा बाँधिएर काम गर्न बाध्य पारिन्छ । जहाँ गर या मरको अवस्था सिर्जना गरिन्छ । यही बिचल्लीबाट बल्लतल्ल नेपाल फर्किएका चार मुस्लिम कामदार भने म्यानपावरबाट क्षतिपूर्ति खोज्दैछन् ।
रौतहट २ कनकपुरका आर्माेला मियाँ, अरु तीन साथीसंग यही जुन २ तारिखका दिन दुबइ गएका थिए, मस्जिद सरसफाइ कामदारको भिसा लिएर । उनले मस्जिद सफाइ गरेवापत ८ सय तलब र ५ सय खानाभत्ता गरी कुल १३ सय दिराम दिने श्रम सम्झौता थियो ।तर दुबइको कम्पनी पुगेपछि ४ सय तलब र ४ सय खाना खर्च दिइने मौखिक कुरा गरियो अनि कामको अवधि पनि १५ घण्टा तोकियो । आर्माेला मियाँ भन्छन्, '८ सय भन्दा बढी तलब नदिने भने । कम्पनीसंग कुरा नमिल्दा हामी भोकै बस्यौं दुईदिनसम्म । अनि जे सुकै गर भनेर हामीलाई पछि पासपोर्ट दिए ।'
आर्मोलासंगै जाने बारा पचरौताका हुँदा अन्सारी र सोभराती मियाँराखी पनि त्यही कम्पनीमा एउटै भिसा लिएर गए । तर कम्पनीमा पुग्ने बित्तिकै उनीहरुको कमाउने सपना धुमिलियो र भविष्य नै अन्धकार जस्तै भयो । म्यानपावरलाई आफ्ना दुखेसो पोख्दा राहतको सट्टा गालीगलौज पाउँछन् । आफ्नो पिडा पोख्दै हुँदा अन्सारी भन्छन्, 'अढाइ लाखको लगानी थियो । म्यानपावर र एजेन्टले भन्या जस्तो विदेशमा भएन ।' उनीसंगै गएका सोभराती मियाँराखी कम्पनीको क्रुरतालाई यसरी बयान गर्छन्, 'कम्पनी बाहिर बसेको भएको भएर हामी नेपाल फर्किन सक्यौं। नभए कहाँ दिन्थ्यो कम्पनीले नेपाल फर्किन । २ लाख दिएपछि फिर्ता बोलाउँछौं भन्छन् म्यानपावर । अब मर्ने पनि दुबईमै हो भन्छन् ।'
सामाखुसीको अलि ओभरसिज म्यानपावरलाई साढे २ लाख तिरेर उनीहरु दुबइ गए । कम्पनीसंग कुरा नमिलेपछि उनीहरु आफ्नै खर्चमा जुन १३ तारिखमा नेपाल आए । यसरी ११ दिन दुबईमा बिताउँदाको सकस उनीहरु स्मरण गर्न पनि चाहँदैन् । बैदेशिक रोजगारीमा जाँदा म्यानपावरले गर्ने धोकाधडीको यी जल्दोबल्दो उदाहरण हुन् । उनीहरु जस्तै अन्य कैयौं नेपाली कामदार र उनका परिवार, बैदेशिक रोजगारका सिलसिलामा ठगी, स्वास्थ्य जोखिम, दुव्र्यवहार, मानसिक दबाब खेप्नैपर्ने अवस्थामा पुग्छन् । यसबारे बैदेशिक रोजगार विभाग पनि अनभिज्ञ छैन । यस्तो घटनामा के गर्नुहुन्छ भन्ने प्रश्नमा विभागका निर्देशक तथा सह प्रवक्ता उपेन्द्रराज पौडेल भन्छन्,'हामीले म्यानपावर र पिडितलाई राखेर मेलमिलाप गर्ने हो, क्षतिपूर्ति दिन लगाउँछौं । फ्रि भिसा र फ्रि टिकट कार्यान्वयन त फिलतो भएकै हो । अन्य गुनासामा विभागले काम गरिनै रहेको छ ।'
बिचल्लीमा परेका कामदारको उद्धारमा विभाग यथाशिघ्र खट्नुपर्ने हो ।तर सहजीकरणको नाममा विभागबाट ढिलासुस्ती भन्दा अरु केही हुन्न ।


