काठमाडौं । ऐतिहासिकता, शिल्प र परम्पराको पर्याय मानिने भक्तपुर जिल्लाको वडा ४ स्थित प्रजापति टोलका गणेश कुमार प्रजापतिको हात माटोमा एकोहोरो चलबलाइरहेका छन् । फनफनी घुमिरहनेमा सानो डल्लो माटोलाई विस्तारै दुई हातले आकार दिँदैछन् उनी । उनी यतिबेला माटोको खुत्रुके बनाउँदै छन् ।
सानै बेला आफ्नै बाले गरेको काम हेर्दाहेर्दै उनी हुर्के । बालखैमा उनले सानो माटोको डल्लालाई फनफनी घुमाउँदै विभिन्न भाँडोको आकारमा ढाल्दै जाँदा निकै रमाउँथे । बुबाको हस्तकला हेर्दाहेर्दै उनले पनि यो सिप सिके । प्रजापतिलाई अहिले दिनमा १५० वटा खुत्रुके बनाउन कत्ति पनि गाह्रो लाग्दैन । कुशल कुमालेको परिचय बनाइसकेका गणेशलाई यो पेशा मात्रै होइन् आफ्नै जीवनको आत्मा जस्तै लाग्छ । दिनमा एकचोटी माटो खेल्न नपाउँदा उनलाई पुरै दिन नै खल्लो लाग्ने बताउँछन् ।
पहिला पहिला खाना पकाउने समेत माटोको भाँडोमा गरेको स्मरण उनलाई छ । माटोको भाडा अधिकांश प्रयोग गर्दै आएका गणेशलाई अहिले आएका प्लाष्टिक लगायतका भाडाले आफ्नो परम्परागत पेशा जोखिममा परेकोमा चिन्ता लाग्छ । उनको एक खुत्रुकेको होलसेल मुल्य ३० देखि ३५ पर्छ । उनले माटोको भाँडा बेचेर महिनामा ४० हजारसम्म कमाउँछन् । एक दशक अघिसम्म यी भाँडा बनाउनका लागि यहीँ माटो उपलब्ध हुन्थ्यो तर अहिले उनले भाँडा बनाउने माटो किन्न पर्छ । जसले गर्दा उनको लागत बढेको छ । एक केजी माटोको ५० रुपैया उनले तिर्छन् भने एक केजीबाट १५ वटा खुत्रुके निकाल्छन् । “पहिले १ रुपैयाँमा खुत्रुके बन्थ्यो, अहिले माटो, इन्धन सबै महँगो भयो,“ उनी सुनाउँछन्।
माटो किन्न परेकाले उनको फाइदा घटेको छ । तर फाइदा नभएता पनि आफ्नो परम्परागत हस्तकला र सांस्कृतिक पहिचान त्यागेर अन्य पेशामा लाग्न उनको आत्मालाई स्विकार्य छैन । उनी आफ्ना छोराछोरीले पनि यही पेशालाई निरन्तरता दिइँ संस्कृति जगेर्ना गरिदिए हुन्थ्यो भन्ने सोच राख्छन् । बजारमा छ्याप्छ्याप्ती पाइने प्लाष्टिकका भाँडाले आफ्नो पेशामा असर परेको उनी सुनाउँछन् । तर पनि आफ्ना पुराना ग्राहक, माटाकै भाँडा किन्न प्रजापति टोलसम्म आउने अनुभव उनको छ ।
पाँच कक्षासम्म पढेका गणेश दिन बिहान ७ बजेतिर सुरु हुन्छ। माटो मिसाउने, घुमाउने चाकमा आकार दिने, घाममा सुकाउने, र पकाउने – यी सबै काम उनको दैनिकीको अभिन्न हिस्सा हुन्। साँझ ६–७ बजेसम्म उनी यही कार्यमा तल्लिन रहन्छन्। उनलाई आफ्नै घरवरपर सिमित भएको दिनचर्चामा आनन्द र खुसी लाग्छ । तर परिवर्तनका नाममा आएको अनेक चलनका कारण गणेशको कुरा गर्दा एउटा स्पष्ट पीडा झल्किन्छ । खाना पकाउने भाँडा, फुल सजाउने गमला, पानी भर्ने गाग्री, सुरइ, अन्य सजावटका सामानको प्रयोग गर्ने चलन हराउँदै गएका छन्, यसको स्थान आधुनिकता र सस्तो विकल्पले ओगटेको छ । पुर्खाले दिएको पेशा लोप हुने जोखिमको अनुमान उनले गरिसके । अनि उनलाई लाग्ने एउटै चिन्ता हो, पछि गएर आफ्नो पहिचान नै गुम्ने त होइन् ?


