काठमाडौं । आज विश्व वातावरण दिवस, प्रत्येक वर्ष जून ५ का दिन विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस नेपालमा पनि मनाइएको छ ।
वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यले सन् १९७२ को ५ देखि १६ जूनसम्म संयुक्त राष्ट्रको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी ५ जून १९७३ मा पहिलो पटक विश्व वातावरण दिवस मनाउन शुरू गरिएको हो ।
यस वर्ष संयुक्त राष्ट्रसंघले तय गरेको विश्व वातावरण दिवसको नारा विट प्लाष्टिक पोलुसन अर्थात ‘प्लाष्टिक प्रदूषणलाई हराउनुहोस्’ रहेको छ । नेपालमा भने ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ भन्ने नारा तय गरिएको छ । प्लाष्टिक र प्लाष्टिकजन्य सामानको प्रयोग उचित तवरले गर्न नजान्दा हुने प्लाष्टिक प्रदुषण र यसबाट वातावरणलाई पुग्ने असरबारे चेतना दिने लक्ष्य यो दिवसले राखेको छ ।
प्लाष्टिक प्रदुषणलाई कम गर्न प्लाष्टिकको प्रयोगलाई कम गर्ने, पुनः प्रयोग र पुनर्विचार गर्ने तरिकाहरुलाई प्रोत्साहित गर्ने लक्ष्य पनि राखिएको छ । संयुक्त राष्ट्रसंघ वातावरण कार्यक्रमका अनुसार विश्वभर हरेक वर्ष ४० करोड टनभन्दा बढी प्लाष्टिक उत्पादन हुन्छ, जसमध्ये आधा एक पटक मात्र प्रयोग गर्न डिजाइन गरिएको हुन्छ । त्यसमध्ये १० प्रतिशतभन्दा कम फेरि प्रयोग गर्न मिल्ने खालका छन् ।
प्लाष्टिकबाट हुने प्रदुषणको कुरा गर्नु पर्दा प्लाष्टिक टुक्रिएर माइक्रो प्लाष्टिकमा रूपान्तरित हुँदा वातावरण प्रदूषित हुने, प्लाष्टिकमा अल्झेर जलचरको मृत्यु हुने, प्लाष्टिक टुक्रिएर हरितगृह ग्यास उत्सर्जन गर्ने, प्लाष्टिक बाल्दा विषालु ग्यास उत्सर्जित हुने जस्ता गम्भीर असरले वातारण प्रदुषित हुन्छ ।
वातावरणमा मात्रै नभइ प्लाष्टिकको बोतल र कन्टेनरको प्रयोगले क्यान्सरको जोखिम पनि बढ्छ । यही विषयमा सचेतना जगाउन मनाइने विश्व वातावरण दिवसका अवसरमा हामीले दिवसको औचित्य र व्यवहारमा कार्यान्वयनका चुनौतीबारे आमनागरिकको धारणा लिएका छौं । हेरौं उनीहरुको धारणा जस्ताको त्यस्तै


