Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

'मागेरै राज्यलाई कर तिर्छु'

'मागेरै राज्यलाई कर तिर्छु'

'धर्म गर्नेले आचरण पनि सुधारोस् ।'

सोमबार, जेठ ५ २०८२
सोमबार, जेठ ५ २०८२
  • काठमाडौं । शिव अर्थात नाम जस्तै सादा पोसाकका सन्त । गेरु वस्त्र, लामो फुलेका दाह्री अनि कपाल । महोत्तरी जिल्लाको औरही नगरपालिकामा जन्मिएका उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीका छिमेकी हुन् । दुई छिमेकीमध्ये एक सन्त छन् त एक देश हाँक्ने मन्त्री । 

    images


    यी शिव सन्तको उमेर ७२ वर्ष भयो, उनका अधिकांश समय साधारण खानपान, ध्यान, पूजा अराधनामै बिते । उनी महोत्तरीमा रहँदा ज्याला मजदुरी गर्थे । धान रोप्ने समयमा खेताला बन्थे भने कसैको भारी बोक्न पनि पछि हट्दैनथे । उनले आफनो परिवार पाल्न आफ्नो श्रमको भरपुर प्रयोग गर्थे । यद्यपि पेट पाल्नकै लागि ज्यालामजदुरीले नपुगेर बाध्यताले उनलाई काठमाडौंसम्म डो¥यायो । उनी काठमाडौंमा प्रवेश गरेपछि सन्तकै पोशाकमा विभिन्न मठमन्दिरमा दश वर्ष विताएपछि भने थापाथलीको सुकुम्वासी बस्तीमा आएर बसेको पनि दश वर्ष नै भयो ।
    पहिलो चोटी काठमाडौंमा उनी फलफूल बेच्नकै लागि भनेर आएका थिए । उनी सम्झन्छन्, 'त्यति बेला त म काठमाडौं आउँदा ७० रुपैयाँमा आउने गर्थे।' उनको सम्झना अनुसार थापाथलीमा रहेको काठमाडौं र ललितपुर जोड्ने पक्की पुलको ठाउँमा पहिला काठको पुल थियो वारिपारि गर्नका लागि । 


    उनी फलफूल बेचेर खासै कमाउन नसकेकै कारण गेरु वस्त्र लगाएर काठमाडौंको टेकुस्थित राममन्दिरमा भक्तजनसंग सक्दो सहयोग माग्न बसे ।  उनलाई किन गाउँ छोडेर आउनु भएको भनेर सोद्धा उनले भने, 'गाउँमा कमाई हुदैन, यहाँ त दिन भरी गएर मन्दिर को छेउमा बस्दा पनि तीन चार सय कमाउन सकिन्छ ।' उनी त्यहाँबाट अहिले थापाथलीको सुकुम्वासी बस्तीमा आफ्नी नातिनीको टहरामा बस्छन् । उनका दुई भाइ छोरा छन् । एक छोरा महोत्तरीमै ज्यालामजदुरी गर्छन् भने अर्का छोरा उनीसंगै सुकुम्वासी बस्तीमा आश्रय लिइरहेका छन् । उनको श्रीमती भने कोरोना लागेको एक वर्षपछि बितिन् । मठमन्दिरबाट मागेर ल्याएको अन्न र पैसाले उनलाई आफ्नो ज्यान पाल्न हम्मे पर्छ । दम र प्रेसरका रोगी उनलाई दिनहुँ जसो औषधि किनेरै खानुपर्छ । यता आफ्नै औषधिउपचारको खर्च जोहो गर्दै छोराका बालबच्चाको पालनपोषणको जिम्मा पनि उनकै काँधमा छ । 

    'माग्न बस्दा पनि पैसा तिरेर बस्नु पर्छ, महिनामा ३५०० तिर्नु पर्छ गाह्रो हुन्छ, बसेको ठाउँमा पैसा उठाउन आउँछन्,' उनले भने। हुन त उनले ज्येष्ठ नागरिकको भत्ता खाने उमेर पार गरिसके । तर त्यही भत्ता लिन पनि उनलाई सकस नै छ । वृद्ध भत्ता लिन तीन महिनामा  उनी महोत्तरी जान्छन् ।  भत्ता आएको पैसा के गर्नु हुन्छ भन्दा उनले भने 'आफुलाई इच्छा लागेको कुरा किन्छु, आफ्नु बानी राम्रो छ भने जहाँ बस्दा पनि राम्रो हुन्छ बानी नराम्रो छ भने जहाँ बसे पनि राम्रो हुन्न ।'


    उनी बच्चैबेलादेखि शाकाहारी हुन् तर उनको परिवारका सदस्यमध्ये कान्छो छोराको आचरणका कारण उनलाई धेरै तनाव छ । ' मेरो कान्छो छोरालाई नी अहिलेसम्म मैले नै सेवा गरिरहेको छु, अहिले सम्म नी जिम्बेवार बन्न सकेको छैन, रक्सी खान्छ अनि दिनभर भुइँमा सुत्छ' , उनले दुःख पोख्दै भने। अहिलेका युवापुस्ताका बारेमा उनी गहिरो धारणा पोख्दै भन्छन्, 'अहिले ९० प्रतिशत मान्छे घाँटीमा माला लगाउँछन् निदारमा टीका लगाउँछन् र मासु पनि खाँदै हिड्छन् । धार्मिक विश्वासमा बस्ने तर आचरण भने सुधार गर्न नसक्नेहरुले के धर्म गर्नु ?' उनको यो प्रश्न जायज छ ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij