प्रेम ताडी, कैलाली । ७० वर्षका जगत बहादुर बिकले जति उमेर बढ्दै गयो उत्ति नै युवा जोस देखाउँँदै गएका छन् । पुस्ताहरूले नै गरेको आरन पेसाको साख जोगाउँदै जगत अहिले पनि आरनमा रमाइरहेका छन् । उनी कैलालीको गौरीगङ्गा नगरपालिका ९ का स्थानीय बासिन्दा हुन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको घोडाघोडी नगरपालिका ५, डोके बजारको छेवैमा सानो टहरोमा विगत ४ वर्षदेखि आरन पेसालाई अगाडि बढाइरहेका छन् ।
कैलालीको चर्को गर्मी होस् या हिउँदको चिसो शीत लहर नै किन नहोस्, त्यही सानो खुल्ला टहरोमा फलामका भाँडा बनाउने र भाँडामा धार लगाउने काममा व्यस्त रहन्छन् ।
आरन नेपालको परम्परागत औद्योगिक भट्टी हो। आफ्नो जिन्दगीको ५९ वर्ष यही आरन पेसामा बिताएका जगतको जिन्दगी हेर्दा साधारण छ तर त्यही पेसामा निकै खुसी देखिन्छन् । जन्मेको ११ वर्षदेखि भाँडामा आरन लगाउन थाल्नु भएको बताउँछन् उनी । सुरुवातमा अरुले काम गरेको हेरेर नै सिकेका उनले हँसिया, बन्चरो लगायतका भाँडाहरुमा धार लगाउँछन् । पेसा उही भएपनि ज्याला लिने स्वरुप भने पहिलेको भन्दा फेरिएको छ ।
विगतमा अन्नसँग परिश्रम साट्ने जगत अचेल भने पैसा लिने गर्दछन् । ‘पहिले त भाँडामा धार लगाएपछि अन्न लिन्थ्यौँ, वर्षभरिमा गहुँ, मकै, धान र कोदो दिन्थे,’ जगत भन्छन्, ‘तर अचेल आफ्नै गाउँका मान्छे, आफन्तै भएपछि अझै पनि अन्न लिन्छु, टाढाका मान्छेसँग भने पैसा लिन्छु ।’
उहिले नै जात अनुसारले गर्ने काम छुट्ट्याई दिएपछि हरेक जातजातिले हर काम गर्न थालेको पनि उनी बताउँछन् । त्यसै कारण आफूहरूका पुस्ताले भाँडा बनाउने र धार लगाउने काम पाएका उनले बताए । त्यसैलाई मुख्य पेसा मानेर काम गर्दै गए । हाल भने यस्तो बाध्यकारी छैन् । जसले जे जान्यो त्यही काम गर्ने प्रचलन रहेको छ । पुर्खाको पेसालाई अँगाल्दै आएका जगत नयाँ पुस्ता भने यस काममा लाग्न राम्रो नमान्ने बताउँछन् । ‘अहिलेका मान्छेहरू त बरु भारत गएर काम गर्न ठिक मान्छन् तर, यस्तो काम गर्न राम्रो मान्दैनन्,’ उनी भन्छन्, ‘आफ्नो काम भनेको आफ्नै हो, यसमै आनन्द हुन्छ तर नयाँ पुस्ता त्यस्तो सोच्दैनन् ।’
कैलालीको घोडाघोडीमा पूर्वपश्चिम राजमार्गको छेवैमा विगत ४ वर्षदेखि आरन पेसा गर्दै आएका जगतको हालको घर गौरीगङ्गा नगरपालिका भएपनि पुर्ख्यौली घर भने डोटीको बडीकेदार गाउँपालिका वडा नं ४ नुवाकोट रहेको उनी बताउँछन् । देशमा माओवादीहरूले १० वर्षे जनयुद्धको सुरुवात गरेपछि जगत कैलाली झरेका थिए । ‘माओवादीले घरमा एक छोरा भए पनि दुई छोरा भए पनि पार्टीमा लग्ने भनेका थिए, मेरो एउटा मात्रै छोरा थियो,’ जगतले भने, ‘एउटै छोरा पनि गयो र केही भयो भने के गर्नु, छोराले पनि मलाई भारत पठाइदिनु भनेपछि भारत पुर्याए । अनि आफूहरू विस्तारै कैलाली आयौँ ।’
गाउँमा धेरै छुवाछुत थियो माओवादीहरूले त्यसको त अलिअलि भएपनि अन्त्य गरिदिए,’ उनी भन्छन्, ‘केही मात्रामा छुवाछुत कम भएपनि अझै पनि कतै कतै त दलित भनेर हेला गर्छन् ।’
गाउँलेको नराम्रो व्यवहारले त्यो ठाउँ छोडेर आएको उनी सम्झन्छन् । तत्कालीन समयमा त्यो ठाउँ निकै दुर्गम थियो । डोटीबाट कैलाली झरे पनि तराईको भन्दा पहाडमै हर कुराको सहजता हुने गरेको उनी बताउँछन् । तराईमा उकालो ओरालो हिँड्न नपर्ने सहजता भएपनि पहाडका जस्तो हर कुराको आनन्द यहाँ नभएको उनको भोगाइ छ ।
पुर्खाले गर्दै आएको र आफूले पनि बालखैदेखि गर्दै आएको पेसा भने जगतले अहिलेसम्म जोगाई राखेका छन् । त्यही पेसासँग उनको प्रेम छ । आनन्द छ । घर परिवारको गुजारा पनि उनले त्यसैबाट गर्दै आएका छन् । यो काम गर्दा उनको गोजी खाली हुनु परेको छैन् । ‘पहिलेको जति गर्न नसके पनि हल्का कम भएपनि गर्न सक्छु, कसैको मुख ताक्नु पर्दैन,’ जगत भन्छन्, ‘यो काम गरिरह्यो भने गोजीमा सँधै पैसा भइरहन्छ । यो काम जहिलेसम्म सकिन्छ, त्यहीँलेसम्म गर्छु, छोड्दैन ।’


