Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

प्रेसर कुकर कफिको स्वादमा नयाँ सोच घोल्छन् विजय

प्रेसर कुकर कफिको स्वादमा नयाँ सोच घोल्छन् विजय

चिया कफि पारखीहरूका लागि नौलो स्वाद, विशेष तरिकाले पकाइएको कफि, जुन परम्परागत स्टीम प्रेसर कुकरमै तयार हुन्छ।

सोमबार, वैशाख २२ २०८२
सोमबार, वैशाख २२ २०८२
  •  

    images

    काठमाडौं । टोखा नगरपालिका ४, ग्राण्डी अस्पतालतर्फ उकालो लाग्दा, बिगमार्टको छेउमा एउटा अनौठो चिया पसल देखिन्छ। जुन हो चिया लाउन्ज ।

    टिनको छानामुनी बनेको यो सानो टहरो झट्ट हेर्दा कुनै आर्ट ग्यालरीजस्तो लाग्छ भित्ताभर रंगीन चित्रहरू, भित्ते लेखन, अनि भित्र पस्दा चिया र कफिको गन्धले मुटु समाउँछ। पसलभित्र चेस, क्यारेमबोर्ड, लुडो राखिएको छ भने कुनाकाप्चामा नेपाली र अंग्रेजी पुस्तकहरू सजिएका छन्। तर यहाँको मुख्य आकर्षण भनेको पे्रसर कुकर कफि हो। चिया कफि पारखीहरूका लागि नौलो स्वाद, विशेष तरिकाले पकाइएको कफि, जुन परम्परागत स्टीम प्रेसर कुकरमै तयार हुन्छ।

    यो चिया पसलका सञ्चालक हुन्, २४ वर्षे विजय बस्नेत, उनी सिन्धुपाल्चोकका बासिन्दा हुन् ।  उनले चार महिनाअघि मात्र यो पसल थालेका हुन्, तर अहिले बिहान बेलुका युवायुवतीहरूको भिड लाग्ने गर्दछ। विशेषगरी बिहान कलेजतिर दौडिने विद्यार्थीहरू विजयको पसलमा केहीबेर टेको लगाएर चिया पिउँछन्, गफिन्छन् अनि उर्जा लिएर अघि बढ्छन्। विजय भन्छन्, 'अहिले दैनिक डेढ सयदेखि दुई सय कप चिया कफि बिक्रि हुन्छ। प्राय सबैले यहाको मसला चिया र प्रेसर कुकर कफिको तारिफ गरेर जान्छन्, धेरै त फर्कीफर्की आउने गर्छन् ।'

    विजयको यो चिया पसल सजिलोसँग खुलेको भने होइन। उनी पहिले ललितपुरमा बारिस्टा तालिम लिइरहेका थिए, त्यसपछि आफ्नै मामाको कमलपोखरीस्थित पसलमा हेडकुक भएर  काम गरे। त्यही कामले उनलाई आत्मविश्वास दियो 'अब त आफूले पनि सकिन्छ भन्ने सोच पलायो। मामाकै पसलमा कमाएको, अलिकति जम्मा गरेको, अनि साथीभाइ र आफन्तबाट ऋण लिएको पैसाबाट जम्मा १४ लाख लगानी गरेर यो पसल सुरु गरे। सुरुमा डर लाग्थ्यो, तर अहिले त्यो डर उत्साहमा बदलिएको छ।'

    उनी भन्छन्, आजकाल धेरैजसो साथीहरूले पढाई सकेपछि अब विदेश जानुपर्छ भन्छन्। तर मलाई लाग्छ नेपालमै काम गर्न सकिन्छ, पैसा कमाउन सकिन्छ, सम्मानित जीवन बाँच्न सकिन्छ। मेहनत गर्नुपर्छ, धैर्य राख्नुपर्छ।उनका लागि विदेशको सपना होइन, आफ्नै देशमा केही गरौं भन्ने भावना प्राथमिक हो।

    घरमा विजय एक्ला छोरा हुन्। बुबा बोनम्यारो रोगका बिरामी छन्, आमाले बुबाको स्याहार गरिरहेकी छन्। यस्तो परिस्थितिमा परिवारको भार पनि विजयकै काँधमा छ। तर उनले हार मानेका छैनन्। बरु उनी यही पसललाई अझ विस्तार गर्ने सोचमा छन् भविष्यमा शाखा खोल्ने, नयाँ स्वादहरू थप्ने, र चिया पसललाई युवाहरूको सिर्जनात्मक थलो बनाउने सपना देखिरहेका छन्।

    उनको पसलको एउटा कुनामा टाँसिएको सानो कागजमा लेखिएको छ, “चिया केवल स्वाद होइन, सोच हो”। हो, विजयको प्रेसर कुकर कफिमा स्वाद मात्रै होइन, भविष्य बगिरहेको छ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij