काठमाडौं । हरियो कपडाको नातो, हरियै नौगेडी, सादा निलो पछ््यौरा ओढेकी अनि दुःखका कुरा गर्दा पनि ओठमा मुस्कान सजाउने आमा, टकमाया पनेरु ।
गोरखा जिल्लाको मसिलमा जन्मेका टकमायालाई माइती र घरका दुःख उस्तै लाग्छ । उमेर सानै छँदा आमाको मृत्युले घरको धन्दामा उतिबेलै निपूर्ण बनाइदियो । घरका कामकाज सिक्दै नै थिइन् उनको विवाह पाँच वर्षमै भयो त्यो पनि माइतीबाट नजिकै घ्याम्पेसालबासीसंग ।
७७ वर्षकी टकमायालाई त कसले अन्माए भन्ने सम्झना पनि छैन । सँधै हासिरहने टकमायालाई के भयो भन्नेसम्म जानकारी थिएन रे । तर उनलाई माइती र घर भन्ने शब्द चिनाइयो र उनको अस्तित्वको दायरा तय गरियो ।
उनी अनुमान गर्छिन् ‘बालखैमा बिहे भएकाले कसैले कामै त अह्राएनन् तर घाँस काट्ने कामहरु लगाए होलान् ।’ १२ वर्ष भएपछि भने आफूलाई चेतना भएको उनी सम्झन्छिन्, ‘श्रीमानसंग बोल्दै बोल्दैनथेँ, लाज लाग्थ्यो । केटाकेटी मान्छेलाई आफ्नै तरिकामा रमाउने भन्ने नै थिएन त्यत्तिबेला । छोरी मान्छेलाई एक्लै कहिँ पठाउँदैनथ्यो । ’
आफ्नै श्रीमानसंग बोल्न नसक्नु, एक्लै कतै जाने अवस्था नहुनु, रमाइलो के हो भन्ने थाहै नभएको सम्झँदा अहिले उनलाई आत्मग्लानी हुँदो हो । अहिले आफ्ना छोरी र नातीनातिनीको पुस्ता देख्दा अहिलेको जमाना नै रमाइलो लाग्छ उनलाई । ‘त्यत्तिबेला एक्लै छोरी मान्छे कहाँ जाने भनेर सोध्थे । बुहारी भएर चेपेर बस्नु पर्दथ्यो । छोरी जातलाई दबाइन्थ्यो । यो कुरा अलि उमेर गएपछि थाहा पाएँ ’ भेदभावका कुरा पनि हाँसेरै सुनाउने टकमायामा त्यतिबेला विरोध गर्ने अाँट कहिल्यै आएन ।
घरायसी ंसंघर्ष त छँदै थियो, दाम्पत्य जीवनमा पनि उतारचढाव भोगिनै रहिन् उनले । आफ्नो दुई छोरी जन्मेपछि श्रीमानले दोस्रो बिहे गरे । सौतालाई एउटै घर र परिवारमा समावेश गराइँदा कस्तो लागेको थियो भन्ने वर्णन उनी गर्ने अवस्थामा छैनन् । न त समर्थन न त विरोध । भावना जस्तोसुकै होस उनको व्यवहारमा केही फरक थिएन । किनभने जीवनको पूर्वार्धमा उनले यो उतारचढावलाई पनि मुस्कानमै बिलय गराइसकेकी थिइन् । उनले यो मुस्कानलाई हराउन दिइनन् ओठमा सँधै सजाएरै राखिन्, जीवनमा केही नभएको जस्तै गरी । उनी भन्छिन् ‘उफ्रिएर जान भएन, थचारिएर मर्न नी भएन, झगडा नी गरिन् कसैसंग ।’
एकातिर श्रीमानबाट एक्लिएकी उनी, अर्कोतिर अपाङ्ग छोरीलाई हुर्काउने, बढाउने कामले बाँधिएकी थिइन् । मनको बह पोख्ने ठाउँ पनि नपाएकी टकमायाले सबै कुरा सहिन् । सायद श्रीमानको मायाले नै हो उनले दोश्रो विवाह गर्नेलाई मुद्दा हाल्ने आँट नगरेको ।
जस्तोसुकै परिस्थिति भएपनि बाँच्नुपर्ने रहेछ भन्ने लागेका टकमायालाई विकासका कुराहरुले रमाइलो महसुस गराउथ्यो । काशी जाने बेलामा पहिलो चोटी गाडी देखेर उनलाई निकै खुसी लाग्यो । आकाशमा उडेको हवाइजहाज, आँखाको दृष्टिले भ्याउने बेलासम्म उनी हेर्थिन् ।
यसरी नै मन भुलाएकी उनलाई निर्वाचनमा भोट हालेको सम्झना छ तर कसलाई हालँे भन्ने कुरा भने बिर्सिसकिन् ।आगो भुक्ने, दाउरा खोज्ने, भैसी पाल्ने, घाँस काट्ने काममा अभ्यस्त टकमाया यतिबेला श्रीमान बितेको बरखी बारिरहेकी छिन् । मनमा दुःख भएपनि यसलाई पनि जीवनकै एक पाटोकै रुपमा लिन्छिन् । घटना परिघटनालाई सहजै लिने टकमायाको कथाले अहिलेका पुस्ताले सामान्य कुरामा विचलित नभइ जीवनलाई जिउने पाठ सिकाएको छ । संघर्ष र दुःखमा हार नमानीकन अगाडि बढ्न प्रेरित गरेको छ ।


