काठमाडौं । कागेश्वरी नगरपालिका ६, बाबा चोकस्थित आफ्नै घरको दुईवटा सटरमा कपडा पसल संचालन गर्दै आएकी ३५ वर्षीया निर्मला संजेल । उनी महिला उद्यमीको संघर्ष र सफलताको कथा बोकेको एक प्रतिनिधि पात्र हुन् ।
१४ वर्षअघि जम्मा चार लाख रुपैयाँबाट सुरु भएको उनको सानो व्यवसाय आज ७० लाखभन्दा बढीको पूँजीमा फैलिएको छ। उनले न त ठूला पदका सपनाहरू देखिन्, न त बिदेश जाने रहर नै पालिन् तर आत्मनिर्भरताको बलियो अठोट लिएर अघि बढिन् । कक्षा १२ सम्मको पढाइ सकेकी निर्मला रेडिमेड कपडा पसलमा राम्ररी जमेकी छिन् । यो व्यवसाय अगाडि उनले सौन्दर्य सामानको व्यापार गरेकी थिइन् । यसमा भविष्य नदेखेपछि उनले कपडा पसलमा हात हालेकी हुन् ।
निर्मलाको बाल्यकाल काठमाडौंको काँडाघारीमा बित्यो। विवाहपछि उनले आफ्नै पुँजीमा व्यवसाय थालनी गरिन् । ओखलढुंगाका श्रीमानसंग मिलेर व्यवसाय सुरु त गरिन् तर सुरुका दिनमा लगानीबाट राम्रो प्रतिफल नआएपछि उनका श्रीमान विदेशतिर श्रमका लागि लागे । बिदेशबाट साढे ४ बर्ष पछी फेरि नेपाल नै फर्के , विदेशको कष्ट र कडा परिश्रम भोगेर । तर निर्मलाको विचार थियो, '३५ हजार कमाउन किन बिदेश जानु? आफ्नै देशमा श्रम गरे केही न केही हुन्छ ।' ‘बिदेशमा गरिने दुःख आफ्नै देशमा गर्दा धेरै फाइदा नभएपनि गर्व त गर्न सकिन्छ नी ।’ उनले भनिन् ।
आफ्नै घरमा कपडा व्यवसाय चलाएकाले भाडा तिर्नुपर्दैन, र आफ्ना छोराछोरीलाई सँगै हेर्ने, समय दिने सुविधा पनि मिलेको छ। व्यवसायबाट आम्दानी कहिले १० हजार त कहिले ५० हजारभन्दा माथि पुग्छ।
“व्यापार हो, उतारचढाव त हुन्छ नै,“ निर्मला भन्छिन्, “तर म सधैं सकारात्मक सोच राख्छु।“
सरकारको महिला उद्यमशीलता योजनाबाट १० लाख ऋण लिएर उनले पूँजी थप्दै व्यापार विस्तार गरिन्। ऋण तिर्दै, नाफा बटुल्दै उनले एउटा प्रेरणादायी यात्रा तयार गरेकी हुन् ।
बिदेशिने बाध्यता, श्रम शोषण र पारिवारिक टुटफुटको पीडादायी कथाहरू उनी सुन्छिन्। त्यसैले उनी विशेषगरी महिला दिदीबहिनीहरूलाई आग्रह गर्छिन् “अरूको देखासिकी नगर्नुहोस्। आफ्नै देशमा श्रम गर्नुस , गरे आफ्नै देशमा सम्भावना छ।“तर देशमा उद्यम गर्नका लागि धेरै व्यापारीहरु नेपालमा छन् । नेपालमा नियमकानूनको वास्तविक कार्यान्वयन हुने हो र विधिको शासन बसाउने हो भने अझै लगानी भित्रिने उनले विश्वास लिएकी छिन् ।


