Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

'अहिलेका युवाले नेपालीमा निबन्ध लेख्न जान्दैनन्, खै के पढ्छन् ?'

'अहिलेका युवाले नेपालीमा निबन्ध लेख्न जान्दैनन्, खै के पढ्छन् ?'

हामीले बाह्रखरी पढेर पनि सब कुरा बुझ्थ्यौं, अहिले अंग्रेजीको धेरै प्रयोगले हाम्रो धर्म र संस्कृति हराउँदै गएको छ ।

बुधबार, वैशाख १७ २०८२
बुधबार, वैशाख १७ २०८२
  •  

    images

    काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिका–८ मा बस्ने ७२ वर्षीय शान्तप्रसाद चापागाईं अहिलेका पुस्ताका पठन शैलीको विरोध गर्छन् । नीलबाराही जेष्ठ नागरिक समूहका सक्रिय सचिव रहेका उनलाई आफ्नो पालाको पढाइको स्तर अहिलेका पुस्ताको पढाइले भरपाई गर्नै सक्दैन भन्ने लाग्छ । 


    उनका आँखामा पुराना दिनहरूको सम्झना यति तरोताजा छन् की जीवनको उत्तरार्धमा पनि विगत र वर्तमानबीचको फरकलाई राम्ररी महसुस गर्छन्। उनी भन्छन्, “पहिला पढाइमा आत्मा हुन्थ्यो, अहिले पढाइको नाम मात्रै छ।”


    शान्तप्रसाद तेजविनायक स्कुलका प्रारम्भिक विद्यार्थी मध्ये एक हुन्, जुन विद्यालय उनका बुबाले आफ्ना सन्तानहरू टाढा नपठाइ पढ्न सकून् भनेर खोल्नुभएको थियो। त्यही विद्यालयबाट उनले पाँच कक्षासम्म पढे अनि एसएलसी भने अर्कै विद्यालयबाट दिए । 

    “त्यो बेला त पढ्न चाहने जो कोहीले अवसर पाउँथ्यो। सानो ठूलो भन्ने भेदभाव थिएन,” उनी सम्झन्छन्। तर अहिले सरकारी स्कुलहरूमा पढाइको स्तर घटेकोमा उनी चिन्तित छन्। “अहिले त स्कुलमा कोही पढ्दैन। पढेका पनि फेल भएर घरमै बस्छन्,” उनी भन्छन्।

    शिक्षाको गुणस्तरको गिरावटप्रति उनले गहिरो चिन्ता व्यक्त गरेका छन्। “अहिलेका १२ पासले पनि निवेदन लेख्न सक्दैनन्। हाम्रो पालामा १० पास गर्नेले सजिलै सरकारी जागिर खान्थे,” उनी गुनासा पोख्छन्।


    शिक्षासँगै समाजको सांस्कृतिक धार पनि परिवर्तन भएको उनको अनुभव छ ।  “हामीले बाह्रखरी पढेर पनि सब कुरा बुझ्थ्यौं, अहिले अंग्रेजीको धेरै प्रयोगले हाम्रो धर्म र संस्कृति हराउँदै गएको छ,” उनी भन्छन्।

    त्यसैले होला, उनी चाडपर्व मनाउने पुराना तरिकालाई सम्झँदै गहभरि बनाउँछन्। “पहिला चाडवाड आफ्नै हैसियत अनुसार मनाइन्थ्यो। लिंगे पिङ हालेर रमाइलो गथ्र्यौं। अहिले त मेरा नाति नातिनीहरूले त्यस्तो केहि बुझ्दैनन्,” उनी भन्छन्।


    शान्तप्रसादजस्ता जेष्ठ नागरिकको अनुभव समाजका लागि एउटा जिउँदो पाठशाला हो। उनी भन्छन्, “शिक्षा भनेको जागिर खान मात्र होइन, जीवन बाँच्ने तरिका हो। तर अहिले त्यो चेतना हराउँदैछ।”

    समाजले शिक्षा र संस्कृतिको दुबै मूल्य गुमाउँदै गएको उनले देखेका छन्। अहिलेका पुस्तामा बढ्दो अव्यवस्था नै अघिल्ला पुस्ताको चिन्ताको विषय बनेको छ । 
    त्यसैले शान्तप्रसाद जस्ताको आवाजलाई सुनिनु जरुरी छ । किनकि अनुभवले मात्र होइन, दृष्टिले पनि उनीहरू अझै अगाडि छन्।

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij