काठमाडौं । राजधानीको ठमेलस्थित ’लाइफ हिमालय ट्रेकिङ’ कम्पनीमा प्रवेश गर्दा चियाको कपसँगै शिवहरी रिजाल मुस्कुराउँदै स्वागत गर्छन्। तीन दशकअघि भरियाका रूपमा यात्रा सुरु गरेका उनी आज नेपालको सफल ट्रेकिङ उद्यमीमध्ये एक हुन् ।
उनको कार्यालयमा जाँदा कम्प्युटर स्क्रिनमा ट्रेकिङ रुटहरू खुलिरहेका छन्, भित्ताभरि विश्वका कुनाकाप्चाबाट आएका पर्यटकहरूसँग खिचिएका तस्बिर टाँसिएका छन्। टेबलमाथि हिमाल, वन, साहस र यात्राका थुप्रै सम्झनाहरू। कहिले उनी ग्राहकसँग संवाद गरिरहेका हुन्छन् भने कहिले आफ्नै कर्मचारीसँग योजना बनाउँदै। उनको यो कम्पनी अहिले सयभन्दा बढीलाई रोजगारी दिने संस्था बनेको छ, संघर्ष, श्रम र अठोटको ज्वलन्त उदाहरण बनेको छ ।
शिवहरीको यात्रा सुरू हुन्छ धादिङको खनियाँबास गाउँपालिका–५ बाट । उनले सन् १९९३ मा गाउँकै स्कुलबाट एसएलसी पास गरे। १५ वर्षको उमेरमै राजधानी काठमाडौं आइपुगे। मामाघर धापासीमा बस्दै , अनि साथीको सिफारिसमा एउटा ट्रेकिङ कम्पनीमा भरियाका रूपमा उनले काम सुरु गरे । भारी बोकेर हिमाल चढ्ने ती दिनहरूमा उनले थकाइसँगै जिम्मेवारी, प्रकृतिसँगको सामीप्यता र सेवा भाव पनि सिके । त्यही बेलामा उनी सरस्वती क्याम्पसमा आइए तहको पढाइ पनि गरिरहेका थिए । अंग्रेजीमा रुचि थियो, शब्द शब्द टिपेर, बोलेर, लेखेर आफूलाई निखार्दै थिए। यही क्रममा गाइड बन्ने अवसर पाए—पहिलोपटक अमेरिकी पर्यटकलाई शिवपुरी घुमाउने मौका मिल्यो । ३ वर्ष भरियाको काम गरी १९९८ मा गाइड बनेका उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन ।
गाइडको रूपमा अनुभव बढ्दै जाँदा उनले ट्रेकिङ व्यवसायलाई गहिरो रूपमा बुझ्न थाले। एकपटक लाङटाङतिर गएका बेला जर्मन पर्यटकहरूसँगको संवाद र व्यवहारले यति प्रभाव पारे कि ती पर्यटकले उनलाई जर्मनी निम्त्याए। सबै खर्च आफैँ व्यहोर्ने भने। मदरल्याण्ड ट्रेकका सञ्चालक नवराज पाण्डेले भिसा प्रक्रिया मिलाइदिए। सन् २००० मा उनी पहिलोपटक जर्मनी पुगे। त्यहाँ उनले अनुशासन, समयको मूल्य र प्रविधिमैत्री जीवनशैली अनुभव गरे । अनि तीन महिना पछि नेपाल फर्के । पुनः अर्कोपटक जर्मन गए । नेपालप्रतिको मोह मेटिएन। फर्किएर फेरि ट्रेकिङमै लाग्ने योजना थियो । तर त्यस समयमा माओवादी द्वन्द्वका कारण पर्यटन खस्किदो थियो । नेपाल एक प्रकारले हेर्दा युद्धमा थियो र सबैले यतै बस तेरो देशमा अहिले स्थिति खराब छ भने । उनी युरोपतिर बसे । सन् २००३ देखि २०१० सम्म जर्मनी र अस्ट्रियामा बसेर सिएनसि टेक्नोलोजी अध्ययन गरे, यन्त्रहरू चलाए, जीवनका पाटा घुमाए सीप सिके अलिअलि पैसा पनि कमाए । तर पनि नेपालको मोहले उनलाई युरोपको सुखी जीवनशैली त्याग्न बाध्य पारि छाडे ।
विदेशमा सात वर्ष बिताएर फर्किएपछि उनले साझेदारसँग मिलेर ट्रेकिङ कम्पनी सञ्चालन गरे। पाँच वर्षको साझेदारीपछि सन् २०१६ मा आफ्नै नाममा ‘लाइफ हिमालय ट्रेकिङ प्रालि’ स्थापना गरे। सुरुमा २५ लाख लगानी, थोरै ग्राहक र धेरै मेहनत थियो। कम्पनी बल्ल उठ्दै गर्दा कोरोना महामारीले सबै क्षेत्रजस्तै पर्यटन क्षेत्र पनि थला पार्यो। तर शिवहरीले हार मानेनन्। महामारीपछि नयाँ सोचसहित फर्किए। कम्पनीलाई डिजिटल बनाए । वेबसाइट, अनलाइन बुकिङ, सामाजिक सञ्जालमार्फत विश्व बजारमा पुर्याए। परम्परागत ट्रेकिङभन्दा फरक अनुभव दिन उनले योगा ट्रेक, डिटोक्स प्याकेज, लक्जरी हिमाल यात्रा जस्ता नयाँ अवधारणा ल्याए।
आज लाइफ हिमालय ट्रेकिङले सगरमाथा, अन्नपूर्ण, मनास्लु, थोराङला पास, गोक्यो जस्ता प्रमुख गन्तव्यमा सयौँ विदेशी पर्यटकलाई पुर्याइसकेको छ। कम्पनीमा सिजनअनुसार १०० जनासम्म कर्मचारी कार्यरत हुन्छन् । गाइड, भरिया, अफिस टिम सबैको समन्वयमा कम्पनी चलेको छ। शिवहरी आफैँ कम्पनीका सीईओ मात्र होइन, अनुभवी मार्गदर्शक योजनाकार र उत्प्रेरक पनि हुन् ।
सामाजिक जिम्मेवारीमा पनि उनी सक्रिय छन्। उनी अहिले धादिङका सामुदायिक विद्यालयहरुमा , छात्रवृत्ति, , स्वास्थ्य शिविर, होमस्टे प्रवद्र्धनजस्ता कार्यक्रम सञ्चालन गर्दै आएका छन्। भूकम्प, महामारी वा विपद्का बेला उनी अग्रपंक्तिमा बसेर सहयोग गर्छन्। आजसम्म उनले दर्जनौँ विपन्न बालबालिकालाई कक्षा १ देखि १२ सम्म छात्रवृत्तिमा पढाइरहेका छन्।
शिवहरी रिजालको संघर्ष केवल भरियाबाट व्यवसायी हुने कथा होइन, यो आफ्नै देशमा फर्केर केही गर्ने अठोटको प्रेरणादायी कथा हो । उनी भन्छन्, ‘विदेशमा सुविधा थियो, तर देशमा सन्तोष छ।’ यही सन्तोष, प्रेरणा, जसले उनलाई उठायो, बनायो र समाजलाई पनि साथ दिन उत्प्रेरित गरायो। उनी आजका युवालाई भन्छन्, ‘विदेश जानु नराम्रो होइन, तर फर्किएर देशका लागि केही गर्न सक्नु ठूलो कुरा हो।’


