काठमाडौं । वर्ष २०८१ सालमा जनस्तर फरक चर्चा चल्यो । जसले जनतामा आशा र निराशा दुबै पैदा गरेको छ । यो सालमा देखिएका राजनीतिक घटनाक्रमले नेपाली इतिहासमै नयाँ रेकर्ड कायम गरेको छ । १७ वर्षअघि सत्ताच्युत गरिएका पूर्व राजा ज्ञानेन्द्र शाह यो वर्ष आफै चर्चा आए । उनले जनताका लागि भन्दै दुइ पटक गम्भीर भिडियो सन्देश जारी गरे ।
पूर्वराजा ज्ञानेन्द्र शाह जनस्तरमा देखिन थालेपछि नयाँ बहस सुरु भएको छ। उनले गरेका अभिव्यक्तिहरूले पुनः राजतन्त्रको सम्भावना भन्दै केही समूह सक्रिय भएका छन्। यति मात्रै होइन वर्ष २०८१ मा राजसंस्था पुनःस्थापनाका लागि सडक प्रदर्शन भयो । व्यवस्था परिवर्तनका लागि भएका यी गतिविधिले जनमानसमा गम्भीर प्रश्न उठेका छन् ।
वर्ष २०८१ को अन्तिम समय सिंगो नेपाल सडक केन्द्रित रह्यो भन्दा फरक नपर्ला । समाजको ऐना मानिने शिक्षक, समाजले सबैभन्दा बढी भरोसा गर्ने डाक्टर, आस्थाका धरोहर मानिने धार्मिक संस्था र नागरिकहरु नै सडक देखिए ।
वर्ष २०८१ मा सत्ता र सदनमा भने उनै केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र रवि लामिछानेको चर्चा देखियो । अनि जनताको सबैभन्दा नजिकको सरकार भनिएका स्थानीय तहमा पनि उनै चर्चित बालेन्द्र शा, हर्क शाम्पाङ लगायतका व्यक्तिहरु चर्चामा रहे । अनि जनताहरु भने फवगत उनै चर्चित व्यक्तिको पक्ष र विपक्ष देखिए । २०८१ सालमा जनताको स्तरबृद्धिका लागि खास केही भएन । बरु स्थायित्व, परिवर्तन र जनचाहनाबीचको द्वन्द्व अझै चर्किएको छ ।
वर्ष २०८१ मा देखिएका गतिविधिहरु सामान्य छैनन् । व्यवस्था परिवर्तनबारे घरदेखि चौतारासम्म चियापसलदेखि सदनसम्म चलेको एउटै चर्चाले मानसिकता मात्रै होइन व्यवस्था परिवर्तनको गम्भीर बहस छेडेको छ । तर, जनता प्रमुख मानिएको व्यवस्थामा बहुसंख्यक जनआवाजले मात्रै अबको बाटो तय गर्नेछ । सडक, सदन वा भनौं चिया चौतारो जहाँ जे बहस भए पनि वा जस्ता आन्दोलन र प्रदर्शन भए पनि जनताको स्तरमा सुधार हुनु पहिलो आवश्यकता हो । नयाँ वर्ष २०८२ सालले नेपाली जनमानस र जनस्तरमा सुधार ल्याउन सकोस् ।


