काठमाडौं । मिथिला चित्रकलालाई घरका भित्ताबाट रुमाल, कपडा र कागजसम्म पु¥याउन योगदान गर्नेको अग्रभागमा पर्छिन् सुनैना ठाकुर । श्रीमानको पहिचानमा मात्रै आफ्नो पहिचान हुने संस्कृतिको घेरालाई तोड्दै महिलाको क्षमतालाई विश्वास गर्नुपर्ने सोच स्थापित गर्न सफल भएकी छिन् उनी ।
सर्लाही, श्रीनगरमा जन्मिएकी सुनैना ठाकुरलाई मिथिला चित्रकला सिक्न कुनै ‘इन्स्टिच्युट’ धाउनु परेन। आफ्नै घरमा हजुरआमा र आमाहरुले भित्तामा कोरेको चित्र नै उनको पाठशाला बन्यो । आमा र हजुरआमाले कोरेको चित्रले उनलाई सधै आकर्षित गथ्र्यो । त्यही आकर्षण उनलाई मिहेनेत गर्ने बनायो । उनले पनि कोसिस गर्दै गइन् । विद्यालयको पढाइका लागि किनिएका कापीमा पनि चित्र कोर्न थालिन् । प्राय उनका कापीहरु विद्यालयका कार्यभन्दा चित्र बनाएरै सकिन थाले । तर त्यो बेला के गर्दै छु भन्ने उनले बुझेकी थिइनन् ।
समयसँगै कुरा बुझ्दा त्यो ‘मिथिला चित्रकला’ रहेछ । सुनैना ९ कक्षामा पढ्दै थिइन् यता उनको विवाहको कुरा आयो । त्यसो त अझैपनि तराई मधेसमा कम उमेरै विवाह गर्ने चलन छ । छोरीले कलिलै उमेरमा बिहेवारी गर्ने र घरभित्रै घुम्टोभित्र गृहस्थी जीवन बिताउनुपर्ने बाध्यता मधेशी महिलाहरुको छ । समाजले बनाएको घेरा उनको परिवारले पनि तोड्न सकेन । कक्षा ९ पढ्दा पढ्दै १४ वर्षकै उमेरमा सुनैनाको विवाह भयो । ‘हाम्रो समुदायमा छोरीको रहरलाई एउटा घेराभित्र सिमित राखिन्छ, उनीहरु पनि पखेटा फैलाउँदै खुला आकाशमा उड्न चाहन्छन् भन्ने सोचिँदैन,’ सुनैना विगत सम्झिन्छिन्, ‘छोरीहरुलाई कम उमेरमै विवाह गरिदिने प्रवृत्ति छ । म पनि त्यसैमा परेँ ।’
तर सुनैनाले विवाहपछि पनि परिवारको बन्धनमा बस्नु परेन । विवाहपछि सुनैनाको घरबाट भने पढाइमा रोकतोक भएन । उनले पढ्ने अवसर पाइन् । नौ कक्षामा पढ्दा डोली चढाइएकी कलाकार सुनैनाले स्नातकसम्म पढिन् । सुनैनाले विवाहपछि आफ्नो चित्रकलालाई पनि निरन्तरता दिइन् ।
५ सयले खोल्यो व्यवसायिक ढोका
घरका भित्ताहरुमा उनले बनाएका चित्रहरु फ्रेममा झुन्डिएका थिए । घरमा पाहुनाहरुको आवत जावत हुँदा ती चित्रहरुको खुब तारिफ हुन्थ्यो । हरेक दिन तारिफ हुँदा सुनैना फुर्किन्थिन् । तर, एक दिन अचम्म भयो । उनको घरमा आएका पाहुनाले उनको चित्र किनिदिए । आफूले बनाएको चित्र पाँच सयमा बेच्न पाइन् सुनैनाले । त्यसपछि सुनैना निकै उत्साहित बनिन् । उनलाई आफ्नो कलालाई व्यवसायिक बनाउन मन लाग्यो । ‘मैले कहिल्यै पनि सोचेकै थिइन मैले कोरेका चित्रहरुको मुल्य छ भनेर, तर एकजना पाहुनाले तिम्रो चित्र किन्छु भनेपछि मअसाध्यै खुशी भएँ ।’
उनले सम्झाना सुनाइन् । त्यसपछि उनले व्यवसाय गर्ने सोच बनाइन् । घरभन्दा बाहिर निस्केर त्यसको व्यवसायिकता खोज्ने प्रयास गरिन् । तर, उनको यो प्रयास समुदायका लागि सह्य थिएन । समाजले जे भने पनि परिवारले उनलाई सधैं साथ दियो । समाजले त जे पनि भन्दा तर परिवारले मलाई विश्वास ग¥यो त्यही ठूलो कुरा भयो , परिवारले साथ दिएपछि कसैको केही लागेन ।’ उनले भनिन् । अहिले सुनैना त्यो बेला देखेको सपना पुरा भएकोमा खुशी छिन् ।
उनको संघर्षले उनीमात्र नभएर नेपाल र मिथिला चित्रकलालाई अन्तर्राष्ट्रिय समुदायमाझ चिनाउँदै लगेको छ । उनले यूएनडीपीको ‘एन पिस अवार्ड २०१२’, र अमेरिकास्थित सर्च फर कमन ग्राउण्डको ‘कमन ग्राउन्ड अवार्ड २०१६’, केयर नेपालको ‘सफल महिला उद्यमी अवार्ड २०१५’ लगायतका थुप्रै पुरस्कार पाएकी छन् । १० हजार रुपैंयाले सुरु गरेको व्यवसायले अहिले उनीमात्र होइन मिथिलाकै चिनारी बनेको छ । हिजो भित्तामा सिमित चित्रहरु अहिले रुमाल, कागज र कपडामा उतारिन थालेका छन् ।
अहिले सुनैना आफू मात्रै होइन समुदायका अन्य महिलाहरुको समेत प्रेरणा बनेकी छन् । उनले महिलारूलाई निःशुल्क तालीम दिएर व्यवसायमा आकर्षित गरिरहेकी छिन् । आफ्ना र तालीम दिएका महिलाहरूले बनाएका चित्रहरू राखेर जनकपुरको जानकी मन्दिर परिसर र काठमाडौंको ठमेलमा ग्यालरी चलाइरहेकी छन् । लैङ्गिक असमानता, महिला हिंसा र आफ्नो हक, अधिकार बुझेकी सुनैनाले महिलाका अधिकार र समाजको दुष्टिकोणलाई चित्रकलामा उतार्ने गरेकी छन् । ‘एकजनाले सय जनाको आवाज बोल्न नसक्ला तर, एउटा चित्र हजारौंको आवाज बन्न सक्छ’ उनी भन्छिन् ।
कोरोना अघिसम्म राम्रैसँग चलेको उनको व्यवसाय त्यसपछि भने केही खस्किएको थियो । अहिले फेरी बिस्तारै लय समाउँदै जान थालेपछि उनी खुशी छिन् । कोरोना सुरु हुनुभन्दा पहिले २५ जना सम्मले काम गर्ने गरेको उनको व्यवसायमा अहिले पनि १५ जनाले काम गरिरहेका छन् । महिनाको १० देखि ३० हजारसम्म तलव बुझ्ने महिलाहरू छन् । महिला उद्यमी महासंघ धनुषा जिल्लाकी अध्यक्षसमेत रहेकी उनी सबै महिलाको प्रेरणा बनेकी छिन् ।


