Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

‘मेरो संघर्ष नदेख्ने समाजले श्रीमानलाई शंका गर्छ’(भिडियोसहित)

‘मेरो संघर्ष नदेख्ने समाजले श्रीमानलाई शंका गर्छ’(भिडियोसहित)

शुक्रबार, चैत १५ २०८१
शुक्रबार, चैत १५ २०८१
  • काठमाडौं। ललितपुरको दक्षिणपूर्वी भेग, गोदावरी नगरपालिका–१३, गंगटे खोलाको किनारमा सिस्ने जलजला एग्रिकल्चर फार्म फैलिएको छ । यहाँ उत्पादित काउली, बन्दा, टमाटर, काक्रो लगायतका तरकारीहरू कालीमाटी, बल्खुजस्ता ठूला बजारमा पुग्छन् । यो व्यवसायलाई अहिलेको रूप दिन सफल भएकी छिन् नमुना ओली केसी ।

    images

    डोकोमा तरकारी बोकेर हिँड्ने दिनदेखि ४५ रोपनी जमिनमा व्यावसायिक कृषि गर्ने महिला बन्ने उनको यात्राले संघर्षको नयाँ परिभाषा दिएको छ। समाजले उनको सफलता देखे पनि, उनले त्यहाँसम्म पुग्न गरेको त्याग, पीडा, र मेहनतको सधैं सही मूल्यांकन गरेको छैन ।

    माओवादी नबनोस् भनेर विवाह

    चार दशकअघि नमुना रोल्पाको एक साधारण परिवारमा जन्मिइन् । उनी किशोरवयमा रमाउनेबेला देशमा माओवादी द्वन्द्व चरम सीमामा थियो । माओवादी सेनाले गाउँका युवायुवतीलाई संगठित बनाउँदै थियो । उनी पनि त्यही प्रभावमा परिन् र एक महिने जनमुक्ति सेनाको तालिम लिइन् । तर, उनका अभिभावकले छोरीलाई माओवादी आन्दोलनमा नलागोस् भन्ने सोचेर १७ वर्षको उमेरमै विवाह गरिदिए । विवाह हुँदा श्रीमानउनीभन्दा ४ वर्ष सानो थिए । श्रीमान् दीपक केसी त्यतिबेला मात्र १४ वर्षका थिए ।

    विवाहपछि जीवन सोचेजस्तो सहज थिएन । आर्थिक अवस्था कमजोर थियो । तर, नमुनाले कहिल्यै हार मानिनन् । उनले श्रीमान्लाई निरन्तर पढाइमा हौसला दिइन् । आफैं गाउँमै बसेर खसी–बाख्रा पालन गर्दै श्रीमान्को पढाइ खर्च जुटाइन् । श्रीमान्ले पनि मेहनत गर्न छाडेनन् । त्यही मेहनतले दिपक राष्ट्रिय अनुसन्धान विभागको निरीक्षक (इन्स्पेक्टर) पदमा नाम निकाल्न सफल भए । अहिले उनी डिएसपी पदमा कार्यरत छन्।

     गाउँ फर्कने कि भन्ने सोच आयो 

    श्रीमान् जागिरे भएपछि उनीहरू करिब ९–१० वर्षअघि काठमाडौं आए । तर, राजधानीको महँगो जीवनशैलीले उनीहरूलाई निरन्तर मानसिक तनावमा राख्यो । कोठाको भाडा, घरखर्च, छोराछोरीको पढाइ खर्च टार्न कठिन भइरह्यो । बारम्बार मनमा एउटै प्रश्न आउँथ्यो, 'गाउँ फर्कने कि काठमाडौंमै संघर्ष गर्ने?' नमुना गाउँ फर्कन चाहन्नथिन् । उनले काठमाडौंमै केही गरेर बस्ने निर्णय गरिन् । 

    डोकोमा तरकारी बोकेर हिँड्ने दिन

    शुरुवातमा नमुनाले १० रोपनी जमिन भाडामा लिएर तरकारी खेती थालिन् । श्रीमान्को जागिरले घरखर्च चले पनि थप आम्दानी गर्नुपर्ने थियो । उनले निरन्तर मेहनत गरिन् । तर, समाजको नजर सधैं उनलाई घोचिरहन्थ्यो। 'सरकारी जागिरेकी श्रीमती भएर पनि तरकारी बेच्नुपर्छ?' भन्ने प्रश्नले उनलाई कयौं रात निद्रा नलाग्ने बनायो । समाजले हेपेर हेथ्र्यो, तर उनी आफ्नो बाटोमा अघि बढिरहिन् ।

    लकडाउनपछि भने परिस्थितिमा बदलाव आयो । बजारमा बाहिरबाट तरकारी आउन बन्द भयो। यही मौकामा नमुनाले उत्पादन बढाइन् । उनी सफल भइन् । समाजले उनलाई पहिले हेपेको थियो, तर पछि उनीकै फार्मबाट उत्पादन हुने तरकारी किन्न आउन थाले । 

    ४५ रोपनी फार्म र लाखौंको कारोबार

    १० रोपनीबाट सुरु भएको नमुनाको फार्म अहिले ४५ रोपनीसम्म फैलिएको छ । फार्ममा काउली, बन्दा, रायोको साग, टमाटर, काक्रो लगायतका तरकारी उत्पादन हुन्छन् । वार्षिक ४०–५० लाख रुपैयाँको कारोबार हुन्छ, जसबाट उनले १२–१५ लाख रुपैयाँ जोगाउन सफल भएकी छिन् । 

    उनको फार्ममा अहिले ३–४ जना स्थायी रूपमा काम गर्छन् भने सिजनमा १०–१५ जना मजदुरलाई रोजगारी दिन सक्ने अवस्थामा छिन् । यो यात्रा सहज थिएन, तर उनले कहिल्यै हरेस खाइनन् ।

    छोराको मृत्यु र समाजको नजर

    नमुना र दीपकका दुई छोरी छन् । उनका ४ वर्षे छोरा एक वर्ष अगाडि ब्लड क्यान्सरबाट बिते। छोराको उपचारका लागि लाखौं रुपैयाँ खर्च भयो । सोही समयमा नमुनाले बैंकबाट करोडौं ऋण लिएर घर बनाइन्। तर, समाजले उनको संघर्ष देखेन ।

    “श्रीमान् सरकारी जागिरे भएकाले कतैबाट अवैध रूपमा कमाएको हो“ भनेर आरोप लगाउन थाल्यो। कसैले उनको बिहान–बेलुकाको मेहनत देखेन, कसैले उनको ऋण तिर्नुपर्ने अवस्था बुझेन। मेहनत गरेर कमाउनेलाई सधैं प्रश्न गरिन्छ, तर मेहनत नगरी सजिलो बाटो रोज्नेहरूलाई समाज चुपचाप हेर्छ ।

    बजार व्यवस्थापनको समस्या 
    उनीहरूको व्यवसाय राम्रो चलेको भए पनि बजार व्यवस्थापन अझै चुनौतीपूर्ण छ । कहिलेकाहीं बजार नपाउँदा खेतमै तरकारी कुहिनुपर्ने अवस्था आउँछ। भारतबाट आउने विषादीयुक्त तरकारी सजिलै बिक्छ, तर नेपाली उत्पादनबारे अफवाह फैलाइन्छ ।

    'हिजो–अस्ति मात्रै रायोको सागमा विषादी भेटियो भनेर समाचार आयो। त्यसले गर्दा अहिले हाम्रो साग खेतमै कुहिने अवस्थामा छ । हामी जैविक खेती गर्ने किसानहरूलाई असर पर्ने गरी यस्तो हल्ला किन फैलाइन्छ?' उनी प्रश्न गर्छिन् ।

    'नेपालमै मेहनत गरे राम्रो गर्न सकिन्छ, तर बजार व्यवस्थापन जरुरी छ। सरकारले स्थानीय किसानहरूको उत्पादनलाई उचित मूल्य, बजार व्यवस्थापन, र कृषि अनुदानमा सहयोग पु¥याए, तिनीहरूलाई विदेशिनु नपर्ने वातावरण सिर्जना गर्न सकिन्छ ।' नमुना भन्छिन्, 'मलाई विदेश जाने सोच कहिल्यै आएन । बरु यहीँ केही गर्ने सोच बनाएँ । अहिले हेर्दा सही निर्णय गरेको जस्तो लाग्छ ।'

    समाजले कहिले बुझ्ने?

    समाजले सफल मानिसको मेहनत कमै देख्छ । विशेष गरी जब त्यो सफलता महिलाले हासिल गर्छिन्, तब झन् बढी शंका गरिन्छ । नमुनाको संघर्ष पनि त्यस्तै हो । कसैले उनको बिहान–बेलुकाको मेहनत देखेन, कसैले तरकारीको डोको बोकेर बजार धाउने दिनहरू सम्झिएन। तर, जब उनी आर्थिक रूपमा सक्षम बनिन्, जब उनी व्यावसायिक कृषिमा ठूली खेलाडी बनिन्, तब समाजले प्रश्न उठायो, ’श्रीमान् सरकारी जागिरे भएकाले कतैबाट अवैध कमाइ ल्याएको हो कि?’

    तर, नमुना जान्दछिन्, सफलता भाग्यले होइन, पसिनाले फल्छ । 'म दैनिकी बिहान सबेरै उठेर फार्ममा काम गर्छु । पसिना बगाएर खेती गर्छु । मलाई थाहा छ, यो माटोले मलाई धोका दिँदैन ।' नमुना ओली केसीको संघर्ष, जसले गाउँकी साधारण महिलालाई ४५ रोपनीको सफल कृषि व्यवसायी बनायो, नेपालका धेरै महिलाहरूका लागि प्रेरणाको स्रोत बनेको छ । उनका छोरा र परिवारको पीडाले उनलाई अझ बलियो र दृढ बनाएको छ ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij