काठमाडौं । काठमाडौंका ३० वर्षीय सुन्दर खड्का कक्षा ११ पढ्दा पढ्दै रोजगारका लागि खाडी मुलुक पुगे । झन्डै ६ वर्ष उतै बिताएका उनी फर्केपछि काठमाडौंमा होटेल सञ्चालन गरिरहेका छन् । स्वदेशमै केही गरौँ भनेर होटेल सुरु गरेका सुन्दर अहिले दुबिधामा छन् । न होटेल चलाउन सकेका छन् न त छोड्न नै । विदेशबाट फर्किएका साथीहरूलाई समेटेर खोलेको होटेल नचल्दा उनी निराश छन् । उनी भन्छन् ‘ विदेशबाट धेरै सपना देखियो तर यहाँ आउँदा केही पनि पुरा हुने देखिएन । विदेशी भूमिमा कति दुख गर्ने भनेर नेपालमा लगानी गरियो तर उपलब्धि शून्य भयो’ । ३० वर्षका उनी सरकारकै नीतिका कारण व्यवसाय धरापमा परेको बत्ताउँछन् ।
काठमाडौंको डिल्ली बजारको देब्रे गल्लीमा होटेल सञ्चालन गरिरहेका उनीलाई दैनिक दैनिक १५ देखि १६ हजार रुपैयाँ आम्दानी हुने अपेक्षा थियो। तर सोचेजस्तो नहुँदा निराशा बढेको उनी सुनाउँछन् । उनी भन्छन् ‘आर्थिक मन्दी र विदेशी मुद्रा सञ्चिति घटिरहेको अवस्था छ । सरकारले सहयोगी नीति लिनुपर्नेमा व्यवसायीको कुरा सुन्दै सुनेन ’अहिले युवाहरू पलायन भएकोतर्फ सरकार सचेत नभएको उनको बुझाइ छ । नेपालको आर्थिक स्थिति र विभिन्न साना व्यवसायमा आएको संकटले धेरै युवा र व्यवसायीलाई निराश पारिरहेको उनले सुनाए । सुन्दर जस्ता युवाहरूका लागि नेपालमा बाँच्न र व्यापार गर्न निकै चुनौतीपूर्ण अवस्थामा छन्। सरकारको ध्यान यस्ता चुनौतीहरूको समाधानमा जानु पर्छ भन्ने धारणा उनको छ। सुन्दर भन्छन्, ‘दक्ष युवा वर्गलाई सही अवसर र सम्बोधन दिनु सरकारको कर्तव्य हो। अहिले हामी जस्तो युवा, जसले केही गर्न चाहन्छ, तर देशको आर्थिक अवस्था र अन्य अनुकूल परिस्थितिहरू नहुनुका कारण थाकिरहेका छौँ।’ हुन त सुन्दरले विदेश जानु अघिपनि नेपालमा व्यवसायको प्रयास नगरेका हैनन् । उनले तरकारी खेती गरेका थिए तर त्यसबाट पनि सोचेजस्तो नभएपछि उनी विदेश हानिएका हुन् ।
उनी भन्छन् ‘सरकारले युवा देशमा टिकेनन् टिकेनन् भन्छ तर टिक्ने वातावरण नबनाएपछि युवाहरू खेदिएका हुन् । नीतिमा सुधार गरे युवाहरू आफै देशमा अडिन्छन् ।’


