काठमाडौं । बिहानको व्यस्त समय । काठमाडौं महानगरपालिकाको नेप्से म्याक कम्पनीका कर्मचारीहरू आ–आफ्ना जिम्मेवारीमा जुटिरहेका छन्। हेमलाल मगर र बालकुमारी मगर पनि आफ्नो कामको मेसो मिलाउँदै छन् । उनीहरूको यो जोडी बनेको २४ वर्ष भएछ । २०५७ सालमा प्रेम विवाह गरेको यो जोडीको प्रेम अझ परिपक्व हुँदै गएको छ । शारीरिक रूपमा अशक्त हेमलाललाई बालकुमारीको प्रेमले ऊर्जा भरेको छ । सानैमा कम्मर भाँचिएपछि अशक्त बनेका हेमलालको सहारा बनेकी छन् बालकुमारी । एउटा मिर्गौलाको सहारामा बाँचिरहेकी बालकुमारी अफिसमा खाना–नास्ता बनाउने जिम्मेवारीमा कहिल्यै चुकेकी छैनन्। हेमलाल र बालकुमारीका एक छोरा र एक छोरी छन्। छोरा आइटी इन्जिनियरिङ अध्ययन गर्दै छन् भने छोरीले भर्खरै १२ कक्षाको परीक्षा दिएकी छिन्।
दुवै भन्छन् ‘हामीले भोगेको दुःख र अभाव सन्तानले भोग्न नपरोस् भनेर दिनरात खटिरहेका छौँ।’ नेप्से म्याकको सुपरभाइजर सम्म पुग्न हेमलालको निरन्तरको मेहनत थियो । ‘हामीलाई धेरैले हेप्थे। शारीरिक असक्तता देखाएर कमजोर सम्झिन्थे। तर, हामीले आफैँलाई कहिल्यै कमजोर महसुस गरेनौँ। शरीरमा कमजोरी होला, तर मनमा आत्मविश्वास र मिहिनेतको कमी छैन। ’
पहिलो भेटको कथा
हेमलाल र बालकुमारीको पहिलो भेट सिलाइ–बुनाइको तालिममा भएको थियो । जीविकोपार्जनका लागि तालिम लिने क्रममा उनीहरू नजिकिए ।
हेमलाल सम्झिन्छन्‘ “सुरुमा त हामी साथी थियौँ। तालिममा सँगै समय बिताउँदा बालकुमारीको आत्मविश्वास, मिहिनेत र इमानदारिताले मलाई लोभ्यायो।’ बालकुमारी हाँस्दै भन्छिन्‘हेमलालको सरलता, सधैँ सहयोग गर्ने बानीले म उनीतिर तानिएँ।’ उनीहरूले २०५७ सालमा प्रेमलाई विवाहमा परिणत गरे । २४ वर्षको सहयात्रामा हेमलाल र बालकुमारीले थुप्रै आरोह–अवरोह सामना गरे। तर, कहिल्यै एक अर्कालाई दोष दिएनन्। तर अहिले सम्बन्ध नटिकेको खबरहरू सुन्दा उनीहरूलाई चिन्ता लाग्छ । हेमलाल भन्छन् ‘हिजोआज लिभिङ टुगेदरको चलनले समाजमा विकृति फैलाएको छ।
सम्बन्धलाई हल्का रूपमा लिन्छन्। सानो समस्या आयो कि सम्बन्ध टुट्छ’ बालकुमारी थप्छिन्‘विवाह भनेको समझदारी र सहकार्य हो। जबसम्म एक अर्कालाई बुझिन्न, विश्वास गरिन्न, तबसम्म सम्बन्ध टिक्दैन। प्रेम भनेको सधैँ खुसी हुने होइन, दुःखमा पनि सँगै उभिने हो। एक अर्काको कमजोरी स्विकारेर सँगै अघि बढ्नु नै साँचो माया हो ’ ।


