Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

‘संसारले नचिनेपनि हामी एक अर्काको संसार हौँ’

‘संसारले नचिनेपनि हामी एक अर्काको संसार हौँ’

शुक्रबार, फागुन २ २०८१
शुक्रबार, फागुन २ २०८१
  • काठमाडौं । नुवाकोटको बेलकोटगढीका चन्द्रमान तामाङ  अहिले ३० वर्ष पुगे उनकी श्रीमती ठुलीमाया ३२ वर्ष । यो जोडी बनेको अहिले १७ वर्ष पुग्यो । १७ वर्षदेखि उनीहरूको प्रेम उस्तै छ । कहिलेकाहीँ खटपट नहुने पनि होइन तर खटपटले झनै प्रेम बढाइदिएको छ । एउटा रिसाए अर्कोले फकाउने  यस्तै यस्तै गर्दै १७ वर्षको सहयात्रा अघि बढिरहेको छ ।   

    विवाह हुँदा चन्द्रमान १३ वर्षका मात्र थिए भने ठुलीमाया १५ वर्षकी थिइन् । आफन्तले कुरा चलाएपछि दुवै जनाको मागी विवाह भएको हो । ठुलीमाया सम्झिन्छिन् ‘सानै उमेरमा विवाह भयो त्यो वेला विवाहको अर्थ नै थाहा थिएन अहिले सम्झिदा अचम्म लाग्छ ’ विवाह भएको  १७ वर्ष पुगे पनि उनीहरूलाई भर्खरै विवाह भएजस्तै लाग्दो रहेछ ।     

    दुवै जना एक अर्काको प्रेममा भिजेकाले होला समय गएको पत्तै पाएनन् । चन्द्रमान भन्छन् ‘समय कति छिटो जाने रहेछ हिजो जस्तै लाग्छ केटी माग्न गएको ’हाँस्दै उनले भने ‘त्यो वेला म पनि बच्चै थिए विवाह गर्न भनेर केटी माग्न त गए तर कुरा गर्दागर्दै म त निदाएछु ’घरको आर्थिक अवस्थाले गर्दा उनीहरूले पढ्न पाएनन् । आफूले पढ्न नपाए पनि आफ्नो सपना छोराछोरीमा देख्न थालेका छन् ।   

    विवाहपछि आएका सबै परिस्थितिलाई सामना गर्दै गर्दा उनीहरूको प्रेम झनै झाङिन पुग्यो । यही क्रममा दुवैको टाउको ठोकिन पुगे, हातहरू जोडिए र आँखाहरू जुधे । अनि  सिलसिलाबद्ध हुँदै प्रेममा बदलियो । ‘म तिमीलाई प्रेम गर्छु’ भन्नु मात्र प्रेम होइन । ठुलीमाया भन्छिन्, ‘श्रीमानसँग मेरो प्रेम थाहा नपाइ नै भयो । जुन कुरा हामी दुवैले भनेनौँ । उहाँले सोचेजस्तो मैलै गरिदिँदा र  उहाँले मैले सोचेजस्तो गरिदिँदा खुसी लाग्छ । वास्तवमा यही नै प्रेम रहेछ भन्ने अहिले लाग्छ ।’ विवाहपछि उमेरसँगै समयले नै जिम्मेवार बनाएको उनीहरूको अनुभव छ ।

    अहिलेको पुस्ताले धैर्य गर्न नचाहेकाले प्रेम जोगाउन नसकेको उनीहरू बताउँछन् । प्रायः व्यक्तिहरू बाहिरी आकर्षणलाई प्रेम सोच्ने गर्छन् र विवाह गर्छन् कसैको बोल्ने तरिका, उसको लुक्स, उसको हाउभाउ केही समयकालागि  मात्र भएको बुझ्नुपर्ने चन्द्रमानको भनाइ छ । चन्द्रमानलाई समर्थन गर्दै ठुलीमायाले भन्छिन् ‘प्रेमको अर्थ एक–अर्कालाई हरेक परिस्थितिमा साथ दिनु, बुझ्नु, सही बाटो देखाउनु र उसको लागि खुसीसाथ त्याग गर्नु हो ।  आकर्षणलाई प्रेम भनेर सम्झनु हुँदैन ।’   

    उनले प्रेम टिकाउन माया मात्र हैन, विश्वास, धैर्य र सहकार्य आवश्यक हुने बताइन् । अहिले यो जोडी काठमाडौँको नेप्से म्याक कम्पनीमा काम गर्छन् । सँगै काम गर्ने उनीहरूको प्रेम देखेर साथीभाइले उदाहरणको रूपमा लिने गर्छन् ।  उनीहरू एकै स्वरमा भन्छन् ‘हामीलाई संसारले चिन्दैन होला, तर हामी एक अर्काको संसार हौँ ’ ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij