काठमाडौं । मधेश प्रदेशकै सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप २०८१ फागुनको दोस्रो सातादेखि वीरगञ्जको आर्दशनगर रंगशालामा हुने भएको छ । भेट्रान सिटि क्लव वीरगञ्जको आयोजनामा आगामी फागुन १७ देखि २४ गतेसम्म हुने प्रतियोगितामा राष्ट्रिय स्तरका आठ फुटबल टिमको सहभागिता जनाउनेछन् । फुटबल प्रतियोगिता नकआउट चरणमा खेलाइनेछ । भेट्रान सिटि क्लव वीरगञ्जका अध्यक्ष सबिन बस्नेतले मधेश प्रदेशमा फुटबल खेलको संस्कृति विकास गर्नका लागि दोस्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिता गर्न लागेको जानकारी दिए ।
प्रतियोगितामा संकटा फुटबल क्लव, मछिन्द्र फुटबल क्लव, बागमती युथ क्लव सर्लाही, नेपाल पुलिस क्लव,गरवाल डाइमण्ड फुटबल क्लव दिल्ली, एपिआई चर्च ब्वाइज युनाइटेड,काठमाडौं, सलहेश फुटबल क्लव सिरहा र आयोजक वीरगञ्ज युनाइटेड क्लवले प्रतिस्पर्धा गर्नेछन् । क्लवका कोषाध्यक्ष तथा प्रतियोगिता संयोजक सुबोधकुमार श्रीवास्तवले प्रतियोगिताको बिजेता टोलीलाई नगद रु ११ लाख ११ हजार एक सय एघार,ट्रफी,मेडल र प्रमाणपत्र र उपबिजेता हुने टोलीलाई रु पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी,मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने जानकारी दिए । प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा वीरगञ्ज महानगरपालिका रहेको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि करिव एक करोड खर्च लाग्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा आउने दर्शकलाई लक्षित गरेर अस्थायी प्याराफिट निर्माणको कार्यलाई पनि तिव्रता दिइएको छ । प्रतियोगिता संयोजक श्रीवास्तवले विगतमा वीरगञ्जमा चर्चित फुटबलका गतिविधि हुने गरेपनि पछिल्लो समय सुस्ताएको फुटबलको गतिविधिलाई फेरि जुर्मुराउनका लागि प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए । प्रथम वीरगञ्ज गोल्ड कप फुटबल प्रतियोगिता २०८० को कात्तिक महिनामा आयोजना गरिएको थियो । प्रथम संस्करणको वीरगञ्ज गोल्डकपको बिजेताको रुपमा नेपाल पुलिस क्लव र उपबिजेताको रुपमा नेपाल आर्मी क्लव भएको थियो ।


