Logo

आइतबार, मंसिर १३ २०८३

आइतबार, मंसिर १३ २०८३

बालअधिकार सुनिश्चित गर्न सिजपका ३९ बुँदे माग

बालअधिकार सुनिश्चित गर्न सिजपका ३९ बुँदे माग

बिहीबार , मंसिर ३ २०८३
बिहीबार , मंसिर ३ २०८३
  • काठमाडौं । बालबालिकाको अधिकार संरक्षण र सुरक्षित भविष्य सुनिश्चित गर्न बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले सरकारसमक्ष ३९ बुँदे माग अघि सारेको छ ।

    images

    नोभेम्बर २० मा मनाइने अन्तर्राष्ट्रिय बाल दिवस तथा नोभेम्बर २७ मा पहिलोपटक मनाउन लागिएको बालविवाह, कम उमेरमा हुने विवाह र जबर्जस्ती विवाह अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा सिजपले सरकारको ध्यानाकर्षण गराउँदै विभिन्न माग सार्वजनिक गरेको हो ।

    सिजपले बालबालिकासँग सम्बन्धित संवैधानिक, कानुनी तथा नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्दै बाँच्न पाउने, संरक्षण, विकास र सहभागिताको अधिकार सुनिश्चित गर्न माग गरेको छ ।

    अभियानले राष्ट्रिय बाल अधिकार परिषद्लाई स्रोतसाधन सम्पन्न बनाउन, राष्ट्रिय बालअधिकार आयोग वा उच्चस्तरीय संयन्त्र निर्माण गर्न तथा तीनै तहका सरकारका नीति, कार्यक्रम र बजेटमा बालबालिकालाई प्राथमिकता दिनुपर्ने माग गरेको छ । त्यस्तै, बाल बजेट संकेत कार्यान्वयन कार्यविधि, २०८२ लागू गर्दै बालबालिकाका लागि पर्याप्त बजेट विनियोजन अनिवार्य गर्नुपर्ने उल्लेख गरेको छ ।

    सिजपले बालविवाह अन्त्यका लागि विवाहको उमेर २० वर्ष कायम राख्दै बालविवाह अन्त्यसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना, २०८२ प्रभावकारी रूपमा लागू गर्न माग गरेको छ । बालश्रम अन्त्य, बालबालिकाको बेचबिखन नियन्त्रण तथा सडक बालबालिकामुक्त नेपाल अभियानलाई निरन्तरता दिन पनि आग्रह गरेको छ ।

    त्यस्तै, बालबालिकामाथि हुने यौनजन्य हिंसा, बलात्कार, शोषण, दुर्व्यवहार तथा शारीरिक र मानसिक दण्ड अन्त्य गर्नुपर्ने माग गरिएको छ । डिजिटल माध्यमबाट हुने हिंसा र दुर्व्यवहार नियन्त्रण गर्दै अनलाइन वातावरणलाई बालमैत्री र सुरक्षित बनाउन पनि अभियानले जोड दिएको छ ।

    शिक्षा तथा स्वास्थ्यतर्फ विद्यालयमा बालमनोविज्ञ र नर्सको व्यवस्था, बालसंरक्षण मापदण्ड निर्माण, दिवा खाजा कार्यक्रम कक्षा १० सम्म विस्तार तथा विद्यालयमा मर्यादित महिनावारीका लागि आवश्यक व्यवस्थापन गर्न माग गरिएको छ । बाल विकास केन्द्रको सुदृढीकरण र त्यहाँ कार्यरत कर्मचारीको पारिश्रमिक वृद्धि गर्न पनि सिजपले आग्रह गरेको छ ।

    यसैगरी, अपाङ्गता भएका, अटिजम भएका तथा सीमान्तकृत बालबालिकाका विशेष अधिकार सुनिश्चित गर्न, अपाङ्गता भएका बालबालिकालाई आवश्यक सहयोगीको व्यवस्था गर्न तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यक बालबालिकाको अधिकार संरक्षण गर्न माग गरिएको छ ।

    भूमिहीन सुकुम्बासी स्थानान्तरणका क्रममा प्रभावित बालबालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न तथा यस विषयमा सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि अभियानले सरकारको ध्यानाकर्षण गराएको छ ।

    सिजपले बालबालिकालाई राजनीतिक गतिविधि, द्वन्द्व र हिंसाबाट टाढा राख्न, विद्यालयलाई शान्ति क्षेत्रका रूपमा स्थापित गर्न तथा विद्यालय र बालबालिकालाई राजनीतिक प्रयोजनमा प्रयोग नगर्न आग्रह गरेको छ । त्यस्तै, विपद् जोखिम न्यूनीकरण, बालमैत्री तथा अपाङ्गतामैत्री संरचना निर्माण र विपद्बाट प्रभावित बालबालिकाको शिक्षा, स्वास्थ्य तथा स्याहारको व्यवस्था गर्न माग गरेको छ।

    वैदेशिक रोजगारीमा रहेका परिवारका बालबालिका, शरणार्थी बालबालिका तथा वैकल्पिक स्याहारमा रहेका बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्ने मागसमेत विज्ञप्तिमा समेटिएको छ । बाल हेल्पलाइन, बालबालिका खोजतलास सेवा र बाल न्याय प्रणालीलाई प्राथमिकताका साथ व्यवस्थित गर्न पनि अभियानले आग्रह गरेको छ ।

    बालबालिकाको जन्मदर्ता तथा नागरिकताका कारण पहिचानविहीन हुनुपर्ने अवस्था अन्त्य गर्न, बालक्लबका पूर्वसदस्यलाई बालअधिकार संरक्षणका काममा संलग्न गराउन र राष्ट्रिय बाल सहभागिता दिवस मनाउने विषयमा संस्थागत निर्णय गर्न पनि सिजपले माग गरेको छ ।

    अभियानका अध्यक्ष तिलोत्तम पौडेल र महासचिव राजु घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा बालबालिकाको सर्वोत्तम हितलाई व्याख्या गरी आवश्यक मापदण्ड निर्धारण गर्न तथा बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ५७ मा व्यवस्था गरिएको बालसंरक्षण मापदण्ड सरकारी तथा निजी क्षेत्रमा तत्काल लागू गर्न आग्रह गरिएको छ ।

    सिजपले बालबालिकाको अधिकार सुनिश्चित गर्न सरकार, नागरिक समाज, निजी क्षेत्र, विकास साझेदार तथा सञ्चारमाध्यमबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको जनाएको छ ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij