काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पछिल्लो एक सातामा भएका कामकारबाही तथा प्रगति सार्वजनिक गरेको छ । राष्ट्रिय नीति निर्माण, शान्ति सुरक्षा, मानवअधिकार, प्रशासनिक सुधार, सेवा प्रवाह र लगानी प्रवर्द्धनलगायतका क्षेत्रमा भएका कामबारे कार्यालयले जानकारी गराएको हो ।
कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सहसचिव तथा प्रवक्ता हेमराज अर्यालले पछिल्लो साताको प्रगति सार्वजनिक गरेका हुन् ।
उनका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय विदेशसचिव विक्रम मिस्रीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै आएको भोटेकोशी बाढीपछि भारत सरकारले पहिलो उद्धारकर्ताका रूपमा राहत सामग्री उपलब्ध गराउनुका साथै उद्धार टोली खटाएर गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए ।
यसैगरी, प्रधानमन्त्री शाहले कात्तिक १९ गते सुरक्षा निकायका प्रमुखहरूसँग मुलुकको पछिल्लो शान्ति सुरक्षाको अवस्थाबारे छलफल गरेका थिए । उनले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका थिए ।
नागरिकको जीउधनको सुरक्षामा कुनै कमजोरी हुन नदिन, अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन र शान्ति सुरक्षाको व्यवस्था चुस्त बनाउन पनि प्रधानमन्त्रीले सम्बन्धित निकायका प्रमुखहरूलाई निर्देशन दिएका थिए ।
राष्ट्रिय नीति तथा दस्तावेज निर्माणलाई स्तरीकरण र गुणस्तरीय बनाउने उद्देश्यले नेपाल सरकारका राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीलाई नीति तर्जुमा, नीति विश्लेषण तथा नीति परीक्षणसम्बन्धी तीनदिने तालिम प्रदान गरिएको छ । त्यस्तै, सूचनाको हकसम्बन्धी ऐन, २०६४ र नियमावली, २०६५ अनुसार कार्यालयका विभिन्न शाखा, महाशाखा तथा सचिवालयबाट भएका कामको त्रैमासिक विवरण स्वतःप्रकाशन गरिएको छ ।
मानवअधिकारका समसामयिक विषयमा सरकारी, गैरसरकारी तथा सम्बन्धित सरोकारवाला संस्थाहरूले गरेका असल अभ्यास र कार्यको अनुगमन कात्तिक १७ गते सोलुखुम्बु र ओखलढुङ्गामा सम्पन्न भएको छ । मानवअधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनबारे अभिमुखीकरण कार्यक्रम कात्तिक १८ गते कोशी प्रदेशको विराटनगरमा सम्पन्न भएको छ ।
नवप्रवर्तन क्षेत्रमा संलग्न उद्यमीको लगानी एकीकृत र सरलीकरण गर्ने उद्देश्यले स्टार्टअप नेपाल पोर्टल सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, २०८३ को मस्यौदा तयार गरिएको छ । मस्यौदाका विषयमा विभिन्न सरोकारवालासँग छलफल गरी सुझावसमेत लिइएको छ ।
त्यस्तै, व्यक्तिगत डाटा संरक्षण नीति, २०८३ को मस्यौदामाथि राय तथा सुझाव लिन मुख्यसचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा नीति प्रयोगशाला निर्देशक समितिको बैठक बसेको छ ।
उपभोक्ता ठगी, मिसावट र कृत्रिम अभावजस्ता अनुचित व्यापारिक गतिविधि नियन्त्रण गरी अत्यावश्यक वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायले सघन बजार अनुगमन गर्ने निर्णय गरिएको छ । उपभोक्ताको हकहित संरक्षणका लागि बजार अनुगमनलाई प्रभावकारी बनाइने भएको छ ।
तिहार तथा छठलगायतका चाडपर्वका समयमा हुनसक्ने झैझगडा तथा विवादको निगरानी गरी शान्ति सुरक्षा कायम गर्ने व्यवस्था गृह मन्त्रालयले मिलाउने निर्णय गरिएको छ । त्यस्तै, सार्वजनिक निकायले मालसामान, निर्माण तथा सेवा खरिद गर्दा स्वदेशी उत्पादनको प्रयोग र प्रवर्द्धनसम्बन्धी निर्देशिका, २०८३ का प्रावधान प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय भएको छ ।
सरकारी सेवा प्रवाहलाई सरल र सहज बनाउने उद्देश्यले मन्त्रिपरिषद्बाट हालै स्वीकृत सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३ सबै मन्त्रालय तथा निकायमा कार्यान्वयन गरिने भएको छ । यसबाट सेवाग्राहीमाथिको अनावश्यक आर्थिक भार र प्रशासनिक झन्झट कम गर्नुका साथै सेवा प्राप्त गर्न लाग्ने समय घटाउने लक्ष्य राखिएको छ ।
नागरिकले सहज रूपमा सेवा पाउने सुनिश्चितताका लागि नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयहरूमा एकल विन्दु सेवा प्रणालीको व्यवस्था गरी नागरिकमैत्री सेवा प्रवाह गर्ने निर्णयसमेत गरिएको छ ।
यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्राप्त अनियमितता तथा भ्रष्टाचारसम्बन्धी अनलाइन र अफलाइन उजुरीमध्ये २१ वटा गुनासो छानबिन तथा आवश्यक कारबाहीका लागि सम्बन्धित मन्त्रालय र निकायमा पठाइएको छ । ती गुनासोमा आवश्यकताअनुसार फलोअपसमेत भइरहेको प्रवक्ता अर्यालले जानकारी दिएका छन् ।
लगानी बोर्डको कार्यालयअन्तर्गत नौ सय मेगावाट क्षमताको अरुण–३ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७७ प्रतिशतभन्दा बढी पुगेको छ । आयोजनाको विद्युत् प्रसारण लाइन निर्माणतर्फको प्रगति पनि ६० प्रतिशतभन्दा बढी रहेको छ ।
आयोजना निर्माणमा लामो समयदेखि देखिएका अवरोध हटाउन भन्सार प्रक्रिया सहज बनाउने र सरकारी निकायबीचको समन्वय प्रभावकारी बनाउने काम गरिएको छ । विदेशी लगानीको सुरक्षाका लागि प्रत्यक्ष सम्झौताको स्वीकृति अन्तिम चरणमा पुगेको छ । आयोजनाको व्यावसायिक सञ्चालन आगामी फेब्रुअरीदेखि गर्ने लक्ष्य राखिएको छ ।
नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाका लागि एक खर्ब ६३ अर्ब रुपैयाँको वित्तीय व्यवस्थापनसम्बन्धी कागजात प्राप्त भएको छ । आगामी चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित आयोजनाको काम अघि बढाइएको छ ।
पछिल्लो साता ५८.९ मेगावाट क्षमताको नार खोला जलविद्युत् आयोजनाका लागि १० अर्ब ७५ करोड रुपैयाँ र ४६.७२ मेगावाट क्षमताको सानीभेरी–३ आयोजनाका लागि १० अर्ब ४२ करोड रुपैयाँ लगानी स्वीकृत गरिएको छ ।
चार सय ३९ मेगावाट क्षमताको बेतन कर्णाली जलविद्युत् आयोजनाका लागि ९३ अर्ब ४१ करोड रुपैयाँ लगानी स्वीकृत गरी परियोजना विकास सम्झौता (पिडिए) वार्ता समिति गठन गरिएको छ ।
सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ को दफा ४६ बमोजिम लगानी बोर्डको कार्यालयमा एकल विन्दु सेवा केन्द्र स्थापना गरिएको छ । लगानीकर्ताका समस्या तथा गुनासो सम्बोधन गर्न लगानीकर्ता सहजीकरण तथा गुनासो सुनुवाइ डेस्कसमेत स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।


