काठमाडौं । कथा अड्डाको सञ्चालन तथा कार्यविधिबारे छलफल गर्दै दशैं, तिहार, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
असोज २४ गते शनिबार काठमाडौंको रानीबारीमा कथा अड्डा परिवारले आयोजना गरेको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि तथा अग्रज व्यक्तित्वसहित ४० जनाभन्दा बढीको सहभागिता रहेको थियो। कार्यक्रममा नेप्सेम्याक, वास (WASH), बालिका दुलही होइनन् नेपाल, ज्येष्ठ नागरिक महासंघल, योहोटिभी लगायतका अन्य संस्थाका प्रतिनिधिहरू सहभागी थिए।
कार्यक्रममा कथा अड्डाको उद्देश्य, सञ्चालन प्रक्रिया, सदस्यता, आर्थिक पारदर्शिता र आचारसंहिताबारे छलफल भएको थियो। मानिसहरूबीच आत्मीयता बढाउने, अनुभव तथा अनुभूति साटासाट गर्ने र विभिन्न पुस्ताबीच जीवनका भोगाइ आदानप्रदान गर्ने साझा थलोका रूपमा कथा अड्डालाई विकास गर्ने विषयमा छलफल गरिएको थियो।
त्यसैगरी, सहभागीको व्यक्तिगत अनुभव र संवेदनशील विषयको गोपनीयता कायम राख्ने, आर्थिक सहयोगको पारदर्शी अभिलेख राख्ने तथा संस्थालाई कानुनी रूपमा दर्ता गरी संस्थागत ढंगले सञ्चालन गर्ने विषयमा पनि छलफल भएको थियो।
कार्यक्रमको अर्को महत्त्वपूर्ण पक्षका रूपमा नमस्तेलाल ‘भूमि’ श्रेष्ठद्वारा स्वर्गीय नानीमैयाँ श्रेष्ठको कविता सङ्ग्रह ‘नानीमैयाँ श्रेष्ठका कविताहरू’ विमोचन गरिएको थियो। श्रेष्ठले आफ्नै पुस्तक ‘आफ्नै माटो आफ्नै बाटो’ को प्रसङ्गसमेत सुनाउँदै नानीमैया श्रेष्ठको प्रशंसा गरेका थिए। उनले कार्यक्रममा सहभागी सबैलाई पुस्तक उपहारस्वरूप प्रदान गरेका थिए।


