काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी र विश्व वन्यजन्तु कोष (WWF) अमेरिका तथा नेपालका प्रतिनिधिबीच भएको भेटमा बाढीपछिको पुनर्निर्माण, जैविक विविधता संरक्षण, जलवायु उत्थानशीलता तथा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका विषयमा छलफल भएको छ।
मन्त्रालयमा भएको भेटमा बाढीबाट कृषि भूमि तथा वन क्षेत्रमा भएको क्षति र पुनर्निर्माणका चुनौतीबारे छलफल भएको थियो। पुनर्निर्माणलाई दिगो, प्रकृतिमा आधारित तथा जलवायु उत्थानशील बनाउँदै दीर्घकालीन विपद् उत्थानशीलता विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ।
छलफलमा बाघको सङ्ख्या बढेसँगै बढ्दो मानव-बाघ द्वन्द्व, मानव-हात्ती द्वन्द्व तथा पछिल्लो समय करिब ५५ जिल्लामा देखिएको बाँदरको समस्या समाधानका लागि वैज्ञानिक व्यवस्थापन र आधुनिक प्रविधिको प्रयोगबारे पनि छलफल भएको थियो। बाँदर व्यवस्थापनका लागि बन्ध्याकरण प्रविधि, हात्ती व्यवस्थापनका लागि विशेष परियोजना तथा मानवभक्षी बाघ व्यवस्थापनका लागि विशेष संरक्षण क्षेत्र स्थापना गर्ने सम्भावनाबारे विचारविमर्श भएको छ।
विश्व वन्यजन्तु कोष, अमेरिकाका प्रमुख कार्यकारी अधिकृत लोरा नेतृत्वको प्रतिनिधिमण्डलले विपद्को कठिन समयमा नेपाली जनता र सरकारसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ। नेपालका प्राथमिकताअनुसार अन्तर्राष्ट्रिय प्रविधि, ज्ञान तथा स्रोत परिचालनमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
विश्व वन्यजन्तु कोष, नेपालले पुनर्निर्माण, संरक्षण, पर्यटन, प्रकृतिमा आधारित समाधान तथा समुदायको उत्थानशीलताका क्षेत्रमा थप लगानी आवश्यक रहेको जनाएको छ। विश्व बैंक, युरोपेली सङ्घलगायत विकास साझेदारसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको छ।
हात्ती तथा मानव-हात्ती द्वन्द्व व्यवस्थापनका लागि विश्व वातावरणीय सुविधा (GEF-9) लगायत अन्तर्राष्ट्रिय वातावरणीय तथा जलवायु वित्त परिचालन गर्न सकिने सम्भावनाबारे पनि छलफल भएको छ। प्रकृति संरक्षण, समुदायको उत्थानशीलता र दिगो आर्थिक विकासलाई एकीकृत गर्दै आगामी सहकार्यलाई थप परिणाममुखी बनाउनेमा दुवै पक्षबीच सहमति भएको छ।


