Logo

शनिबार, मंसिर १२ २०८३

शनिबार, मंसिर १२ २०८३

बाढी प्रभावित परिवारलाई १४ लाख बराबरको राहत सामग्री वितरण

बाढी प्रभावित परिवारलाई १४ लाख बराबरको राहत सामग्री वितरण

सोमबार, असोज १२ २०८३
सोमबार, असोज १२ २०८३
  • नवलपुर। नारायणी नदीमा आएको बाढीबाट प्रभावित गैंडाकोट नगरपालिका–२ का १४० परिवारलाई करिब १४ लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरिएको छ।

    images

    WhatsApp Image 2026-09-28 at 4.40.38 PM.jpeg

    असोज ९, १० र ११ गते आएको बाढीका कारण प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारेर महेन्द्र स्मारक आधारभूत विद्यालयमा अस्थायी आश्रयस्थल सञ्चालन गरिएको थियो। सोही आश्रयस्थलमा बस्दै आएका परिवारलाई पहिलो चरणअन्तर्गत राहत सामग्री उपलब्ध गराइएको हो।

    WhatsApp Image 2026-09-28 at 4.40.39 PM.jpeg

    गैंडाकोट नगरपालिकाको अनुरोधमा जागृति बाल तथा युवा सरोकार नेपाल (JCYCN) को समन्वय तथा सेभ द चिल्ड्रेनको सहयोगमा राहत सामग्री वितरण गरिएको हो। नगरपालिका र वडा कार्यालयसँगको समन्वयमा प्रभावित परिवार पहिचान गरी आवश्यक सामग्री उपलब्ध गराइएको संस्थाले जनाएको छ।

    जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दीपक शर्माका अनुसार बाढीका कारण विस्थापित भएका परिवारको तत्कालीन आवश्यकता पूरा गर्ने उद्देश्यले राहत सामग्री वितरण गरिएको हो। अस्थायी आश्रयस्थलमा रहेका परिवारलाई आवश्यक पर्ने सामग्री समेटेर प्रत्येक परिवारका लागि छुट्टाछुट्टै राहत प्याकेज तयार गरिएको थियो।

    राहत प्याकेजमा शेल्टर किट, ब्ल्याङ्केट, पी–फोम, साबुन, टुथब्रस, टुथपेस्ट, स्यानिटरी प्याड र झुललगायतका सामग्री समावेश छन्। बाढीका कारण घर छाडेर अस्थायी आश्रयस्थलमा बस्न बाध्य परिवारलाई दैनिक आवश्यकताका सामग्री उपलब्ध गराइएको शर्माले बताए।

    उनका अनुसार स्थानीय सरकार र जागृति बाल तथा युवा सरोकार नेपालको अनुरोधपछि सेभ द चिल्ड्रेनको सहयोगमा राहत सामग्री व्यवस्थापन गरिएको हो। पहिलो चरणमा तत्काल आवश्यक सामग्री वितरण गरिएको र विपद्को अवस्थाअनुसार थप सहयोग आवश्यक पर्न सक्ने जनाइएको छ।

    जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले विपद्का समयमा राहतसँगै प्रभावित परिवारको पुनःस्थापना र जीविकोपार्जनका विषयमा पनि ध्यान दिनुपर्ने बताए।

    संस्थाले भूकम्प, कोभिड–१९, भोटेकोशी बाढीलगायत विभिन्न विपद्का समयमा विकास साझेदार संस्था तथा निजी क्षेत्रसँगको सहकार्यमा राहत, पुनःस्थापना र जीविकोपार्जनका क्षेत्रमा काम गर्दै आएको पौडेलले बताए।

    विपद्को समयमा राहत आवश्यक पर्ने भए पनि बालबालिका, किशोरकिशोरी, गर्भवती तथा सुत्केरी महिला र ज्येष्ठ नागरिकमाथि हिंसा, दुर्व्यवहार, बेचबिखन तथा भेदभावको जोखिम बढ्न सक्ने भएकाले त्यसतर्फ पनि ध्यान दिनुपर्ने उनले बताए।

    पौडेलले प्रभावित परिवारलाई भौतिक सहयोगसँगै मनोविमर्श र सचेतनामूलक कार्यक्रमको आवश्यकता समेत रहने बताए। राहत तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्दा विपद्बाट प्रभावित सबै समूहको सुरक्षा र मनोसामाजिक आवश्यकतालाई समेत समेट्नुपर्ने उनको भनाइ छ।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij