Logo

शनिबार, मंसिर १२ २०८३

शनिबार, मंसिर १२ २०८३

विपद्मा बालअधिकार संरक्षणलाई प्राथमिकता दिन सरोकारवालाको आग्रह

विपद्मा बालअधिकार संरक्षणलाई प्राथमिकता दिन सरोकारवालाको आग्रह

बुधबार, असोज ७ २०८३
बुधबार, असोज ७ २०८३
  • काठमाडौं । विपद्का समयमा बालबालिका हिंसा, दुर्व्यवहार, बेचबिखन, बालविवाह र बालश्रमको जोखिममा पर्न सक्ने भएकाले बालमैत्री स्थानीय शासनलाई थप प्रभावकारी बनाउनुपर्ने सरोकारवालाले बताएका छन्।

    images

    जागृति बाल तथा युवा सरोकार नेपाल, बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च र वर्ल्ड भिजन इन्टरनेसनल नेपालले आयोजना गरेको ‘बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारको संरक्षण र सञ्चारमाध्यमको भूमिका’ विषयक छलफलमा सहभागीले विपद्पछि राहत र उद्धारसँगै बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा तथा मनोसामाजिक अवस्थालाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्।

    WhatsApp Image 2026-09-23 at 9.57.10 AM.jpeg

    बालअधिकारकर्मी तारक धितालले विपद्का कारण बालबालिकाको जीवन र अधिकारमा परेको असरको खोजी गर्नुपर्ने बताए। उनले उद्धारपछि बालबालिकाको पहिचान तथा अभिलेखीकरण, परिवारसँग पुनर्मिलन, पुनर्स्थापना र भविष्यमा आउन सक्ने जोखिमबाट संरक्षणका विषयमा समेत ध्यान दिनुपर्ने बताए।

    जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले हालसम्म ३३ वटा स्थानीय तह बालमैत्री घोषणा भइसकेको जानकारी दिँदै यसको दिगोपनाका लागि तीनै तहका सरकारले लगानी बढाउनुपर्ने बताए। बालबालिकाको विषय कुनै एक मन्त्रालय वा निकायको मात्र नभई सबै सरोकारवालाको साझा विषय भएकाले अभियानका रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो।

    पौडेलका अनुसार विपद्पछि रसुवा र नुवाकोटमा स्थानीय तहसँगको सहकार्यमा मनोसामाजिक परामर्श, स्वास्थ्य, राहत तथा पुनर्स्थापनाका काम भइरहेको छ। विभिन्न साझेदार संस्थासँगको सहकार्यमा हालसम्म ५०० भन्दा बढी परिवारसम्म पुगेको उनले जानकारी दिए।

    उनले विपद्का कारण अभिभावक गुमाएका वा बेपत्ता भएका, परिवारबाट छुट्टिएका तथा घर र खेतीयोग्य जमिन गुमाएका बालबालिकाको अवस्थालाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने बताए। प्रभावित क्षेत्रमा विद्यालय सञ्चालन, बालबालिका, अभिभावक तथा जनप्रतिनिधिलाई मनोसामाजिक परामर्श र अनलाइन सुरक्षामा समेत ध्यान दिनुपर्ने उनको भनाइ थियो।

    बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चका संयोजक अशोक खनालले तीनै तहका सरकारले नीति, कार्यक्रम तथा बजेट बनाउँदा बालबालिकाको उच्चतम हितलाई प्राथमिकतामा राख्नुपर्ने बताए। उनले आधारभूत सेवा तथा भौतिक पूर्वाधारलाई बालमैत्री र अपाङ्गतामैत्री बनाउनुपर्नेमा जोड दिए।

    मञ्चका अनुसार हालसम्म ३३ स्थानीय तह र १५० वडा बालमैत्री घोषणा भएका छन्। सहभागीले बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति, २०६८ लाई समयानुकूल परिमार्जन गरी पोषणमैत्री, लैङ्गिकमैत्री, बालविवाहमुक्त, बालश्रममुक्त तथा बाल संवेदनशील सामाजिक सुरक्षाका विषयलाई समेत अभियानका रूपमा अघि बढाउनुपर्ने बताएका थिए।

    WhatsApp Image 2026-09-23 at 9.57.08 AM.jpeg

    छलफलमा बाढी गएको तीन सातासम्म पनि प्रभावित बालबालिकाले सहज रूपमा विद्यालय जाने वातावरण नपाएको विषय उठाइएको थियो। कतिपय बालबालिका आफन्तसँग उपत्यका आएका कारण उनीहरूको खोजी तथा आवश्यक सहयोगमा समेत सरकारको ध्यान जानुपर्ने सहभागीको भनाइ थियो।

    WhatsApp Image 2026-09-23 at 9.57.07 AM (1).jpeg

    करिब ४० जना सञ्चारकर्मी सहभागी छलफलमा विपद्को पूर्वतयारी, बाल संरक्षण, मनोसामाजिक सहयोग र विपद्पछि बालबालिकाको पुनर्स्थापनामा सञ्चारमाध्यमको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो। सहभागीका अनुसार पछिल्लो विपद्बाट १७ हजारभन्दा बढी बालबालिका प्रभावित भएका छन्।

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij