सिरहा । सिरहाको औरही गाउँपालिकाले आयोजना गरेको पाठ्यक्रमका लागि सुझाव संकलन कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल सहभागी भएका बेला विवाद उत्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी मन्त्री पोखरेलले सम्बोधन गरिरहेका बेला जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश महतोले कार्यक्रम सञ्चालन तथा सहभागीलाई बोल्ने अवसर नदिइएको भन्दै गुनासो गरेपछि विवाद सुरु भएको हो ।
कार्यक्रममा मन्त्री पोखरेलसँगै प्रतिनिधिसभा सदस्य शिव यादव पुरुषोत्तम यादव जिल्ला समन्वय समिति सिरहाका सभापति महतो गाउँपालिकाका जनप्रतिनिधि शिक्षक लगायतको सहभागिता थियो ।
गाउँपालिका अध्यक्ष शिवजी यादवपछि ढिलो गरी कार्यक्रमस्थल पुगेका मन्त्री पोखरेललाई सम्बोधनका लागि सिधै माइक दिइएको भन्दै सभापति महतोले आपत्ति जनाएका थिए । महतोका अनुसार आफू मात्रै नभई कार्यक्रममा सहभागी शिक्षक तथा अन्य जनप्रतिनिधिले समेत कार्यक्रम सञ्चालनको शैली र बोल्ने अवसर नपाएको विषयमा असन्तुष्टि जनाएका थिए ।
महतोले मन्त्रीसँगै आएका केही व्यक्तिले आफूहरूलाई ‘यो नेताहरूले बोल्ने कार्यक्रम होइन’ भन्दै अपमानजनक व्यवहार गरेको आरोप लगाए ।
‘यो गुनासो मेरो मात्रै थिएन त्यहाँ सहभागी शिक्षक र अन्य जनप्रतिनिधि साथीहरूको पनि थियो,’ महतोले भने तर मन्त्रीज्यूसँग आउनुभएका केही साथीहरूले अपमानजनक ढंगले चुप लगाउन खोज्नुभयो । हामी जिल्लाका जनप्रतिनिधिको आवाज नसुन्ने हो भने यो कस्तो सुझाव संकलन हो ?
विवादकै क्रममा सहभागीहरू बसेको स्थानबाट भिडियो खिचिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का औरही गाउँपालिका सभापति सन्तोष यादवको मोबाइल फोन खोस्न लगाइएको विषयले समेत विवाद थप चर्किएको थियो ।
महतोका अनुसार मन्त्री पोखरेलसँगै आएका एक व्यक्तिले नेपाली सेनालाई आग्रह गर्दै यादवको मोबाइल खोस्न लगाएका थिए । त्यसपछि कार्यक्रमस्थलमा होहल्ला भएको उनको दाबी छ ।
विवाद बढ्दै गएपछि मन्त्री पोखरेलले आफ्नो मन्तव्य छोट्याएका थिए । त्यसपछि सुरक्षाकर्मीको सहयोगमा उनी कार्यक्रमस्थलबाट बाहिरिएका थिए ।
यता रास्वपा सांसद शिव यादवले भने कार्यक्रममा भएको विवादको मुख्य कारण जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश महतो नै रहेको आरोप लगाएका छन् ।
घटनाबारे दुवै पक्षले फरक फरक दाबी गरेपछि पाठ्यक्रम निर्माणका लागि सुझाव संकलन गर्न आयोजित कार्यक्रम विवादमा परिणत भएको हो ।


