नुवाकोट । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।
सोमबार नुवाकोट पुगेका राष्ट्रपति पौडेलले विदुरस्थित श्री नं. १ सैन्य तालिम केन्द्रमा जिल्लाको सुरक्षा अवस्था तथा बाढीपछिको उद्धार र राहतबारे जानकारी लिएका हुन् ।
सो क्रममा उनले बाढी प्रभावित र पीडितहरूसँग भेटघाट गरी उनीहरूको गुनासो समेत सुनेका छन् ।
राष्ट्रपति पौडेललाई बाढी प्रभावित क्षेत्रमा सञ्चालन भइरहेको खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टरको व्यवस्थापन तथा पुनरुत्थानका लागि भइरहेका प्रयासबारे सुरक्षा निकायका प्रमुख तथा सरोकारवालाले जानकारी गराएका थिए ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार राष्ट्रपति पौडेलले जिल्लाको स्थलगत अवलोकनसहित बाढीपछिको अवस्थाबारे जानकारी लिएर रसुवातर्फ प्रस्थान गरेका छन् ।
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा जनधन तथा भौतिक संरचनामा क्षति पुगेपछि राष्ट्रपति पौडेलले प्रभावित क्षेत्रको स्थलगत अवस्थाबारे जानकारी लिन भ्रमण गरेका हुन् ।


