काठमाडौं । काठमाडौंको शिक्षण अस्पताल परिसरमा केही दिन देखि मानिसहरू उपचारका लागि मात्र आइरहेका छैनन्। कोही आफ्नो मान्छेको खबर खोज्दै छन्, कोही अस्पतालको भित्तामा टाँसिएका सूचनामध्ये परिचित नाम खोजिरहेका छन्। कसैको हातमा आफन्तको तस्बिर छ, कसैको आँखामा अझै एउटा खबर आउँछ कि भन्ने आशा छ ।
रसुवामा आएको बाढीपछि हराइरहेका मानिसका आफन्तका लागि टिचिङ अस्पतालको परिसर खोजीको एउटा थलो बनेको छ। यहाँ हराएका व्यक्तिका तस्बिर र विवरण टाँसिएका छन्। भेटिएका शवको पहिचान गर्न आफन्तहरू अस्पतालसम्म आइपुगिरहेका छन्। तर बाढीले ल्याएका शवमध्ये केहीको अवस्था यति क्षतविक्षत छन् कि तिनलाई सामान्य रूपमा हेरेर चिन्नसमेत कठिन हुन्छ।
अस्पतालबाट प्राप्त जानकारीअनुसार हिजो अर्थात् भदौ १७ गते सम्म ११४ शव ल्याइएको छ। तीमध्ये १३ जनाको पहिचान खुलेको छ भने १२ शव आफन्तलाई अन्तिम संस्कारका लागि बुझाइएको छ।
तर बाँकी परिवारका लागि पर्खाइ अझै सकिएको छैन।
एक आफन्त दिनहुँ अस्पताल धाइरहेका छन्। सात दिन बितिसक्दा पनि आफ्नो मान्छेको कुनै खबर छैन। अस्पताल, ट्रमा सेन्टरदेखि अन्य सम्भावित स्थानसम्म खोजिसके पनि कुनै खबर पत्ता लागेको छैन। खोजीका लागि आफन्तहरू विभिन्न ठाउँ पुगेका छन् तर कतै बाट भने खबर भेटाउन सकिएको छैन ।
अर्का एक युवकले आफ्नै आँखाअगाडि दाजुको गाडी बाढीले बगाएको दृश्य सुनाउँछन्। बाढी आएको देखेपछि दाजुभाइले गाडी फर्काउने प्रयास गरेका थिए। उनी गाडीबाट निस्केर बच्न सफल भए, तर दाजुको गाडी बाढीमा पर्यो। त्यसपछि दाजुको कुनै खबर छैन। आफूले देखेको दृश्य सम्झँदै उनी अहिले पनि दाजुको खोजीमा हिँडिरहेका छन्।
कतिपय परिवारका लागि हराएको व्यक्ति केवल एउटा नाम होइन, घरको जिम्मेवारी र भविष्यसँग जोडिएको मान्छे पनि हो।
एक परिवारका ३१ वर्षीय छोरा अन्य आठ जनासँग मानसरोवर यात्राका लागि गएका थिए । केरुङ क्षेत्रमा अन्तिमपटक परिवारसँग सम्पर्क भएको थियो। त्यसपछि फोन लागेन। परिवारले प्रहरीमा खबर गरे, अस्पतालहरूमा खोजे र उपलब्ध सूचनाहरू पछ्याइरहे तर सात दिन बित्दा पनि कुनै ठोस खबर आएन।
टिचिङ अस्पतालमा देखिने अर्को दृश्य भनेको आफन्तका तस्बिरहरू हुन्। हराएका मानिसको खोजीमा आफन्तले सूचना टाँसिरहेका छन्। भेटिएका शवका तस्बिर र विवरण हेरेर आफ्नो मान्छे हो कि होइन भनेर छुट्याउने प्रयास भइरहेको छ।
यसबीच अस्पताल परिसरमा पीडितका लागि सहायता कक्ष पनि सञ्चालनमा छ। प्रहरी र सामुदायिक सेवासँग जोडिएका समूहले पानी, मास्क, ग्लोब्स तथा सामान्य खाजाको व्यवस्था गरिरहेका छन्। टाढाबाट आएका र आफन्तको खोजीमा अस्पताल धाइरहेका मानिसलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रयास भइरहेको छ।
तर सहायता कक्ष, टाँसिएका पोस्टर र अस्पतालका गल्लीहरूबीच सबैभन्दा ठूलो कुरा अझै एउटा खबरको प्रतीक्षा हो।
कसैलाई आफ्नो मान्छे भेटिएको खबर चाहिएको छ। कसैलाई अन्तिम पटक हेर्न पाइन्छ कि भन्ने आशा छ। र कसैका लागि, अझै केही नभनिएको सायद हराएको मान्छे कतै जीवित भेटिएला कि भन्ने सम्भावनाको आशा बाँकी छ।
त्यसैले टिचिङ अस्पतालको भित्तामा टाँसिएका ती तस्बिरहरू केवल सूचना होइनन्। ती परिवारले आफ्नो मान्छेलाई खोज्न राखेका चिनारी हुन् र बाढीले छुट्याएका सम्बन्धलाई फेरि जोडिने एउटा सानो आशा हुन् ।


