काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो ३६ घण्टामा १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ सहयोग जम्मा भएको छ।
अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न १० वाणिज्य बैंकमा रहेका कोषका खातामा उक्त रकम जम्मा भएको हो।
भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले प्रभावित क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि उद्धार तथा राहतका लागि कोषमा व्यक्ति तथा विभिन्न संस्थाबाट सहयोग रकम जम्मा हुन थालेको हो।
सरकारले कोषमा रकम जम्मा गर्ने तथा सहयोग परिचालनको समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालय तोकेको छ। व्यक्तिगततर्फको नगद सहयोग भने दाताले मन्त्रालयमै पुगेर उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको छ।
पछिल्लो रकमसहित कोषमा रहेको बचत ४ अर्ब ९ करोड ११ लाख ६० हजार रुपैयाँ पुगेको छ। यसअघि कोषमा २ अर्ब १७ करोड २५ लाख ९ हजार ७५९ रुपैयाँ बचत थियो।
यसअघि बिहीबार ६ घण्टाको अवधिमै निजी क्षेत्रका दाताबाट अर्थ मन्त्रालयमार्फत २७ करोड ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो। उक्त रकममा विभिन्न मित्रराष्ट्रले घोषणा गरेको सहयोग समावेश छैन।


