काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंका चार खाद्य व्यवसायमा अनुगमन गर्दा खाद्य स्वच्छता तथा गुणस्तरसँग सम्बन्धित विभिन्न कमजोरी फेला पारेको छ। विभागले उजुरीका आधारमा २०८३ साउन २७/२८ गते गरेको अनुगमनमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम आवश्यक निर्देशन तथा कारबाही गरेको जनाएको छ।
पेप्सीकोलास्थित डेरी पसलहरूमा व्यवसायी कृष्णचन्द्र अधिकारीले पसल दर्ता नगरी सञ्चालन गरेको र लेबल नभएको घ्यू बिक्रीका लागि राखेको पाइएपछि विभागले तत्काल व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्न निर्देशन दिँदै लेबल नभएको एक केजीको एक डब्बा र आधा केजीका तीन डब्बा घ्यू सुरक्षित रोक्का राख्न निर्देशन दिएको छ।
सोही क्षेत्रको आमा डेरी एण्ड बेकरी क्याफे पनि दर्ता नगरी सञ्चालनमा रहेको तथा दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका, २०७५ का विभिन्न प्रावधान पूरा नगरेको पाइएको छ।
त्यहाँ प्लास्टिकका भाँडामा दुग्ध पदार्थ उत्पादन, ढुवानी तथा भण्डारण गरिएको, लेबल नभएको आधा केजी घ्यू र उपभोग्य मिति समाप्त भएका २० बोतल हल्का पेय पदार्थ फेला परेको विभागले जनाएको छ।
उक्त व्यवसायलाई दर्ता गरेर संचालन गर्न र स्टेनलेस स्टीलको भाँडा प्रयोग गर्न निर्देशन दिएको छ । लेबल नभएको र उपभोग्य मिति समाप्त भएको दुग्ध पदार्थ नष्ट गर्न निर्देशन दिएको छ। काठमाडौं महानगरपालिकाले १० हजार रुपैयाँ जरिवाना गर्दै ७ दिन भित्र निर्देशिका बमोजिम कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।
शिव डेरी एण्ड बेकरीले पनि निर्देशिकाका विभिन्न प्रावधान पूरा नगरी व्यवसाय सञ्चालन गरेको, दुग्ध पदार्थका लागि प्लास्टिकका भाँडा प्रयोग गरेको र खरिद–बिक्री बिल प्रयोग नगरेको पाइएको छ। विभागले स्टेनलेस स्टीलका भाँडा प्रयोग गर्न, खरिद–बिक्री बिल प्रयोगमा ल्याउन र सात दिनभित्र सुधार गरी कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ।
यस्तै, गुडविल क्याटरिङद्वारा सञ्चालित तिलगंगा आँखा अस्पतालको क्यान्टिनमा सलाद निर्मलीकरण नगरेको, तरकारीको खरिद बिल उपलब्ध नगराएको, भान्सामा फोहोरदानी खुला राखेको तथा फ्रिजमा काँचो र पाकेको मासु सँगै खुला रूपमा राखेको पाइएको छ। क्यान्टिनमा कृत्रिम खाद्य रङ प्रयोग गरी पकाइएको करिब पाँच प्लेट पकौडा र खाद्य पदार्थ बारम्बार तार्न प्रयोग गरिएको करिब तीन लिटर तेलसमेत फेला परेको थियो।
विभागले क्यान्टिनलाई खाद्य स्वच्छता अपनाउन, सलाद निर्मलीकरण र ट्रेसाबिलिटी कायम गर्न तथा कृत्रिम खाद्य रङ प्रयोग नगर्न निर्देशन दिएको छ। कृत्रिम रङ प्रयोग गरिएको पकौडा र बारम्बार तार्न प्रयोग गरिएको तेल नष्ट गरिएको विभागले जनाएको छ।

यसैगरी, साउन २८ गते काठमाडौंको राधेराधे बोइज होस्टेलमा फोहोर पानी खुवाएको तथा खानामा कीरा परेको, खानाको गुणस्तर सम्बन्धी गुनासोको बारे गरिएको अनुगमनमा भान्साको सरसफाइ सामान्य रहेको ,व्यक्तिगत सरसफाइ सन्तोषजनक नरहेको, एक्सहस्ट प्रभावकारी नभएको, फ्रिज अव्यवस्थित रूपमा प्रयोग गरिएको, भान्साकोठाअगाडि नै शौचालय रहेको र भान्सामा बत्तीको उज्यालोपन कमजोर रहेको पाइएको छ।

विभागले सरसफाइ, कीट नियन्त्रण, एक्सहस्ट र फ्रिजको व्यवस्थापन सुधार गर्न निर्देशन दिँदै भान्साअगाडिको शौचालय प्रयोग नगर्न भनेको छ भने थप अनुसन्धान काठमाडौं महानगरपालिकाले अघि बढाउने जनाएको छ।


