काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले कैलालीमा लागुऔषधको प्रयोग तथा कारोबार बढ्दै गएको भन्दै नियन्त्रणका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खनालले खुला सीमा र जङ्गल क्षेत्रलाई लागुऔषध कारोबारका लागि प्रयोग भइरहेको बताएका हुन्।
उनका अनुसार लागुऔषधको दुर्व्यसनमा फसेका युवाको संख्या बढ्दै जाँदा यसको असर सामाजिक सुरक्षामा समेत देखिन थालेको छ। दुर्व्यसनका कारण चोरी, डकैती, लुटपाट तथा झैझगडालगायतका घटना बढिरहेको उनले दाबी गरे।
कैलालीका विभिन्न जङ्गल क्षेत्रमा लागुऔषधको प्रयोग व्यापक बनेको गुनासो प्राप्त भएको उल्लेख गर्दै खनालले यसले युवाबीचको विवाद र झैझगडा समेत बढाएको बताए।
उनले लागुऔषधको ओसारपसार तथा प्रयोग रोक्न सुरक्षा संयन्त्रको सक्रियता बढाउनुपर्नेमा जोड दिए। सभामुखमार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराउँदै उनले कैलालीमा बढ्दो लागुऔषध समस्यालाई नियन्त्रण गर्न तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेका छन्।


