काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट बनेको नयाँ नेतृत्व र पुरानो संस्थापनबीचको विवाद फेरि सतहमा आएको छ। शेर बहादुर देउवा र डा. शेखर कोइराला पक्षले शुक्रबार काठमाडौँमा आयोजना गरेको राष्ट्रिय भेलामा गगन थापा नेतृत्वको कार्यसमितिलाई स्वीकार नगरेको स्पष्ट संकेत देखिएको हो।
भेलामा सहभागी नेताहरूलाई १४औँ महाधिवेशनबाट निर्वाचित पदकै आधारमा सम्बोधन तथा आसन ग्रहण गराइएको थियो। विशेष महाधिवेशनबाट भएको नेतृत्व परिवर्तनलाई कार्यक्रममा उल्लेखसमेत गरिएन।
यसबाट देउवा–शेखर पक्षले कांग्रेसको पुरानो संरचनालाई नै आधिकारिक मान्दै आफ्नो राजनीतिक गतिविधि अघि बढाउन खोजेको देखिएको छ। राष्ट्रिय भेलालाई उनीहरूले शक्ति प्रदर्शनका रूपमा समेत अघि सारेका छन्।
कांग्रेसको नेतृत्व विवाद भने अहिले सर्वोच्च अदालतमा समेत विचाराधीन छ। विशेष महाधिवेशनको वैधानिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरावलोकनको अनुमति दिएपछि गगन थापा नेतृत्वको समितिको वैधानिकताबारे प्रश्न पुनः न्यायिक प्रक्रियामा प्रवेश गरेको हो।
यसअघि निर्वाचन आयोग र सर्वोच्च अदालतबाट विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले मान्यता पाएको थियो। तर, पुनरावलोकनको अनुमति पाएपछि देउवा–शेखर पक्षले त्यसलाई आधार बनाउँदै पुरानै नेतृत्व संरचनाअनुसार गतिविधि अघि बढाएको हो।
विशेष महाधिवेशनपछि कांग्रेसमा देखिएको नेतृत्व र वैधानिकताको विवाद अब पार्टीभित्रको राजनीतिक प्रतिस्पर्धासँगै अदालतको प्रक्रियासँग पनि जोडिएको छ। दुवै पक्षले आ–आफ्नो संरचनालाई आधार बनाएर गतिविधि अघि बढाउँदा कांग्रेसको आन्तरिक विवाद थप पेचिलो बनेको छ।


