काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव चुलिएपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले तत्काल आपूर्ति व्यवस्था सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबारको राष्ट्रिय सभा बैठकमा ग्यास नपाउँदा सर्वसाधारणले समस्या भोग्नुपरेको विषय सांसदहरूले उठाएपछि अध्यक्ष दाहालले सरकारका नाममा रुलिङ गरेका हुन् ।
सांसदहरूले शून्य समय र विशेष समयमा ग्यासको अभावबारे सरकारको ध्यानाकर्षण गराउँदै उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको विषय उठाएका थिए । बजारमा ग्यास अभावबारे जनस्तरबाट समेत गुनासो आइरहेको भन्दै अध्यक्ष दाहालले आपूर्ति तथा बिक्री वितरणलाई सहज बनाउन आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएका हुन् ।
अध्यक्ष दाहालले बजारमा ग्यास अभावका कारण जनताले भोग्नुपरेको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँदै सहज आपूर्ति र बिक्री–वितरण सुनिश्चित गर्न आवश्यक कदम चाल्नुपर्ने बताए ।
पछिल्लो समय बजारमा ग्यासको अभाव देखिएपछि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो बढेको छ । सांसदहरूले भने बजारमा कृत्रिम अभाव सिर्जना गरिएको हुनसक्ने भन्दै सरकारको बजार अनुगमन र आपूर्ति व्यवस्थापनप्रति प्रश्न उठाउँदै आएका छन् ।
राष्ट्रिय सभा अध्यक्षको रुलिङसँगै ग्यास आपूर्ति व्यवस्थापन र बजारमा देखिएको अभावको अवस्थाप्रति सरकारको ध्यान गएको छ ।


