भक्तपुर । भक्तपुरका सडक र टोलमा फोहोर उठाउने गाडी पुग्नु अहिले सामान्य दृश्य हो। तर केही वर्षअघिसम्म फोहोर व्यवस्थापनको जिम्मेवारी नागरिकको भन्दा निश्चित वर्ग वा सरसफाइकर्मीको मात्रै हो भन्ने बुझाइ बलियो थियो। घरबाट निस्किएको फोहोर सडकमा छाड्ने, सबै प्रकारका फोहोर एउटै पोकोमा राख्ने र उठाएर लैजानु अरूकै काम ठान्ने प्रवृत्ति सामान्य थियो।
पछिल्ला वर्षमा भने यो व्यवहारमा केही परिवर्तन देखिन थालेको छ। भक्तपुरमा फोहोर व्यवस्थापनसँगै नागरिक सचेतनामा काम गर्दै आएको नेप्सेम्याकले करिब तीन वर्षको अनुभवमा घरबाटै फोहोर छुट्याउने अभ्यास विस्तार हुँदै गएको जनाएको छ।
पहिले सडक, चोक र टोलमा छरिएको फोहोर उठाउनै चुनौती हुने गरेकोमा अहिले कतिपय नागरिकले फोहोर पोको पारेर संकलन केन्द्र वा गाडी पुग्ने ठाउँसम्म ल्याइदिने गरेका छन्। परिवर्तन सानो देखिए पनि फोहोर व्यवस्थापनमा काम गर्नेहरूका लागि यसले काम केही सहज बनाएको छ।
तर फोहोर व्यवस्थापनको समस्या फोहोर उठाएर लैजानुमा मात्रै सीमित छैन। घरबाटै निस्कने फोहोर छुट्याउन नसक्दा त्यसको व्यवस्थापन थप जटिल बन्छ। कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउन सकिन्छ भने प्लास्टिक, कागज, धातु लगायतका सामग्री पुनःप्रयोग वा पुनःप्रशोधन गर्न सकिन्छ। त्यसैले नेप्सेम्याकले किचनदेखि नै फोहोर छुट्याउने अभ्यासलाई प्राथमिकता दिएको बताएको छ।
हाल करिब ५०–६० हजार घरका भान्साबाट फोहोर छुट्याउने अभ्यास भइरहेको संस्थाको दाबी छ। तर यो अभ्यास अझै सबै घरमा पुगिसकेको छैन। नागरिकलाई फोहोर नफाल्नुपर्छ भन्ने जानकारी भए पनि व्यवहारमा त्यसलाई निरन्तरता दिन नसक्नु मुख्य चुनौतीका रूपमा देखिएको छ।
यही कारण सरसफाइलाई केवल नियम र जरिवानाको विषयभन्दा व्यवहार परिवर्तनसँग जोड्नुपर्ने आवश्यकता देखिएको छ। फोहोरसम्बन्धी गुनासो आएपछि नेप्सेम्याकले सम्बन्धित घर वा समुदायमै पुगेर प्रत्यक्ष छलफल गर्ने अभ्याससमेत गर्दै आएको बताउँछन्। कानुन देखाएर दबाब दिनुभन्दा समस्या बुझेर समाधान खोज्ने प्रयासले नागरिकसँगको समन्वय सहज हुने संस्थाको अनुभव छ।
फोहोर व्यवस्थापनको अर्को ठूलो समस्या भनेको संकलनपछि त्यसको व्यवस्थापन गर्ने पूर्वाधार हो। अहिले विभिन्न पालिकाबाट निस्किएको फोहोर सीमित स्थानमा केन्द्रित हुँदा बेलाबेलामा समस्या देखिने गरेको छ। हरेक पालिकामा संकलनपछि फोहोर छुट्याउने, प्रशोधन गर्ने र पुनःप्रयोगयोग्य सामग्री व्यवस्थापन गर्ने केन्द्र आवश्यक रहेको संस्थाको भनाइ छ।
यसका लागि जग्गा, पूर्वाधार र प्रभावकारी नीति कार्यान्वयन मुख्य चुनौती छन्। फोहोर फाल्नेलाई दण्ड र राम्रो व्यवस्थापन गर्ने व्यक्ति वा समुदायलाई प्रोत्साहन गर्ने व्यवस्था कानुनमा भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको गुनासो पनि छ।
नेप्सेम्याकले भने अबको लक्ष्य फोहोर व्यवस्थापनलाई ‘जिरो वेस्ट’ अवधारणातर्फ लैजाने रहेको जनाएको छ। यसको अर्थ फोहोर उठाएर ल्यान्डफिलमा थुपार्ने प्रणालीबाट अघि बढेर सकेसम्म फोहोर उत्पादन नै घटाउने, स्रोतबाटै छुट्याउने, पुनःप्रयोग गर्ने र कुहिने फोहोरलाई मलमा रूपान्तरण गर्ने अभ्यास विस्तार गर्नु हो।
यसका लागि नागरिक, स्थानीय सरकार र सरसफाइ क्षेत्रमा काम गर्ने संस्थाबीच सहकार्य आवश्यक छ। फोहोर व्यवस्थापन कुनै निश्चित समयको परियोजना नभई दैनिक जीवनसँग जोडिएको निरन्तर प्रक्रिया भएकाले एकपटकको सरसफाइ अभियानले मात्र यसको समाधान नहुने सरसफाइ क्षेत्रमा काम गर्नेहरूको अनुभव छ।
फोहोर व्यवस्थापनको बहस प्रायः सडकमा थुप्रिएको फोहोर, दुर्गन्ध र ल्यान्डफिल साइटको समस्यामा सीमित हुन्छ। तर त्यसको सुरुवात भने घरको भान्साबाट हुन्छ। घरबाटै छुट्याइएको एउटा पोको फोहोरले संकलनदेखि प्रशोधनसम्मको धेरै काम सजिलो बनाउन सक्छ।
त्यसैले फोहोर व्यवस्थापनको वास्तविक परिवर्तन सडक सफा देखिनुमा मात्र होइन, फोहोरलाई आफ्नो जिम्मेवारी ठान्ने नागरिकको बानी विकास हुनुमा पनि निर्भर छ। भक्तपुरमा देखिन थालेको परिवर्तन त्यही दिशातर्फको एउटा प्रयास हो,जहाँ फोहोरलाई समस्या मात्र होइन, सही व्यवस्थापन गर्न सके पुनःप्रयोग गर्न सकिने स्रोतका रूपमा हेर्न थालिएको छ।


