Logo

शनिबार, मंसिर १२ २०८३

शनिबार, मंसिर १२ २०८३

गाउँका कथा

तितेपातीबाट करोडपती बन्दै भुम्लु

तितेपातीबाट करोडपती बन्दै भुम्लु

आइतबार, साउन १० २०८३
आइतबार, साउन १० २०८३
  • काभ्रेपलाञ्चोक। नेपालका पहाडी भेगमा वर्षौँदेखि "सुनको कचौरामा मागेर खाने।" यो उखान प्रचलित रहँदै आएको छ । हाम्रा पाखा-पखेरा र वनजंगलहरू बहुमूल्य जडीबुटी र प्राकृतिक स्रोतले भरिपूर्ण भएता पनि तिनको सही पहिचान र उपयोग हुन नसक्दा ती वर्षौँदेखि त्यसै खेर गइरहेका थिए। काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा भने अहिले यही पुरानो परिदृश्य फेरिन थालेको छ।

    images

    भुम्लुको करिब ६० प्रतिशत भूभाग घना वनजंगलले ढाकेको छ। हिजोसम्म स्थानीयका लागि तितेपाती, धसिंगरे, रोजमेरी वा लेमनग्रास केवल वस्तुभाउलाई घाँस-दाउरा गर्ने वा पाखामा उम्रिने ‘झारपात’ मात्र थिए। आज तिनै झारपात र वनजन्य पैदावारलाई आर्थिक अवसरमा बदल्ने उद्देश्यले जब गाउँपालिकाले ‘जडीबुटी प्रशोधन केन्द्र’ को अवधारणालाई अघि सार्यो, त्यसले स्थानीय विकास र उद्यमशीलताको नयाँ पाटो विकास गरेको छ ।

    WhatsApp Image 2026-07-26 at 12.23.59 PM.jpeg

    नेपाली समाजमा तितेपाती वा धसिंगरेको औषधीय र घरेलु प्रयोग नयाँ होइन। हाम्रा पुर्खाले परापूर्वकालदेखि नै यी वनस्पतिलाई घरेलु उपचार र जडीबुटीका रूपमा प्रयोग गर्दै आएका थिए। भुम्लु गाउँपालिकाले यही पुस्तौँदेखि चलिएको ‘इथ्नो-बोटनी’ अर्थात् परम्परागत वनस्पति ज्ञानलाई आधुनिक प्रविधिसँग जोड्ने प्रयास गरेको छ। 

    96bd3c87-5525-482d-878c-37255d7fb616.jpg

    प्रशोधन केन्द्रमा परम्परागत रूपमा प्रयोग गरिने मदिरा बनाउने डिस्टिलेसन प्रविधिसँग मिल्दोजुल्दो वैज्ञानिक विधि अपनाइएको छ। हरियो तितेपाती र रोजमेरीलाई संकलन गरी 'च्याप कटर' मा मसिनो पारेर काटिन्छ र डिस्टिलेसन ड्रममा राखिन्छ।

     स्थानीय जंगलकै दाउरा प्रयोग गरी बाफको माध्यमबाट ५ देखि ६ घण्टासम्म पकाएपछि पानी र तेल अलग्गिन्छ। यसरी निकालिएको बहुमूल्य ‘एसेन्सियल आयल’ औषधीय, सौन्दर्य र सुगन्धित सामग्री उत्पादनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्यमा बिक्ने गर्छ।

    WhatsApp Image 2026-07-26 at 12.21.39 PM.jpeg

    कुनै पनि स्थानीय आयोजना सफल हुन किसान वा स्थानीय समुदायको प्रत्यक्ष सहभागिता र विश्वास आवश्यक हुन्छ। विगतमा आफूले संरक्षण गरेको वनका पैदावार यत्तिकै सुकेर जाँदा किसानहरूमा त्यसको खासै चासो थिएन। अहिले वनका तिनै कच्चा पदार्थलाई प्रशोधन केन्द्रले खरिद गरिदिँदा र त्यसबाट निर्मित उत्पादन बजारमा जाँदा किसानहरूमा एउटा अलग्गै खुशी र ‘यो त हाम्रै गाउँको प्रोडक्ट हो!’ भन्ने अपनत्वको भाव जागेको छ।  

    सुरुवाती दिनहरूमा एसेन्सियल आयल भनेको के हो, यसको बजार कहाँ छ र यसबाट कसरी आम्दानी हुन्छ भन्नेबारे स्थानीयस्तरमा पर्याप्त जनचेतना थिएन। किसानहरूलाई उचित मूल्य र जनचेतना दिलाउन केही समय लागे पनि, अहिले यसले बिस्तारै गाउँमा नयाँ लहर ल्याउँदैछ।

    96bd3c87-5525-482d-878c-37255d7fb616.jpg
    उत्पादित जडीबुटी

    भुम्लु गाउँपालिकाको यो प्रयास केवल एउटा सानो प्रशोधन केन्द्र चलाउनेमा मात्र सीमित छैन। पालिकाले यसलाई बृहत् रूप दिँदै वनजंगलमा पाइने सम्पूर्ण जडीबुटीहरूको अनुसन्धान गर्ने र एउटा ‘जडीबुटी संग्रहालय’ समेत निर्माण गर्ने सोच बनाएको छ।

    यसका साथै, सरकारी क्षेत्र एक्लैले उद्यम चलाउन गाह्रो हुने वास्तविकतालाई ध्यानमा राख्दै गाउँपालिकाले यसलाई सार्वजनिक र निजी साझेदारी (PPP Model) मार्फत अघि बढाउने योजना बुनेको छ।

    आगामी दिनमा सिंहदरबार वैद्यखाना, जडीबुटी प्रशोधन कम्पनी र डिभिजन वन कार्यालयसँग समन्वय गरी यो प्रशोधनलाई अझ बृहत् रूपमा लैजाने, सुक्खा फलफूल र नट्सहरूलाई समेत मूल्य अभिवृद्धि गरी भुम्लुकै ब्रान्डमा बजारमा ल्याउने तयारी गरिएको छ।

    f2439baa-d7cb-48d2-90d5-d6891b3665fd.jpg
    उत्पादित जडीबुटी

    भुम्लु गाउँपालिकाले सुरु गरेको यो अभियानले स्थानीय स्रोत साधनको सही उपयोग, वातावरण संरक्षण, बेरोजगार युवाहरूलाई रोजगारी र किसानलाई अतिरिक्त आम्दानीको बाटो देखाएको छ।

    जंगलमा आफैँ उम्रिने तितेपाती र रोजमेरीलाई मेसिनमा हालेर तेल निकालिने यो कथा केवल एउटा प्राविधिक प्रक्रिया मात्र नभइ यो स्थानीय स्रोतलाई स्थानीय समृद्धिमा रूपान्तरण गर्ने एउटा उदाहरणीय प्रयास बनेको छ ।

    यदि यो शृङ्खला सफल र दिगो भयो भने, यसले नेपालका अन्य हिमाली तथा पहाडी पालिकाहरूका लागि पनि आफ्ना प्राकृतिक स्रोतको कसरी उपयोग गर्ने भन्ने एउटा उत्कृष्ट मार्गचित्र तयार पार्नेछ।

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij