Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

गाउँ त बन्यो तर...

गाउँ त बन्यो तर...

सोमबार, साउन ४ २०८३
सोमबार, साउन ४ २०८३
  • काभ्रेपलाञ्चोक । ६२ वर्षका तारा बहादुर पहरीको जीवनकथा, काभ्रेको भुम्लु वरपरको परिवेश र बदलिँदो समयको एउटा जिउँदो दस्तावेज हो। उनको अनुभव सुन्दा लाग्छ, नेपाली समाजले कति छोटो समयमै अभावबाट आधुनिकतातर्फ ठूलो फड्को मारेको छ।

    images

    उतिबेला गाउँमा न बाटो थियो, न त बत्ती नै। नुन र मट्टीतेल लिन पनि दोलालघाट वा बनेपासम्म पैदल धाउनुपर्थ्यो। अझ बाजे-बराजुका पालामा त नुनकै लागि भीमफेदी वा भोटसम्म पुगेर हप्ता दिनको कष्टकर यात्रा गर्नुपर्ने बाध्यता रहेको उनी बताउँछन्। उकालो बाटोमा गाडी गुडाउने वा घरमा बत्ती बाल्ने कुरा त्यो बेला एकादेशको कथा जस्तै लाग्थ्यो।

    त्यस समयमा हुनेखानेका छोराहरूले मात्र फाट्टफुट्ट पढ्न पाउँथे, छोरीलाई स्कुल पढाउने त अझ कल्पना समेत गरिँदैनथ्यो। तर आज समय फेरिएको छ त्यसैले त छोरा र छोरी दुवैलाई पढाइन्छ। तरपनि यही शिक्षा र विकाससँगै गाउँमा युवाको अनौठो पलायन सुरु भएको उनी दुखेसो पोख्छन् ।

    पढाइ सकाएपछि युवाहरू पहिले काठमाडौँ छिर्छन् अनि केही समयमै विदेश भन्दै बाहिरिन्छन्। यसले गर्दा गाउँका घरहरूमा अहिले वृद्धवृद्धा मात्र बाँकी छन्। पहिले घरैपिच्छे ८-९ वटा भैँसी र गाईगोरु हुन्थे, तर अहिले पाखाभरि घाँस भए पनि बस्तुभाउ पाल्ने मान्छे नै छैनन्। ट्रयाक्टर आएपछि गोरु पाल्न छाडियो र छोराछोरीले 'दुख नगर्नु, खेती बाँझै छाडिदिनु' भन्न थालेपछि खेतबारी पनि उजाड बन्दै गएका छन्।

    पहिले ५-६ मोहरमा दिनभर मेलापात गरिन्थ्यो र घरमै जे छ त्यही खाएर चित्त बुझाइन्थ्यो। तर अहिले भने १ हजार रुपैयाँ ज्याला र मासु-रक्सी नदिई कामदार नै पाइँदैनन् भन्दै उनी विगतका कुरा सम्झिन्छन्। अहिले बिहानै उठेर काममा जानुको साटो बजारमा भेला भएर गफिने र चिया पिउने बानी बढेको छ। अझ बाँकी रहेको अलिअलि खेती पनि बँदेल र बाँदरको उपद्रो जोगाउन धौ-धौ परेको दुख सुनाउँछन् ।

    अभाव, दुःख र आधुनिकता दुवैलाई नजिकबाट भोगेका यी वृद्ध नयाँ पुस्तालाई एउटै सन्देश दिन्छन्, 'हाम्रो पालामा जस्तो दुःख तिमीहरूले भोग्नुपरेको छैन। त्यसैले ज्ञानी बनेर राम्रोसँग पढ। राम्रो लेखापढी गर्यौ भने जिन्दगी सुखद् हुन्छ, बिग्रियौ भने पछि धेरै दुःख पाइन्छ।'

    उनी गाउँमा खरका छाना हटेर ढलानका घरहरू बने, गाडी र बत्ती पुग्यो, तर यसरी विकास भित्रिँदा गाउँको पुरानो मौलिकता, रमाइलो र मानिसहरूको चहलपहल भने बिस्तारै रित्तिँदै गएको गुनासो गर्छन् ।

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij