Logo

शुक्रबार, भदौ ५ २०८३

शुक्रबार, भदौ ५ २०८३

नेपालमै सम्भावनाको खोजी

नेपालमै सम्भावनाको खोजी

आइतबार, साउन ३ २०८३
आइतबार, साउन ३ २०८३
  • नुवाकोट । कुनै समय कुवेतको तातो मरुभूमिमा पसिना बगाउने  अंगज सिंह ठकुरी आज आफ्नै गाउँको चिसो हावामा भविष्यको नयाँ कथा लेखिरहेका छन्। वैदेशिक रोजगारी, निर्माण व्यवसाय र त्यसपछि पर्यटन उद्यममा लागेका उनले यी तीन चरण पार गर्दै अहिले पञ्चकन्या गाउँपालिका–४, घ्याङस्वारास्थित आफ्नै रिसोर्टमार्फत आत्मनिर्भर बन्ने यात्रामा छन्। उनको कथा केवल व्यक्तिगत सफलताको कथा मात्र नभइ आफ्नै गाउँमा सम्भावना खोज्ने आँटको उदाहरण पनि हो।

    images

    करिब तीन वर्ष कुवेतमा काम गरेपछि उनी नेपाल फर्किए। फर्किएलगत्तै निर्माण व्यवसाय सुरु गरे। केही वर्ष काम गरे पनि भुक्तानीमा हुने ढिलाइ र आर्थिक असहजताले त्यो व्यवसाय टिकाउन कठिन भयो। अन्ततः उनले आफ्ना मेसिन र उपकरण बेचेर नयाँ बाटो रोज्ने निर्णय गरे।

    प्रकृतिप्रेमी अंगजलाई घ्याङस्वाराको शान्त वातावरण, हरियाली र पर्यटकीय सम्भावनाले आकर्षित गर्‍यो। सुरुमा उनले जग्गा मात्रै किनेका थिए। पछि नजिकैको सहिद स्मारक पर्यटकीय पार्कमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको देखेपछि रिसोर्ट सञ्चालन गर्ने सोच बनाए। करिब दुई वर्षअघि दुईवटा साना टहराबाट सुरु भएको व्यवसाय अहिले विस्तार हुँदै गएको छ।

    समुद्री सतहबाट करिब १,८०० मिटरको उचाइमा रहेको रिसोर्टमा आउने पाहुनालाई स्थानीय उत्पादनबाट बनेका परिकार खुवाउने प्रयास गरिन्छ। तरकारीदेखि चामलसम्म सकेसम्म स्थानीय किसानबाट खरिद गरिन्छ। उनका अनुसार यसले व्यवसायसँगै गाउँको अर्थतन्त्रलाई पनि टेवा पुर्‍याएको छ।

    उनको विश्वास छ व्यवसाय सुरु गर्न ठूलो लगानीभन्दा ठूलो इच्छाशक्ति आवश्यक हुन्छ। ‘सानोबाट सुरु गर्नुपर्छ, सम्भावना देखिएपछि विस्तार गर्दै जानुपर्छ,’ उनी भन्छन्। आफ्नै अनुभव सुनाउँदै उनी थप्छन्, ‘सुरुमै ठूलो लगानी गर्दा तनाव धेरै हुन्छ, तर सानो सुरुवातले सिक्ने र बढ्ने अवसर दिन्छ।‘

    हाल उनको रिसोर्टले दुई जनालाई प्रत्यक्ष रोजगारी दिएको छ। व्यवसायबाट उनी आत्मसन्तुष्ट छन् तर पनि आर्थिक चुनौती अझै बाँकी छन्। बैंकबाट ऋण लिन सहज प्रक्रिया र युवा उद्यमीलाई राज्यको प्रभावकारी सहयोग आवश्यक रहेको उनको धारणा छ।

    विदेशमा बिताएको समय सम्झिँदै उनी नेपालमा पनि व्यवस्थित नीति र अवसर सिर्जना भए युवाहरू विदेशिनुपर्ने अवस्था कम हुने बताउँछन्। आफ्नै छोरा विदेश जान इच्छुक रहेको अनुभव सुनाउँदै उनी भन्छन्, ‘युवालाई रोक्ने काम परिवारले मात्रै होइन, राज्यले पनि गर्नुपर्छ।’

    आज घ्याङस्वाराको शान्त पहाडमा बसेर अंगज सिंह ठकुरीले अरू युवालाई एउटै सन्देश दिन्छन्, ‘आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने विश्वास राख्नुस्। असफलतासँग नआत्तिनुस्, निरन्तर मेहनत गर्नुस्। सम्भावना नेपालमै छ, खोज्ने आँट चाहिन्छ।’

    सफलताको बाटो विदेशमै होइन, आफ्नै माटोमा पनि निर्माण गर्न सकिन्छ भन्ने कुरा मरुभूमिको तातो घामदेखि आफ्नै गाउँको हरियालीसम्म आइपुग्दा उनले प्रमाणित गरेका छन् ।

     

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij