काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले जेठ १७ गते दिएको एक अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद गङ्गा श्रेष्ठले प्रधानमन्त्रीको उक्त भनाइ राष्ट्रिय हितविपरीत रहेको भन्दै सरकारको आलोचना गरिन्।
संसद्मा विशेष समय लिएर बोल्दै सांसद श्रेष्ठले प्रश्न गरिन्, 'भारतले नेपालले मिचेको भूमि फिर्ता माग्यो भने कुन भूमि दिनुहुन्छ? के सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरामाथिको नेपाली जमिनको दाबी छोडेको हो?'
बैठकमा सांसद श्रेष्ठले सीमा क्षेत्रका जङ्गे पिलरहरू खिइँदै र वरपर सर्दै जाँदा नेपाली नागरिकहरू मारमा परेको उल्लेख गरिन्। 'सीमा सरेकै कारण त्यहाँका नागरिकहरू बेलुका सुत्दा नेपाली र बिहान उठ्दा भारतीय हुनुपर्ने पीडादायी अवस्था छ,' उनले भनिन्, 'यस्तो संवेदनशील अवस्थामा पनि सरकार किन मौन बसेको छ?'
उनले देशको सीमा रक्षाका लागि सेना परिचालन नगरिएकोप्रति असन्तुष्टि जनाउँदै नेपाली भूमि र राष्ट्रियता गुम्न नदिन सरकारको गम्भीर ध्यानाकर्षण गराइन्। साथै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ लक्षित गर्दै उनले चुनावअघि गरिएका वाचा र प्रतिबद्धता सरकारमा पुगेपछि पूरा नगरेको र सरकार केवल 'नाटक' मा रमाइरहेको आरोप पनि लगाइन्।
प्रधानमन्त्रीको उक्त विवादित अभिव्यक्ति नसच्चिएसम्म संसद्मा विरोध कायमै राख्ने चेतावनी पनि एमालेले दिएको छ।


